राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाहेकमा राप्रपा मतदानमा सहभागी नहुने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाहेकमा राप्रपा मतदानमा सहभागी नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनको प्रदेश १ बाहेकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने भएको छ । राप्रपाको मंगलबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश १ बाहेकका प्रदेशमा उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुने निर्णय लिएको हो । 

राप्रपाका महामन्त्री भुवन पाठकले प्रदेश १ बाहेकका प्रदेशमा पार्टीबाट उम्मेदवार नभएकाले मतदानमा सहभागी नहुन पार्टीका तर्फबाट मतदानमा सहभागी नहुने जानकारी दिए । 'राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर १ मा पार्टीका उम्मेदवारहरू अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो,' राप्रपाको निर्णय छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि माघ १२ गते बुधबार मतदान हुँदैछ । राष्ट्रिय सभा निर्वाचनका लागि माघ ९ गते राति १२ बजेदेखि मौन अवधि पनि सुरु भइसकेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षमा रहेको नेकपा (एमाले) र अरु साना दलबाट ४३ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित : माघ ११, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशकै पहिलो राजमार्ग जीर्ण

 ३२ वर्षअघि कालोपत्र भएयता एक पटक पनि स्तरोन्नति भएन‚ हरेक वर्ष मर्मतसम्भार गर्न करोडौं खर्च तर अवस्था उस्तै
डीआर पन्त

धनगढी — राजमार्गको मध्यभागमा पर्ने बुडरनजिक ट्राफिक प्रहरी अधिकृत हर्कबहादुर ऐर हरेक यात्रुवाहक सवारीसाधन रोकेर दुर्घटनाबाट जोगिन आग्रह गर्छन् । ठाउँ–ठाउँमा सडकमा टाला हालेको, कालोपत्र उप्किएर खाल्डा भएको र पुरिएका खाल्डा पनि उप्किएकाले जोगिएर गाडी चलाउन उनको आग्रह हुन्छ । राजमार्गका धेरै भागमा सडक भासिएकाले पनि दुर्घटनाको जोखिमप्रति उनी चालकहरूलाई सतर्क गराउँछन् । यो उनको दैनिकी जस्तै हो ।



३२ वर्षअघि कालोपत्र भएको सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्ग (धनगढी–डडेलधुरा राजमार्ग) जीर्ण भइसकेको छ । कालोपत्र भएपछि राजमार्गको अहिलेसम्म स्तरोन्नति गरिएको छैन । धनगढीदेखि डडेलधुरासम्म यो राजमार्ग १ सय ४० किलोमिटर छ । धनगढीदेखि अत्तरियासम्मको १६ किलोमिटरबाहेक १ सय २४ किलोमिटर राजमार्ग टालटुलकै भरमा छ । गोदावरी–सहजपुर र बुडर–भत्काँडा खण्डको अवस्था निकै जीर्ण छ ।

‘यो कालोपत्र देखिने मात्र हो,’ बस चालक नवीन खड्काले भने, ‘यस्तो कालोपत्रभन्दा कच्ची सडकमा गाडी चलाउन सुरक्षित हुन्थ्यो । पटकपटक टालटुल गर्दागर्दै कालोपत्र सडक नाममात्रको छ ।’ यस्तो सडकमा गाडी चलाउन सबैभन्दा बढी जोखिम हुने उनको अनुभव छ । ‘कहाँनिर कतिबेला सडकमा खाल्डो हुन्छ पत्तै हुँदैन,’ उनले भने, ‘टालटुल गर्दागर्दै सडकभन्दा पनि कालो रङको घोडेटो जस्तो भइसकेको छ ।’ २०४६ मा कालोपत्र भएपछि अहिलेसम्म सडकको एक पटक पनि स्तरोन्नति नभएको चालक खड्का सुनाउँछन् । ‘यो सडकमा जति पनि ठूला दुर्घटना भए तीमध्ये अधिकांश सडकको दुर्दशाका कारण भएको हो,’ उनले भने । मानवीय त्रुटिभन्दा पनि प्राविधिक त्रुटिका कारण भएका दुर्घटनाले अहिलेसम्म सयौंको ज्यान गइसकेको छ ।

