अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ- समाचार - कान्तिपुर समाचार

अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — स्रोत नखुलेको विदेशी मुद्रासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाट पक्राउ परेका छन् । फ्लाई दुबईको विमानबाट दुबई जान लागेका इस्याक खान इब्राहिम खानलाई विमानस्थलबाट पक्राउ परेका हुन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा एक्स-रे मेसिनद्वारा म्यानुअल जाँच गर्ने क्रममा अवैध १५ हजार अमेरिकी डलर, ६ सय १० साउदी रियाल,९ सय २० यूएई दिरामसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुशन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ १०, २०७८ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्

निगमले आईओसीलाई पठायो १३ अर्ब

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १३ अर्ब बढी भुक्तानी गरेको छ ।

निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले सोमबार आईओसीलाई १३ अर्ब २० करोड पठाएको छ ।

सञ्चित बचत शून्यमा पुगेसँगै आईओसीलाई तिर्नुपर्नेमध्ये एक अर्ब ८० करोड अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आईओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरिता कायम गर्न विसं २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ । सरकारसँग पैसा मागेर जनवरी महिनाको दोस्रो किस्ता बुझाएका निगमका अधिकारी आईओसीलाई अर्को महिनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन् ।

निगमले दोस्रो किस्ताबापत आईओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भएपनि आइतबार आईओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

प्रकाशित : माघ १०, २०७८ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×