कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुसको भ्लादिभोस्तोकमा आगामी भदौमा बाघ सम्मेलन

काठमाडौँ — रुसको भ्लादिभोस्तोकमा आगामी भदौ २० (सेप्टेम्बर ५) मा बाघ सम्मेलन हुने निश्चित भएको छ । बाघ पाइने संसारका १३ देशका कार्यकारी प्रमुखहरूले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आयोजनामा हुने सम्मेलनमा भाग लिनेछन् ।

रुसको भ्लादिभोस्तोकमा आगामी भदौमा बाघ सम्मेलन

बाघ पाइने देशका मन्त्रीहरूको शुक्रबार सकिएको चौथो बैठक (फोर्थ एसिया मिनिस्ट्रियल कन्फ्रेन्स अन टाइटर कन्जर्भेसन) ले पुटिनले आयोजना गर्न लागेको सम्मेलनलाई स्वीकार गर्दै रुस सरकारलाई धन्यवाद दिएको छ । ‘दोस्रो बाघ सम्मेलनमा १३ वटै देशहरूले संरक्षणमा सन् २०१० पछि पाएको सफलताको कथा सुनाउनेछन्,’ तीनदिने बैठकपछि जारी घोषणा पत्रमा भनिएको छ । बाघ पाइने देशका कार्यकारीहरूको पहिलो सम्मेलन सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको थियो । उक्त सम्मेलनमा नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित वनमन्त्री दीपक बोहरालगायत सहभागी भएका थिए ।

सम्मेलनमा सहभागी देशहरूले सन् २०२२ सम्ममा प्राकृतिक बासस्थानमा बाघको संख्या सन् २०१० मा भन्दा दोब्बर बनाउने संकल्प गरेका थिए । त्यतिबेला नेपालमा बाघको संख्या १ सय २१ थियो भने विश्वभर ३ हजार २ सय थियो । सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २ सय ३५ छ । मंसिर १९ देखि देशभर बाघ गणना जारी छ । यो गणनाबाट बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता पूरा हुने अपेक्षा प्राविधिकहरूले गरेका छन् ।

नेपालसहित बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस्, मलेसिया, म्यानमार, रुस, थाइल्यान्ड र भियतनाम बाघ पाइने देश हुन् । लाओस्, कम्बोडिया र म्यानमारबाट भने बाघ लोप भएको बताइएको छ ।

प्रकाशित : माघ ९, २०७८ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?