कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

डल्फिन संरक्षण कार्ययोजना कागजमै सीमित

नदीमा प्रदूषण बढ्नु, जाल हानेर माछा मार्ने क्रम बढ्नुले पनि डल्फिनको संख्या घटिरहेको छ ।
गोविन्द पोखरेल

काठमाडौँ — गत बिहीबार चितवनको नारायणी नदीको भेलैजीमा एउटा डल्फिन देखियो । दुम्किबासदेखि दक्षिणतर्फ सुनसान क्षेत्रमा जलपक्षी गणना गर्ने क्रममा डल्फिन देखिएको थियो । पक्षी गणनामा सहभागी टेक महतोले उक्त डल्फिनको तस्बिर कैद गरे । थारु सामुदायिक लजका प्रबन्धकसमेत रहेका महतोले डल्फिनको तस्बिर कैद गरे । सामाजिक सञ्जालमा राखे । तस्बिर भाइरल भयो ।

डल्फिन संरक्षण कार्ययोजना कागजमै सीमित

‘सिघ्रौली घाटदेखि त्रिवेणीसम्म चरा गणना गर्न हाम्रो ११ जनाको टोली थियो । भेलैजीको सुनसान ठाउँमा डल्फिन देखियो । हत्तपत्त खिचेँ,’ उनले भने । त्यस क्षेत्रमा डल्फिनसँगै, मगर गोही, घडियाललगायतका अन्य जीवहरु पनि देखिएको उनले सुनाए । ‘पानी सफा थियो । सुनसान पनि । त्यहाँ अन्य जीवहरुको अवस्था पनि राम्रो थियो,’ महतोले सुनाए । सन् २०१८ पछि नारायणीमा तस्बिर देखिएको उनले दाबी गरे ।

नारायणी नदी क्षेत्रमा कार्यरत डब्लूडब्लूएफका वाटर रिसर्च एसोसिएट करुन देवान महतोले खिचेको तस्बिरले डल्फिनको उपस्थितिलाई झन् बल पुर्‍याएको छ । ‘नारायणी नदीमा २०१८पछि फोटोग्राफिक इभिडेन्ससहित डल्फिनको भेटिएको हो,’ उनले कान्तिपुरसित भने ।

नारायणी नदी क्षेत्रमा यसअघि दुईवटा डल्फिन देखिने गरेको राष्ट्रिय घडियाल प्रजनन् केन्द्रमा कार्यरत गोही विज्ञ डा. वेदकुमार खड्काले बताए । उनका अनुसार २०७० देखि हरेक वर्ष डल्फिन देखिने गरे पनि संख्या नबढेको उनी बताउँछन् । ‘मैले २०७० देखि दुई वटाचाहिँ देखेको छु । तर यिनको संख्या बढेको देखेको छैन ।’

गंगा र यसका सहायक नदीहरुमा पाइने गंगिज रिभर डल्फिनको संख्या पछिल्लो समय घटिरहेको छ । नेपाल, भारत र बंगलादेशमा मात्रै पाइने यो प्रजातिको संख्या १९९४ देखि ५० प्रतिशतले घटेको छ । यसको संख्या ३ हजारको हाराहारीमा रहेको बताइएको छ ।

नेपालमा पनि डल्फिनको संख्या घट्दो अवस्थामा रहेको अनुसन्धानहरुले देखाएका छन् । सन् २०११ मा गरिएको अनुसन्धानले नेपालमा डल्फिनको संख्या एक सयको हाराहारीमा रहेको अनुमान गरिएको थियो । २०१८को मनसुनमा देशव्यापी रूपमा गरिएको गणनामा नेपालका नदीहरुमा ५२ वटा डल्फिन भेटिएको थियो । मोहना र यसका सहायक नदीमा ४३ र कोसीमा ९ वटा भेटिएका थिए ।

मनसुनको समय भएकाले डल्फिन पाउने नारायणी र कर्णाली नदीका डल्फिन यसका सहायक नदीमा गएको हुनसक्ने अनुमान गरिएको उक्त अनुसन्धानमा संलग्न रहेका उपप्राध्यापक एवं फ्रेस वाटर इकोलोजिस्ट डा. दीपनारायण साहले बताए । ‘तथ्यांक संकलनका बेला नारायणी नदीको ५७ किलोमिटर क्षेत्रमा खोज्दा डल्फिन हामीले नदेखे पनि त्यसको केही दिनपछि २ वटा देखिएको थियो । गेरुवाको ३७ किलोमिटर क्षेत्रमा सर्भे गर्दा पनि भेटिएको थिएन । कोसीको ४९ किलोमिटर क्षेत्रमा खोज्दा हामीले ९ वटा देखेका थियौं,’साहले कान्तिपुरसँग भने ।

तल्लो तटीय क्षेत्रमा बस्ने यो स्तनधारी जलजीव नेपालका कोसी, कर्णाली र नारायणी नदी क्षेत्रमा पाइन्छ । कुनै सयम महाकालीमा पनि देखिन्थे । अहिले त्यहाँ डल्फिन देखिन छाडेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको डल्फिन व्यवस्थापन कार्यायोजना २०२१–२०२५मा उल्लेख छ । डल्फिनलाई पानीको शुद्धताको सूचकको रुपमा लिइन्छ । सफा पानीमा बस्ने रुचाउने यो स्तनधारी जीवको आहारा स–साना माछा नै हुन् ।

