राष्ट्रिय सभामा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी- समाचार - कान्तिपुर समाचार

राष्ट्रिय सभामा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी

ज्योति कटुवाल

सुर्खेत — कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन् । उनीहरुले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।

बुधबार सम्पन्न निर्वाचनमा अन्यतर्फ उदय बोहोरा (एकीकृत समाजवादी), अपांग/आदिवासीतर्फ नरबहादुर विष्ट (माओवादी केन्द) र महिलातर्फ दुर्गाकुमारी गुरुङ (कांग्रेस) निर्वाचित भएका हुन् । निर्वाचन परिणामअनुसार अन्यतर्फ बोहोराले ३ हजार ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चुडामणि शर्माले १ हजार ४ सय १६ मत ल्याएका छन् ।

अपांग/आदिवासीतर्फ विष्टले ३ हजार ६ र उनका निकटम प्रतिद्वन्द्वी पदमबहादुर माझीले १ हजार ३ सय ९८ मत ल्याएका छन् । महिलातर्फ गुरुङले २ हजार ९ सय ७० मत ल्याउँदा उनकी निकटम प्रतिद्वन्द्वी गंगा महतले १ हजार ४ सय १६ मत ल्याइन् । गुरुङ सहिदपत्नी हुन् । उनका श्रीमान् यज्ञबहादुर गुरुङलाई तत्कालीन माओवादी विद्रोहीले २०५८ सालमा हत्या गरेका थिए ।

प्रकाशित : माघ १२, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा ट्यांकरले स्कुटीलाई ठक्कर दिँदा महिलाको मृत्यु 

माधव अर्याल

पाल्पा — पाल्पाको बर्तुङमा बुधबार ट्यांकरले स्कुटीलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । मृत्यु हुने माथागढी गाउँपालिका–३, सराईकी ५५ वर्षीया कान्तिसरा गाहा रहेको प्रहरीले जनाएको छ । 

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङदेखि प्रभासतर्फ जाँदै गरेको लु ३ च ४६१५ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशामा जाँदै गरेको लु ४६ प १६१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । घटनास्थलमा घाइते भएकी गाहाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

स्कुटीलाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : माघ १२, २०७८ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×