मन्त्री श्रेष्ठको प्रस्ताव- 'महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनियोस्'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री श्रेष्ठको प्रस्ताव- 'महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनियोस्'

कान्तिपुर संवाददाता

ललितपुर — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने तर्क गरेकी छन् । साझा प्रकाशनको २५औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै उक्त विचार व्यक्त गरेकी हुन् ।


कोशका प्रा. नीलमणि ढुङ्गानाद्वारा तयार पारिएको हो । ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टिकोणबाट मात्र हेरिएको छ,’ शताब्दी पुरुष सत्यमोहन जोशीसमेत उपस्थित समारोहमा मन्त्री श्रेष्ठले भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने त कल्पनै गरिएको पाइएन । पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी भनिएको छ । महिला मन्त्रीको पतिलाई के भन्ने ? सोचिनु पर्दैन ? त्यसैले अबदेखि मन्त्रो भनेर शब्दकोशमा राखियोस् ।’

नेपाली वाङ्मय साधकहरूले पुरुषप्रधान परिकल्पनामात्र गर्न नहुनेसमेत उनले बताइन् । उक्त शब्दकोशबारे चर्चा गर्दै पूर्वसचिव कृष्ण ज्ञवालीले कोशमा सिंगो नेपाली समाज, वैदिक परम्परा, वर्तमान परिवेशलाई समेटको बताए । इतिहासविद् प्रा. दिनेशराज पन्तले संस्कृत वाङ्मय र नेपाली वाङ्मयको भेदलाई शब्दकोशले प्रष्ट पारेको बताए ।

त्यस अवसरमा यसअघि घोषणा गरिएका तथा लामो समयदेखि स्थगित रहेका सम्मान तथा पुरस्कार दस जना स्रष्टालाई प्रदान गरिएको थियो । ५१ हजार रुपैयाँ राशिको ‘साझा पुरस्कार’ बाट ठाकुर बेलबासे र जय छाङ्छाले पाएका छन् ।

त्यसैगरी ‘साझा बालसाहित्य पुरस्कार’ शारदारमण नेपाल र गोपाल पराजुलीलाई दिइएको छ । यस्तै ‘साझा लोकसंस्कृति पुरस्कार’बाट डा. भोला झा, कुसुमाकर न्यौपाने, प्रा.डा. कुलप्रसाद कोइरालाल सम्मानित भएका छन् ।

दुवै पुरस्कारको राशि जनही १५–१५ हजार रुपैयाँ रहेको छ । यसैगरी १० हजार रुपैयाँ राशिको ‘गरिमा सम्मान’ बद्री भिखारी, अभय श्रेष्ठ, उषा शेरचन र प्रा. राजेन्द्र सुवेदी (मरणोपरान्त)लाई प्रदान गरिएको छ । सम्मानितमध्ये कवि अभय श्रेष्ठले ‘साझा प्रकाशन धरासाही भएकाले पुनःजीवन पाउनु पर्छ’ भन्दै पुरस्कार राशि साझाका अध्यक्ष डा. विजय सुब्बालाई फिर्ता गरे ।

प्रकाशित : पुस ३०, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

देवघाटमा माघे संक्रान्ति मेला सुरु

सम्झना रसाइली

तनहुँ — जिल्लाको देवघाटमा रहेको पवित्र तीर्थस्थल देवघाटधामस्थित बेनीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।


गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिसहित सन्त-महन्त, बटुक लगायत स्थानीयको उपस्थितिमा बाँसको लिंगो ठड्याएर मेलाको शुभारम्भ गरिएको हो ।

देवघाटधामको बेनीमा बाँसको लिङ्गो गाडेसँगै तनहुँ, चितवन र नवलपरासीको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । उनले भने, ‘बाँसको लिङ्गो गाड्नुअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो ।’

‘देवघाटमा विधिवत्रुपमा माघे संक्रान्ति मेलाको शुभारम्भ गरिए पनि बाहिरबाट आउने भक्तजनलाई भने प्रवेशमा रोक लगाइएको छ’, उनले भने, ‘कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण कल्पबासमा बस्ने वृद्धवृद्धा र देवघाटका बासिन्दा बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको हो ।’

कोरोना संक्रमण फैलन नदिन देवघाट प्रवेश गर्ने नाकाहरू सील
यस्तै, शुक्रबार दिउँसो २ बजेबाट शनिबार दिउँसो २ बजेसम्म देवघाट क्षेत्र प्रवेश गर्ने सबै नाका सील गरी प्रवेशमा रोक लगाइएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । उनले भने, ‘बिरामी भेटघाट बाहेक तीर्थमा आउनेका लागि पूर्णरुपमा रोक लगाइएको छ ।’

गत वर्षहरूमा संक्रान्तिको अघिल्लो रात धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगित गरिएको अध्यक्ष थापाले बताए ।

माघे संक्रान्ति मेलाको शुभारम्भका लागि पवित्र तीर्थस्थल देवघाटधामको बेनीमा बाँसको लिङ्गो गाडिँदै । फाइल तस्बिर : कान्तिपुर

प्रकाशित : पुस ३०, २०७८ १६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×