काठमाडौँ — चालु आर्थिक वर्षको पुस मसान्तसम्म ११ वाणिज्य बैंकको निक्षेप घटेको छ । असार मसान्तसम्मको तुलनामा पुस मसान्तसम्म यी ११ बैंकबाट करिब ४५ अर्ब निक्षेप घटेको हो । राष्ट्रिय वाणिज्य, कृषि विकास, बीओके, सेन्चुरी, ग्लोबल आईएमई, मेगा, नेपाल बंगलादेश, इन्भेस्टमेन्ट, एनआईसी एसिया, प्रभु र स्टान्डर्ड चार्टडको निक्षेप घटेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको मात्रै १९ अर्ब ८९ करोड रुपैयाँ निक्षेप घटेको छ । अरु १६ वटा बैंकले भने यस आर्थिक वर्षको ६ महिनामा निक्षेप बढाउन सफल भएका छन् । ती बैंकले करिब १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । सनराइज बैंकमा सबैभन्दा धेरै २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप थपिएको छ । समग्रमा ६ महिनामा वाणिज्य बैंकहरुमा १ खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ निक्षेप थपिएको छ ।
असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा पुस मसान्तसम्म कुल ४३ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन भएको छ । सोही अवधिमा वाणिज्य बैंकहरुले ४ खर्ब २२ अर्ब १७ करोड रुपैयाँ कर्जा बढाएका छन् । असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा ६ महिनामा बढेर ४१ खर्ब ४२ अर्ब ९२ करोड पुगेको छ ।
तरलतालाई सहज गर्न भन्दै स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपका रुपमा जम्मा गर्न पाउने पाउने व्यवस्था गरिए पनि फेरि तरलताको समस्या बढ्न थालेको छ । निक्षेपभन्दा कर्जा प्रवाह बढी भएपछि वाणिज्य बैंकहरुको औसत कर्जामा निक्षेप अनुपात (सीडी रेसियो) फेरि ९० प्रतिशत नाघेको छ ।
साउनदेखि पुस मसान्तसम्म बैंकहरुको निक्षेप स्थिति (रुपैयाँमा)
बैंक | ६ महिनामा घटबढ | पुस मसान्तसम्मको निक्षेप |
कृषि विकास | (५ अर्ब २८ करोड) | १ खर्ब ५७ अर्ब ६८ करोड |
बीओके | (६५ करोड) | १ खर्ब ३ अर्ब ६९ करोड |
सेन्चुरी | (२ अर्ब २६ करोड) | ९४ अर्ब ७४ करोड |
सिटिजन्स | १ करोड | १ खर्ब ४३ अर्ब १ करोड |
सिभिल | २ अर्ब ३८ करोड | ९२ अर्ब ७२ करोड |
एभरेष्ट | ५ अर्ब ७ करोड | १ खर्ब ६५ अर्ब ९१ करोड |
ग्लोबल आईएमई | (२ अर्ब ५३ करोड) | २ खर्ब ८० अर्ब ८१ करोड |
हिमालयन | १८ अर्ब ४८ करोड | १ खर्ब ६७ अर्ब ८४ करोड |
कुमारी | ९ अर्ब ४३ करोड | १ खर्ब ६६ अर्ब ६१ करोड |
लक्ष्मी | १४ अर्ब ७० करोड | १ खर्ब ३१ अर्ब ५३ करोड |
माछापुच्छ्रे | ५ अर्ब ९० करोड | १ खर्ब ४० अर्ब ६ करोड |
मेगा | (१ अर्ब ४८ करोड) | १ खर्ब ४३ अर्ब ८० करोड |
नबिल | ७ अर्ब २७ करोड | २ खर्ब ३५ अर्ब २८ करोड |
नेपाल बंगलादेश | (७ अर्ब १६ करोड) | ८२ अर्ब २२ करोड |
नेपाल | १९ अर्ब ७९ करोड | १ खर्ब ८३ अर्ब ३४ करोड |
एनसीसी | १५ अर्ब ३२ करोड | १ खर्ब २६ अर्ब ९ करोड |
इन्भेस्टमेन्ट | (१ अर्ब ८ करोड) | १ खर्ब ७४ अर्ब ९७ करोड |
एनआईसी एसिया | (९१ करोड) | २ खर्ब ९९ अर्ब ३४ करोड |
एनएमबी | १६ अर्ब ३२ करोड | १ खर्ब ८२ अर्ब ७७ करोड |
एसबीआई | ६ अर्ब ६५ करोड | १ खर्ब १२ अर्ब ८७ करोड |
प्रभु | (२ अर्ब २८ करोड) | १ खर्ब ६७ अर्ब ४५ करोड |
प्राइम | २ अर्ब ८९ करोड | १ खर्ब ६२ अर्ब ६३ करोड |
राष्ट्रिय वाणिज्य | (१९ अर्ब ८९ करोड) | २ खर्ब ४४ अर्ब २१ करोड |
सानिमा | १४ अर्ब ७६ करोड | १ खर्ब ४५ अर्ब ६४ करोड |
सिद्धार्थ | ७ अर्ब ६३ करोड | १ खर्ब ९२ अर्ब ८३ करोड |
स्टान्डर्ड | (१ अर्ब ५७ करोड) | ९४ अर्ब ६२ करोड |
सनराइज | २१ अर्ब ४४ करोड | १ खर्ब ३१ अर्ब ६८ करोड |
कुल | १ खर्ब २२ अर्ब ९५ करोड | ४३ खर्ब २४ अर्ब ३४ करोड |
स्राेत : नेपाल बैंकर्स एसोसिएसन
प्रकाशित : माघ ७, २०७८ १६:२२