कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

खोप केन्द्र बढाउन माग

‘सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनेको छ, तर खोप लगाउने ठाउँमा ठेलमठेल भीड छ, यहीँबाट संक्रमण फैलिए को जिम्मेवार हुने ?’ 
बुनु थारु

काठमाडौँ — कोभिड संक्रमण तीव्र विस्तार भएसँगै खोप केन्द्रमा सर्वसाधारणको चाप बढेको छ । बाक्लो जनसंख्या भएको काठमाडौं, ललितपुर र भक्तपुरमा २४ वटा मात्रै खोप केन्द्र छन् । केन्द्र बढाएर खोप लगाउने व्यवस्था सहज बनाउन स्वास्थ्य मन्त्रालयले बेवास्ता गरेको छ । यसबाट खोप लगाउन जाने व्यक्तिले सास्ती त पाएका छन् नै, भीडबाट संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ ।

खोप केन्द्र बढाउन माग

बानेश्वरस्थित सिभिल अस्पतालको मूल गेटबाट थोरै अगाडि दुई वटा खोप बुथ छन् । बुथबाट अस्पतालको पार्किङसम्मै कोभिडविरुद्धको खोप लगाउनेको लामो लाइन देखिन्छ । यो भीड दुई दिनयता ह्वात्तै बढेको हो । यही भीडमा मंगलबार बिहान साढे ११ बजे भेटिइन्, तीनकुने बस्दै आएकी ३२ वर्षीया सुशीला बोहरा । खोप लगाउनुपर्छ भन्ने थाहा भए पनि डरले अहिलेसम्म लगाउन नआएको उनले बताइन् । ‘हिजो चेकअपका लागि आउँदा खोपको लाइन देखें अनि बुझेर आज लगाउन आएको,’ उनले हाँस्दै भनिन्, ‘निकै भीड रहेछ, जोखिम हुँदाहुँदै पनि खोप लगाएँ ।’ यस्तो जोखिम कम गर्न उनले केन्द्र बढाउन सुझाव दिइन् ।

बानेश्वरका ३८ वर्षीय रत्न लामा घर निर्माणसम्बन्धी ठेक्कापट्टाको काम गर्छन् । फुर्सद नपाएरै अहिलेसम्म खोप लगाउन नपाएको उनको भनाइ छ । ‘हामीजस्तो श्रमजीवीलाई कामकै चिन्ता,’ उनले भने, ‘आज त जसरी पनि लगाउने भनेर आएको ।’ उनी पहिले पनि खोप केन्द्रसम्म पुगेका रहेछन् तर थामिनसक्नु लाइन देखेरै त्यत्तिकै फर्केको उनले बताए । ‘लाइन बसेर पनि फर्केको छु,’ उनले भने, ‘अब त खोप कार्ड नभई नहुने रे । काम छोडेर भए पनि लगाउनुपर्‍यो नि ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि खोप लगाउनेको संख्या बढेको छ । अस्पताल पछाडिको बस्तीमा बस्ने ३८ वर्षीया सीता शर्मा खोपको लाइनमा थिइन् । ‘अब त खोप कार्ड अनिवार्य चाहिन्छ भन्ने समाचारमा सुनेर लगाउन आएको,’ उनले भनिन् । बानेश्वर बस्ने २६ वर्षीया शर्मिला पाठक लोक सेवाको तयारी गर्दै छिन् । परीक्षा नजिकिएकाले खोप लगाउन समयमा जान नपाएको उनले बताइन् । ‘परीक्षामा असर गर्छ कि भनेर लगाउन गइएन,’ उनी भन्छिन्, ‘अब त बाध्यात्मक बन्यो, त्यसैले खोप लगाउन आउनै पर्‍यो ।’

सिभिल र टेकु अस्पतालजस्तै उपत्यकाका अधिकांश खोप केन्द्रमा खोप लगाउनेको भीड निकै बढेको छ । अधिकांशले खोप लगाउनुपर्छ भन्ने थाहा पाए पनि विभिन्न कारणले लगाउन नपाएको बताए । धेरैले समय नभएर यसअघि नआएको बताए भने केहीले बिरामी भएर त केहीले खोपको डरले नलगाएको बताए । कहाँ लगाउने भन्ने राम्रो सूचना नपाएर पनि खोप लगाउन आउन नसकेको केहीको भनाइ छ । ‘सरकारले २५ जनाभन्दा बढी भेला नहुनु भनेको छ, यहाँ २ सयभन्दा बढी च्यापिएर खोप लगाउन बसेका छन्,’ शुक्रराज अस्पतालमा आएका एक शिक्षकले भने, ‘केन्द्र बढाए भीड हुँदैनथ्यो । यहीँबाटै संक्रमण फैलिए जिम्मेवार को हुने ?’

शुक्रराज अस्पतालका सूचना अधिकारी नवराज गौतमले अरू बेला दैनिक ४ सयदेखि ५ सय डोज खोप लगाइरहेकामा सोमबारबाट संख्या निकै बढेको बताए । ‘सोमबार १ हजार ५६४ जनाले खोप लगाएकामा आज (मंगलबार) करिब २ हजारले खोप लगाएको अनुमान गरेका छौं,’ उनले भने । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आइतबार सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेसँगै अहिले खोप केन्द्रमा चहलपहल बढ्न थालेको हो ।

यही सिफारिसका आधारमा मंगलबार उपत्यकाका तीनवटै जिल्ला प्रशासनले निर्णय गरेका छन् । माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने सरकारले जनाएको छ । कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश दिन भनिएको छ ।

सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य भनेर बाध्यात्मक बनाइदिँदा धेरै जना खोपको दायरामा आउने सरकारले लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यो निर्णयले एकातिर खोप लगाउनुपर्छ भन्ने बुझाइ हुने र अर्कोतिर अस्पताल भर्ना हुने जोखिम घटाउने बताए ।

‘अहिले बिरामी अस्पताल भर्ना हुने दर कम गर्नुछ । खोपको कभरेज बढाउन मद्दत गर्छ भनेर यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘संक्रमण भइहाले पनि जोखिम कम गर्न खोप लगाउनुस् भनिरहेका छौं ।’ खोप व्यवस्थापन समितिहरू र स्थानीय तहलाई आफ्ना कमजोरी सुधार गर्न निर्देशन दिइसकेको उनले बताए । ‘खोपको दायरा बढाएनौं भने जोखिम अझै बढ्छ । अस्पतालमा जति स्रोत साधन भए पनि थेग्न गाह्रो हुन्छ,’ उनले भने ।

प्रकाशित : पुस २८, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?