कोइराला समूहको निष्कर्ष- गठबन्धन कांग्रेसका लागि घातक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोइराला समूहको निष्कर्ष- गठबन्धन कांग्रेसका लागि घातक

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको कोइराला समूहका नेताहरूले पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्ष निकालेको छ ।

नेताहरूले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी शासन थालेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेता शेखर कोइरालाले सोमबार आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गरेका थिए । छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी लगायत सहभागी थिए । छलफलले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नहुने निष्कर्ष निकालेका थिए ।

‘हाम्रो पार्टीको सभापति प्रधानमन्त्री हुनुहुन्छ तर सरकारले गर्ने काम कारबाहीबारे पार्टीमा छलफल भइरहेको छैन । उहाँ केही सीमित मानिसहरुको साथ लिएर पार्टीभित्र सामान्य छलफल पनि नगरी स्थानीय तहको चुनाव र राष्ट्रिय मुद्दाहरूको विषयमा गठबन्धनभित्रै रुमल्लिएको देखिन्छ,’ छलफलपछि एक नेताले भने, ‘हामीले यसबारे उहाँलाई ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ ।’

छलफलमा नेता कोइरालाले राष्ट्रिय निर्वाचनहरू सम्मुखमा भए पनि त्यसबारे पार्टीको केन्द्रीय समितिमा छलफल नै नगरी प्रधानमन्त्रीले निर्णय प्रक्रिया अघि बढाउनु विडम्बनापूर्ण भएको बताएका थिए । उनले पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्ने बताएका थिए ।

‘पार्टीभित्र छलफल नै नगरी सभापतिले एकलौटी ढंगले गठबन्धनका नेताहरू भेटेर धारणा तय गर्ने र पार्टीको आधिकारिक धारणा नै त्यहि हो भन्ने अब हामीलाई स्वीकार्य छैन,’ ती नेताले छलफलको निर्णय सुनाउँदै भने ।

कोइराला समूहले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णयसमेत गरेको छ । ‘वैशाखमा स्थानीय तहको चुनाव हुनुपर्ने हाम्रो निष्कर्ष रह्यो, साथै तीन तहकै चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ,’ ती नेताले भने, ‘त्यसका लागि पार्टीभित्र एकता कायम गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

बैठकमा सभापति देउवाले ४० प्रतिशतभन्दा बढी मतको बेवास्ता गरेको विश्लेषण गरिएको पनि उनले बताए । ‘सभापतिले एकलौटी निर्णय गर्ने अभ्यास राम्रो होइन, पार्टीभित्र महामन्त्रीसँग समेत छलफल नगरी सभापति अघि बढ्न खोज्नुभएको छ, यो राम्रो होइन,’ ती नेताले भने ।

प्रकाशित : माघ १०, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्

घोराही कारागारबाट भागेका कैदी एक महिनापछि पक्राउ

दुर्गालाल केसी

दाङ — घोराही कारागारबाट भागेका कैदी एक महिनापछि सोमबार पक्राउ परेका छन् । उनलाई भारतको पञ्जाब, लुधियानाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गर्भवती प्रेमिकालाई हत्या गरी कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका गढवा गाउँपालिका- ३ करङ्गाका २९ वर्षीय यमराज परियार पुस ८ गते प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए ।

उपचारको बहानामा कारागारबाट निस्केका परियार उनलाई अस्पताल लैजान खटिएका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइल लिई भागेका थिए ।

उक्त घटनापछि जिल्ला प्रहरी कार्यालयका डीएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा अपरेशन याङ्की थालिएको थियो । प्रहरी टोलीले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा र भारतीय प्रहरीको सहयोगमा भारतबाट उनलाई पक्राउ गरेको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

प्रहरी जवान धनबहादुर चौधरी हाल पुर्पक्षका लागि कारागारमा रहेको उनले जानकारी दिए ।

कैदी परियार २०७२ भदौ १६ देखि घोराही कारागारमा थिए । पुस ८ गते प्रहरी जवान चौधरी र परियार अस्पताल नगई होटलमा पुगेका थिए । उनीहरूले सुरुमा घोराहीको प्याराडाइज होटेलमा पुगेर कफी खाएका थिए । त्यसपछि प्रहरीको मोटरसाइकल कैदी परियारले चलाएर सब्जीमन्डी हुँदै बीपी चोकस्थित थकाली भान्सा घर एण्ड लजमा पुर्‍याएका थिए । होटेलमा पुगेपछि परियारले दुई केटीलाई बोलाएका थिए । तीमध्ये एक परियारकी प्रेमिका थिइन् ।

परियारले आफ्नो प्रेमिकालाई प्रहरी जवान चौधरीको साथमा छुट्टै कोठामा पठाएका थिए भने आफू अर्को महिलाको साथमा छुट्टै कोठामा गएका थिए । त्यही मौकामा चौधरी बसेको कोठाको बाहिरबाट चुकुल लगाएर परियार प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । यस घटनामा कारागारका जेलर युवराज परियार, सुरक्षामा खटेका प्रहरी, परियारकी प्रेमिका, होटेलमा सँगै रहेकी अर्की महिला र होटेल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरू सबै धरौटीमा छुटेको एसपी काफ्लेले बताए । कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैदम्याद तोकिएको कैदी भागेमा बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको काफ्लेले बताए ।

कारागारबाट भागेका कैदी पक्राउ परेपछि सुरक्षा निकायलाई निकै हौसला मिलेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । यसबाट कोही पनि भागेर बच्न सक्दैन भन्ने सन्देश मिलेको उनले बताए ।

प्रकाशित : माघ १०, २०७८ १७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×