यो प्रजातिको डल्फिन एक्लै देखिने गरे पनि ३ देखि १० वटाको समूह पनि देखिन्छन् । आमा र बच्चा प्राय: सँगै हुन्छन् । फागुनदेखि वैशाख यिनीहरुको प्रजनन् समय हुन्छ । गर्भधारण गरेको ८ देखि ९ महिनासम्म बच्चा जन्माउँछन् । यिनीहरुको बच्चाले जन्मिएको २ महिनादेखि आहार खाने गर्छन् ।

पानी प्रदूषण, नेपाल–भारतका नदीमा निर्माण गरिएका ठूला ड्याम र ब्यारेजका कारण संख्या घट्दै गएको संरक्षणकर्मी बताउँछन् । अनुसन्धानकर्ता खड्का भन्छन्,‘यिनीहरुलाई ओहोरदोहर गर्न कुनै सीमा हुनुहुँदैन । भारतका नदीबाट यिनीहरु उत्तरतर्फ आउँछन् । ब्यारेजले यिनीहरुको आवतजावतमा समस्या परेको छ । ब्यारेज खुलेका बेला नेपालबाट भारत पुगेका डल्फिनहरु आउन पाउँदैनन् । यसले पनि संख्या घटिरहेको छ ।’

अनुसन्धानकर्ता साह नेपाल नदी प्रदूषण र आहाराका कारण पनि डल्फिन घट्दै जान सक्ने औंल्याउँछन् । ‘नदी एउटै हो । त्यही नदीमा अन्य जीवहरु पनि छन् । स–सना माछा पनि छन् । माछा मारेर जीविकोपार्जन गर्ने समुदाय छ । फोहोर पनि त्यही नदीमा छ । यसले गर्दा त्यहाँ आश्रित जीवहरुलाई असर गर्ने भइहाल्यो । आहारा पनि घट्दा यिनीहरुको संख्या त्यसै घट्ने भइहाल्यो नि,’ उपप्राध्यापक साहले भने ।

डल्फिनलाई बाँच्नका लागि शुद्ध र पर्याप्त पानीको स्रोतसँगै आहाराको सुनिश्चिता चाहिन्छ । अध्ययनबिना जथाभावी नहर बनाउँदा नदीमा पानीको मात्रासँगै आहारा पनि घट्छ । यसले बासस्थानसँगै आहारा पनि घट्ने अनुसन्धानकर्ताहरु बताउँछन् । नदी क्षेत्रमा जाल हानेर माछा मार्दा डल्फिनले खाने माछाहरुको संख्या घट्दा यसले थप चुनौती ल्याउने देखिन्छ ।

डल्फिन संरक्षण कार्यायोजना लथालिंग

आईयूसीएनको संकटापन्न सूचीमा राखेको यो जीवन नेपालका लागि भने सरकारले अति संकटापन्न जीवनको सूचीमा यसलाई राखेको छ । डल्फिन संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डल्फिन कन्जर्भेसन एक्सन प्लान २०२१–२०२५’ ल्याएको छ । तर यसको कार्यान्वयन हुन सकेको छैन ।

कार्ययोजनामा डल्फिनको अवस्थाबारे जानकारी लिने भनिएको छ तर कार्यान्वयन गरिएको छ । नदी क्षेत्रमा निर्माण गरिने ड्याम तथा ब्यारेजहरुमा माछाहरुलाई आवतजावत गर्नका लागि ‘फिस ल्याडर’ निर्माणमा ध्यानाकर्षण गराउने, गण्ना गर्ने, बासस्थान सुधार्ने, अध्ययन/अनुसन्धान गर्नेलगायतका कामहरु गर्ने कार्यायोजनामा उल्लेख भए पनि हुन सकेको छैन ।

नदी क्षेत्रमा हुने बाह्य प्रभाव नियन्त्रण,समुदायस्तरमा यसको महत्वबारे जानकारी दिने कार्ययोजनामा उल्लेख छन् तर काम भएका छैनन् । विभागका प्रवक्ता वेदकुमार ढकालले बजेट अभावका कारण कार्ययोजनाअनुसार काम हुन नसकेको बताए । महत्त्वपूर्ण जीव भए पनि विविध कारणले काम हुन नसकेपछि नदी क्षेत्रमा आहार प्रजातिको वृद्धि,बासस्थान सुधारजस्ता कामहरु विभागले गरिरहेको बताए ।

विभागले डल्फिन संरक्षण र व्यवस्थापनका लागि १४ करोड ६७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । कार्ययोजना अनुसार हरेक वर्षको योजना निर्माण,समीक्षा गर्ने भनेको तर त्यो अनुसार हुन सकेको छैन । कार्ययोजना निर्माण र यसको कार्यान्वयनका लागि दातृ संस्थाको मुख ताक्दा डल्फिन संरक्षणमा सरकारको ठोस पहल हुन सकेको छैन ।

कार्ययोजनामा डब्लूडब्लूएफ, एनटीएनसी, जेडएसएललगायत अन्य सरकारी तथा अन्तर्राष्ट्रिय दातृ निकायको भर पर्दा कार्ययोजनाले गति लिन सकेको छैन । विभागले दातृ संस्थाहरु दिने बजेट पनि घटेकाले काम हुन सकेको बताए पनि यो चालू आर्थिक वर्षमा डल्फिन संरक्षणका लागि कुनै पनि बजेट निकासा गरेको छैन ।

प्रकाशित : पुस २९, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×