गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा मन्त्री खाँण र राजदूत भोल्कबीच अस्ट्रेलिया र नेपालको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

त्यसक्रममा मन्त्री खाँणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गरेका थिए । उनले नेपालमा रहेका शरणार्थी व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

‘नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययनमा सहज व्यवस्था मिलाउन अस्ट्रेलियन सरकारसँग आग्रह छ,’ गृहमन्त्री खाँणले भनेको उदृत गर्दै उनको सचिवालयले भनेको छ, ‘त्यहाँ अध्ययनरत विद्यार्थीले पढाईका अलावा हप्तामा २० घण्टा काम गर्न पाउँछन् । त्यो समय केही बढाउने वातावरण मिलाउन पनि आग्रह छ ।’

जवाफमा नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्ने सहयोग गर्न सदैव तयार रहेको बताएकी थिइन् । उनले नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने बताएकी छन् ।

प्रकाशित : पुस ३०, २०७८ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्

उच्च अदालत जनकपुरका तीन न्यायाधीशसहित १० जनामा कोरोना

अवधेशकुमार झा

राजविराज — राजविराजस्थित उच्च अदालत जनकपुरको राजविराजका दुई तथा सप्तरी जिल्ला अदालतका एक गरी तीन जना न्यायाधीशसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । १४ जनाको परीक्षण गरिएकोमा १० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

जिल्ला अदालत सप्तरीका श्रेस्तेदार कुमार मास्केका अनुसार जिल्ला अदालतका एकजना न्यायाधीश र एक जना कम्प्युटर अपरेटरलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै उच्च अदालत जनकपुरको राजविराज इजलासका दुई जना न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको अदालतले जनाएको छ ।

यसका अतिरिक्त जिल्लाको खडग, तिरहुत र राजगढ गाउँपालिकाका एक-एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै राजविराज नगरपालिकाका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय १० जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएको जिल्लामा पहिलो हो । पछिल्लो १० जना संक्रमितसहित जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २० पुगेको छ ।

प्रकाशित : पुस ३०, २०७८ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×