तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने सरकारको निर्णय- समाचार - कान्तिपुर समाचार
मन्त्रिपरिषद् बैठक

तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरसको नयाँ भेरिएन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ ।

सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकका निर्णय सार्वजनिक गर्दै उनले सरकारले तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने निर्णय भएको बताए । सरकारले नेपाली जनताका तर्फबाट अफगान नागरिकलाई मानवीय सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिइयो ।

बैठकले मेवा–चाँगे र केराबारी–न्यू मर्स्याङ्दी १३२ केभी प्रसारण आयोजनाको क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने तथा बुढीगङ्गा जलविद्युत् आयोजना, खोर्लेबेँसी (गोरखा) ३३ केभी प्रसारण लाइन तथा सबस्टेशन र पाल्पा २२० केभी सबस्टेशन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने पनि निर्णय गरेको छ ।

सरकारले नेपाल विश्वविद्यलायसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्नुका साथै टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित नक्छु सहरबीच भगिनी सम्बन्ध कायम गर्न पनि स्वीकृति दिने निर्णय गरेको छ ।

स्थानीय तहका विभिन्न परियोजनानका लागि जग्गा प्राप्ति गर्न विभिन्न ११ स्थानीय तहलाई स्वीकृति दिने निर्णय पनि भएको छ । साथै मन्त्रिपरिषदबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो) निर्देशिका २०७८, चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज, बर्डफ्लु नियन्त्रण नियमावली २०७८, राष्ट्रिय पशु स्वास्थ्य नीति र राष्ट्रिय पशु प्रजनन नीति, २०७८ स्वीकृत गरिएको छ ।

सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव शंकरप्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने तथा लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले जानकारी दिए ।

प्रकाशित : माघ २, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्

प्रिमियर स्कुलद्वारा आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलले विद्यालय साझेदारी शीर्षक अन्तर्गत ललितपुर महानगरपालिकाका आधारभुत विद्यालयहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शिक्षा ऐनमा गरिएको व्यवस्था अनुसार वि. सं. २०७७ सालमा विशिष्ट श्रेणी प्राप्त गर्न सफल यो स्कुलले सहयोग प्रदान गरेको हो । 

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त थापाको सभापतित्वमा आयोजना गरिएको एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत नवराज रिजालले विशिष्ट श्रेणी कायम गरिएका विद्यालय र सामुदायिक विद्यालयबीचको सहकार्यले बालकेन्द्रित क्षमता विकास गर्न आवश्यक शिक्षक तालिम, शैक्षिक सामग्री तथा अन्य शैक्षिक क्रियाकलापमा मद्दत पुग्ने बताए । ललितपुर प्याव्सनका अध्यक्ष निरोज महर्जनले निजी स्तर र सामुदायिक स्तरका विद्यालयबीचमा सहकार्य हुनुपर्ने र यस्ता कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्ने बताए ।

नगरप्रमुख चिरीबाबु महर्जनले शैक्षिक राजधानीका रुपमा स्थापित रहेको ललितपुर महानगरपालिका भित्रका विद्यालयले सञ्चालन गर्ने यस्ता किसिमका गतिविधिले महानगरपालिकाको शीर उच्च बनाएको र आगामी दिनमा अरु स्कुलका लागि पनि यो कार्य प्रेरणादायी हुने विश्वास लिएको बताए ।


प्रकाशित : माघ २, २०७८ १७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×