कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको त्रासले रातभर जाग्राम

पीडित भन्छन्– ‘राहत होइन, आक्रमणबाट सदाका लागि मुक्त गरियोस् ।’
हात्तीको परम्परागत मार्गमा बस्ती विस्तार हुँदै जानु र ओहोरदोहोरमा अवरोध हुँदा बस्तीमा आक्रमण
सन् २०१६ यता मात्रै हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु, ५० भन्दा बढी घरटहरा क्षतविक्षत
भवानी भट्ट

कञ्चनपुर — गत साता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको एक झुन्डले भीमदत्त–१९ बागफाँटाका केही घर भत्काइदियो । त्यसयता बस्तीका सबैजसो अनिदो छन् । रातमा हात्ती आएर फेरि विध्वंश मच्चाउने हो कि भन्ने डरले रातभर जाग्राम बस्ने गरेको स्थानीय तारादेवी भाटले सुनाइन् ।

हात्तीको त्रासले रातभर जाग्राम

माघको कठ्यांग्रिँदो जाडो । बाक्लो हुस्सु र शीतलहर उस्तै छ । यस्तो अवस्थामा पनि बेला–बेला गस्तीकै शैलीमा स्थानीय खेतबारीतर्फ निस्कने गरेका छन् । ‘राति सुत्न पनि डर लाग्न थाल्यो, कुन दिन हात्ती आएर यही झुपडीभित्रै सोत्तर बनाएर जान्छ,’ भाटले भनिन्, ‘खेतीपाती त सधैं यस्तै हो, यस पटक घरभित्रको अन्नसमेत सबै सखाप पार्‍यो ।’

गत साता हात्तीको बथानले घर भत्काइदिएका पीडितमध्येकी एक हुन् तारादेवी । घर मात्रै होइन, उनको एक बिघा जमिनमा लगाएको गहुँ बाली पनि पूर्ण रूपमा नष्ट भएको छ । त्यसपछि भीमदत्त नगरपालिका र विभिन्न संघसंस्थाले तारादेवीलगायत पीडितलाई राहत पनि दिए । तर उनीहरूको माग राहतभन्दा पनि यो समस्या दिगो व्यवस्थापन हुनुपर्छ भन्ने छ । ‘हामीलाई राहतभन्दा पनि वन्यजन्तुको त्रासबाट मुक्त हुने व्यवस्था गरिदिनुपर्‍यो,’ तारादेवीले भनिन् ।

शुक्लाफाँटा निकुञ्जबाट बस्तीमा पसेर हात्तीको बथानले स्थानीयका घर भत्काउनेदेखि खेतीपाती नोक्सान गर्दै आएको छ । कतिपय अवस्थामा मानवीय क्षतिसमेत निम्तिने गरेको छ । हात्तीको आक्रमणबाट कात्तिक पहिलो साता शुक्लाफाँटा–१० मा २ जना र कात्तिक अन्तिम साता लालझाडी गाउँपालिका–६ मा १ जनाको मृत्यु भएको थियो । निकुञ्जसँगै जोडिएको वेदकोट नगरमा पनि हात्तीले दर्जनौं परिवारको धनमाल र खेतीपातीमा नोक्सान गर्दै आएको छ ।

बर्खायाममा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा आउने हात्तीको बथान केही महिना यहीं बस्ने गर्छन् । त्यस क्रममा बेलाबेलामा निकुञ्ज नजिकका बस्तीमा पस्ने र धनमालको क्षति गर्ने गर्छन् । शुक्लाफाँटा निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताका अनुसार यो वर्ष यहाँ हात्तीको बथान साबिकका वर्षको भन्दा लामो समय बसेको छ । दुधुवाबाट लालझाडी संरक्षित क्षेत्र हुँदै शुक्लाफाँटामा पसेर भारतकै पिलिभित टाइगर रिजर्भसम्म पुग्ने हात्तीको परम्परागत मार्ग हो । यो बथान बर्खा र हिउँदमा निरन्तर ओहोरदोहोर गरिराख्छ । यसपटक बर्खामा शुक्लाफाँटा आइपुगेको हात्तीको बथान हिउँदमा समेत यहीं देखिइरहेका छन् ।

‘यसपालि लामो समयसम्म हात्तीको बथान निकुञ्जमै देखिएको छ । त्यही भएर बस्तीमा बढी क्षति भइरहेको हो,’ मेहताले भने, ‘छावा पनि सँगै भएकाले अलि बढी आक्रामक देखिएका छन् ।’ हात्तीको परम्परागत मार्गमा बस्ती विस्तार हुँदै जानु र ओहोरदोहोरमा अवरोध हुँदा बस्तीमा आक्रमण गर्ने गरेको उनले बताए । उनका अनुसार सन् २०१६ यता मात्रै निकुञ्ज र सामुदायिक वन क्षेत्र नजिकका बस्तीमा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ । ५ सय बढी किसानको अन्न बालीमा क्षति पुर्‍याएको छ भने ५० भन्दा बढी घरटहरा हात्तीले भत्काएका छन् ।

शुक्लाफाँटामा रैथाने हात्तीको संख्या निकै कम छ । निकुञ्जको तथ्यांकअनुसार यहाँ हात्तीको संख्या २४ मात्रै छ । पछिल्लो पटक गरिएका विभिन्न अध्ययनले हात्तीको संख्या ४० जति पुगेको हुन सक्ने अनुमान गरिए पनि हाल आधिकारिक गणना भने भएको छैन ।

निकुञ्ज प्रशासनसँगै स्थानीय तहहरूले अन्य वन्यजन्तु र हात्तीलाई बस्तीमा आउन नदिन विद्युतीय तारबार लगाउनुका साथै कतिपय ठाउँमा कंक्रिट पर्खालसमेत बनाएका छन् । विद्युतीय तारबारले केही वर्ष हात्ती बस्तीमा नपसे पनि नियमित मर्मत तथा रेखदेखको अभावले तारबार जीर्ण हुँदा त्यसको प्रभावकारिता पनि कम हुँदै गएको छ । कंक्रिट पर्खाल निकै खर्चिलो भएकाले यो विधि पनि त्यति उपयुक्त नभएको संरक्षणकर्मीहरू बताउँछन् ।

‘वन क्षेत्रको किनारमा हात्तीलाई मन नपर्ने खेतीपाती लगाउनुपर्‍यो, उसको यात्रामा अवरोध हुनुभएन,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मी जोशीले भने, ‘हात्ती बस्तीमा पस्दा उसको बाटो छेकेर धपाउने गरिन्छ । उसलाई भाग्ने बाटोसमेत छाडिँदैन । त्यतिबेला हात्ती निकै आक्रामक हुने गर्छ ।’ मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि निकुञ्ज आसपासका बासिन्दालाई सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्नु आवश्यक रहेकोमा उनको जोड छ ।

प्रकाशित : माघ ५, २०७८ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?