कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना महामारीको नयाँ रेकर्ड, २४ घण्टामा भेटिए १० हजार बढी संक्रमित

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको २५८ नमुना परीक्षणमा २५२ जनामा संक्रमण पुष्टि
संक्रमितको संख्या बढे पनि पहिलो र दोस्रो लहरको तुलनामा अस्पतालमा कम चाप

काठमाडौँ — नेपालमा कोरोना महामारी सुरु भएयता पहिलोपटक दैनिक संक्रमितको संख्या १० हजार २ सय ५८ पुगेको छ । नेपालमा पहिलो लहरमा कात्तिक ५ गते एकैदिनमा ५ हजार ७ सय ४३ संक्रमित फेला परेका थिए भने दोस्रो लहरको उत्कर्षको समय वैशाख २८ गते सबैभन्दा धेरै ९ हजार ४ सय ८३ संक्रमित फेला परेका थिए ।

कोरोना महामारीको नयाँ रेकर्ड, २४ घण्टामा भेटिए १० हजार बढी संक्रमित

नेपालमा विगत २४ घण्टामा गरिएको परीक्षणमा करिब ४५ प्रतिशत नमुनामा कोरोना संक्रमण रहेको पाइएको छ । पुस २३ गतेदेखि उकालो लाग्न थालेको कोरोना संक्रमणले एक हप्ताकै अवधिमा यति धेरै उछाल लिएको हो ।

यसअघिका लहरमा संक्रमण यति धेरै यति चाँडै फैलिएको थिएन । हाल नेपालमा परीक्षणको आधारमा दैनिक संक्रमित हुने दर (पीपीआर) ४४.९४ प्रतिशत रहेको छ भने सात दिनको औसत पीपीआर पनि बढेर ३१.४३ प्रतिशत पुगेको छ । यो दर हरेक दिन ३ देखि ४ प्रतिशतले बढिरहेको छ ।

अहिले नेपालमा पीसीआरबाट गरिने कोरोना परीक्षणको सात दिने औसत बढेर १२ हजारको हाराहारी पुगेको छ भने एन्टिजेन परीक्षणको सात दिने औसत पनि बढेर ४४ सयको हाराहारी पुगेको छ ।

अहिलेको अवस्थालाई तथ्यांकमा विश्लेषण गर्दा दोस्रो लहरको सुरु हुँदा देखि प्रतिहजार परीक्षण केवल ५९ जना संक्रमित भेटिन्थे भने अहिले तेस्रो लहरमा प्रतिहजार परीक्षण गर्दा ३८६ जना संक्रमित फेला परिरहेका छन् । विगत २४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको २५८ नमुना परीक्षणमा २५२ जनामा संक्रमण पुष्टि भएको देखिएको छ ।

यस्तै काठमाडौंमा पनि मंगलबार ४ हजार ४ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा ९७५ संक्रमित र भक्तपुरमा ५७० संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमणको दर अत्यधिक बढे पनि अस्पतालमा भने हालसम्म संक्रमित भएर उपचार गराउन पुग्नेहरुको चाप भने बढेको देखिएको छैन । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबार देशभरमा १५१ जनामात्रै आईसीयूमा भर्ना छन् भने केवल २८ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित : माघ ४, २०७८ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?