सडकको मूल भाग भत्किँदा भत्किँदै अधिकांश ठाउँमा पानी बग्ने नालाजस्तो बन्दै गएको छ । दैनिक २ सय वटासम्म यातायातका साधन चल्ने मापदण्डअनुसार बनेको यो सडकमा अहिले दैनिक ५ हजार बढी साधन गुड्ने गर्छन् । त्यसमध्ये पनि पहाडी जिल्लामा सञ्चालित ठूलठूला परियोजनाका लागि चाहिने निर्माण सामग्री बोकेका सवारी र हेभी इक्युपमेन्टसमेत यसै राजमार्गमा चल्ने गरेका छन् । हरेक वर्ष सडक डिभिजन कार्यालयहरूले यो राजमार्गको मर्मतसम्भार भन्दै करोडौं रकम खर्चंदै आएको तथ्यांकमा देखिन्छ, तर सडकको भने दुर्दशा झन् बढ्दै गएको छ ।

कालोपत्र हुँदा बनेका अधिकांश संरचनाहरू भत्किसकेका छन् । सडकको दुवैतिर बनेका पक्की पर्खालहरू पहिरोले भत्केपछि मर्मतसम्भार भन्दै बनेका संरचनाहरू हरेक वर्ष भत्किने गरेका छन् । अझ मोड सुधारका नाममा यस वर्ष साहुखर्क सडक खण्डमा जथाभावी डोजर प्रयोग गरी खनिएपछि सडक कामै नलाग्ने भएको छ । ‘अधिकांशका लागि यो राजमार्ग कमाउने भाँडो भएको छ,’ सडक डिभिजन कार्यालय कुलपातेका एक कर्मचारी भन्छन्, ‘जति अनियमितता यो सडकको मर्मतसम्भार सुधारका नाममा भएको छ, त्यति कहीं पनि नभएको होला ।’ उनका अनुसार सडकको स्तर सुधारका लागि योजना बन्दैनन् तर इन्जिनियर र ठेकेदारले कसरी कमाउने भन्ने आधारमा मर्मतसम्भारका योजना बन्ने गरेका छन् ।

देशकै सबैभन्दा पुरानोमध्येको एक भीमदत्त राजमार्ग अहिलेसम्म किन स्तरोन्नति हुन सकेन ? सडक डिभिजन कार्यालय कुलपातेका डिभिजनल इन्जिनियर दीप बराही भन्छन्, ‘यो नीतिगत र राजनीतिक प्रश्न हो तर डिभिजन कार्यालयको अधिकार क्षेत्रभित्र रहेका सबै प्रयास भइरहेका छन् ।’ डिभिजनले मोड सुधार र चौडा गर्ने, सामान्यतया हुने समस्या तत्काल समाधान गर्ने काम निरन्तर गरिरहेको पनि उनले जानकारी दिए । ‘सेती, महाकाली र भीमदत्त राजमार्ग सुधारका लागि ३५ करोड रुपैयाँ यस वर्ष मात्रै विनियोजन भएको छ । भीमदत्त राजमार्गमा मात्रै कति खर्च हुन्छ, यो यकिन गरेर मात्र भन्न सकिन्छ,’ उनले भने ।

२०३३ मा पहिलो पटक धनगढीदेखि डडेलधुरासम्म मोटर पुगेको थियो । सडक विभागका तत्कालीन कर्मचारी रामचन्द्र अवस्थीका अनुसार २०१७ देखि निर्माण सुरु भएको यो सडक सुदूरपश्चिमकै सबैभन्दा पुरानो सडक हो । यसअघि सुदूरमा कुनै पनि सडक थिएनन् । ‘राजा महेन्द्रले २०१४ मा शिलान्यास गरेको धनगढी–डडेलधुरा राजमार्ग र धरान–धनकुटा सडक बीसको दशकमा एकैसाथ निर्माण सुरु भएका हुन्,’ उनले भने, ‘कैलालीको गौरीफन्टा भन्सार नाकादेखि डडेलधुराको बाँधखोरसम्मको सडक निर्माण परियोजना २०३३ मा सकिएको थियो । त्यसपछि २०४६ मा यो राजमार्ग कालोपत्र तथा स्तरोन्नति गर्ने काम सुरु भएको हो ।’

धरान—धनकुटा सडक तीन पटक स्तरोन्नति हुँदै दुई पटक त कालोपत्र नै भइसकेको छ । तर, भीमदत्त राजमार्ग भने अहिलेसम्म स्तरोन्नतिसमेत हुन सकेको छैन । प्रदेशका ७ पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग भए पनि संघ तथा प्रदेश कुनै पनि सरकारले यो सडकको स्तरोन्नतिमा ध्यान दिएका छैनन् ।

प्रकाशित : माघ ११, २०७८ १३:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×