ओमिक्रोन संक्रमण रोकथाम आदेश जारी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
मन्त्रिपरिषद् बैठक 

ओमिक्रोन संक्रमण रोकथाम आदेश जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन एक महिने आदेश जारी गरेको हो ।

शुक्रबारको बैठकले ‘कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ जारी गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आदेशमा यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरु नै समेटिएका छन् ।

आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरूमा एक पटकमा २५ जनाभन्दा बढी मान्छेहरूको भीड नहुने गरी सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नेलगायत विषय समेटिएका छन् ।

मन्त्रिपरिषद् बैठकले पूर्वनिर्धारित विश्वविद्यालय र जनशक्ति भर्नासम्बन्धी परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने, तर नियमित पठनपाठनलाई भने भर्चुअल माध्यमबाट सञ्चालनका लागि प्रोत्साहित गर्ने निर्णय गरेको छ ।

त्यस्तै, खोप अभियानलाई प्रभावकारीरुपमा र प्राथमिकताका साथ सञ्चालन गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित : पुस ३०, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसले भन्यो- नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दल नेपाल कांग्रेसले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारत सरकारले सडक निर्माण गरेकोप्रति आपत्ति जनाएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार संयुक्त विज्ञप्तिमार्फत सात बुँदे धारणा सार्वजनिक गर्दै दुई देश बीचका सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केही दिनअघि एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए । त्यही विषयलाई लिएर कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको दोहोर्‍याएको छ । महामन्त्रीद्वय थापा र शर्माले यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्नेमा समेत कांग्रेस स्पष्ट भएको दाबी गरेका छन् ।

कांग्रेसले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने माग गरेको छ ।


प्रकाशित : पुस ३०, २०७८ २०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×