यस्तो छ राष्ट्रिय सभा निर्वाचनको स्वास्थ्य सुरक्षा मापदण्ड- समाचार - कान्तिपुर समाचार

यस्तो छ राष्ट्रिय सभा निर्वाचनको स्वास्थ्य सुरक्षा मापदण्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो ।

मापदण्डअनुसार कोरोना संक्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथिमकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको व्यवस्था गराइएको छ । कोरोना संक्रमितहरूले पन्जा, मास्क र फेस सिल्डको प्रयोग अनिवार्य गरेर मतदान गर्न पाउने आयोगले बताएको छ । संक्रमितहरूले मतदान गर्दा मतदानको कार्य केही समयका लागि स्थगित गरेर उनीहरूलाई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । संक्रमितहरूले प्रयोग गरेका मतदान स्थलमा सामग्रीहरू निःसंक्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

मतदानमा सहभागी हुनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । मतदानस्थल मास्क अनिवार्य गरिएको छ । मतदानस्थलमा तापक्रम मापन गर्ने र दुई जना स्वास्थ्यकर्मीको रहेको हेल्थ डेस्कको व्यवस्था गरिएको छ ।

मतदान स्थलमा सामाजिक दूरी अनिवार्य गरिएको छ । स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । मतदान सामग्रीहरूको अनिवार्य रुपमा निःसंक्रमण गर्नेुपर्ने स्वास्थ्य मापदण्डमा उल्लेख छ ।


प्रकाशित : माघ ६, २०७८ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्

सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङको काम (फोटोफिचर)

राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माणका लागि मेसिन राख्ने प्लेटफर्मको काम द्रुत गतिमा भइरहेको छ । सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराईका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउनु नै आयोजनाको उद्देश्य हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा चार महिना अघिदेखि सुरुङ खन्ने मेसिन (टीबीएम) राख्न प्लेटफर्म निर्माण भइरहेको आयोजनाले जनाएको छ । सुरुङको प्रवेशद्धारमा थोरै प्वाल पारेर दुई सय मिटर लामो प्लेटफर्म निर्माण भएपछि मेसिनबाट खन्ने काम सुरु हुनेछ ।

आयोजना प्रमुख मित्र बरालका अनुसार चीनबाट टीबीएम मेसिन ल्याइनेछ । सुरुङ मार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले यहीं रफ्तारमा काम भए अबका चार महिनामा मेसिन कार्यस्थलमा ल्याइ काम सुरु हुने दावी गरेको छ । अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भैसकेकाले सुरुङ खन्ने काम र सुनकोसीमा बाँध बाँध्ने (हेडवर्क्स) को काम सँससँगै हुनेछ ।

सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिइएको छ । गत आवबाट सुरु भएको आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ । सुनकोसीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिने छ । साथै त्यहाँ पानी झारेर ३१ मेगावाट विद्युत् उत्पादन गरिने छ ।

आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडेक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना रहेका छन् । विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइने छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।














प्रकाशित : माघ ६, २०७८ १४:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×