कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित सिधै घरतिर

सन्जु पौडेल

लुम्बिनी — कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेश तेस्रो लहरमा पनि उही नियतिबाट गुज्रने सम्भावना बढेको छ । यहाँका नाका व्यवस्थित नहुँदा संक्रमित सहजै मुलुक प्रवेश गरिरहेका छन् । संक्रमण पुष्टि भएकालाई नाकामा छुट्टै राख्ने व्यवस्था नहुँदा उनीहरू बस चढेर सिधै घर गइरहेका छन् । 

संक्रमित सिधै घरतिर

अघिल्लो लहरमै नाकामा बनाउने भनिएको होल्डिङ सेन्टर नबन्दा समस्या बढेको हो । पहिलो पटक संक्रमण पुष्टि भएपछि ०७६ चैतमा नाकामा जाँच र अस्थायी होल्डिङ सेन्टर निर्माण सुरु गरिएको थियो । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले मास्क लगाए/नलगाएको मात्र हेरेर आएका जति सबैलाई मुलुक प्रवेश गराइरहेका छन् । दैनिक सयौं व्यक्ति ओहोरदोहोर हुने नाका भद्रगोल छ । नाकामै संक्रमण पुष्टि हुने बढेका छन् ।

अहिले गाडीका गाडी भारतीय पर्यटक तीर्थ/व्रत र नेपालमा घुमघाम गर्न भन्दै खोप कार्डका आधारमा भित्रिइरहेका छन् । नेपालीको हकमा भने सोधपुछ र लामो समय भारतमा बसी आएको खण्डमा खोप कार्ड भए पनि एन्टिजेन परीक्षण गर्ने गरिएको छ । तर नाकामा जाँच्दा पोजिटिभ नतिजा आएका व्यक्ति निष्फिक्री घर जान पाइरहेका छन् ।

उनीहरूलाई ‘होल्ड’ गरेर राख्ने स्थान छैन । ‘सम्बन्धित निकायले हेल्थ डेस्क बाह्रैमास चलाएको भए समस्या यसरी आउँदैनथ्यो होला,’ सिद्धार्थनगरस्थित काशी नोबेल एकेडेमीका निर्देशक श्री रायमाझीले भने, ‘कोरोना छैन भनेजसरी खुला आवतजावतलाई बढावा दिँदा फेरि रूपन्देही हटस्पट बन्ने संकेत देखिएको छ ।’

रूपन्देहीका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले आइसोलेसन सेन्टर सञ्चालनमा, नाकादेखि आउने मानिसको सहयोगमा प्रहरी निरन्तर खटिरहेको बताए । नाकाको हकमा दुई पटकसम्म जिल्ला कोरोना संकट व्यवस्थापन समन्वय केन्द्रको बैठक बसेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाइ छ ।

‘भारतदेखि आउने नागरिकको एन्टिजेन परीक्षणलाई प्राथमिकता दिएका छौं । पोजेटिभ आएमा गन्तव्यसम्म पुर्‍याउने काम चुनौतीपूर्ण छ,’ उनले भने, ‘सिद्धार्थनगर नगरपालिकासँग समन्वय गरी बसपार्क क्षेत्रको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छौं ।’

नाकामा स्थायी होल्डिङ सेन्टर बनाउन बजेट विनियोजन भइसकेको अवस्थामा जग्गा उपलब्ध गराउन नसक्दा काम रोकिएको छ ।

भारतबाट आउनेमध्ये १८ प्रतिशत संक्रमित

मोरङ संवाददाताका अनुसार विराटनगरस्थित रानी नाकाबाट आउने १८ दशमलव ४२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । नाकास्थित हेल्थ डेस्कका असिस्टेन्ट सुरेन्द्र यादवका अनुसार मंगलबार भारतबाट आएका ११४ जनामा एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ नेपाली र १७ भारतीय छन् । भारतबाट आउनेमा संक्रमण दर बढ्दो देखिएको उनले बताए ।

यादवका अनुसार संक्रमण पुष्टि भएकालाई रेडक्रसको एम्बुलेन्समार्फत कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पठाउने गरिएको छ । उपचार केन्द्रमा भर्ना हुन नचाहनेलाई कागज गराएर निजी गाडीमा होम आइसोलेसनमा पठाउने गरेको उनले बताए । ‘आँखाले हेरेर पहिचान गरेको भरमा स्वास्थ्य परीक्षण गर्दै आएका छौं,’ उनले भने, ‘भारतका विभिन्न सहरबाट आएका सबैको निगरानी गर्न नसक्दा ओमिक्रोन भेरिएन्ट फैलिने जोखिम उच्च देखिन्छ ।’

मोरङस्थित दरहैया, मटेरुवा, इस्लामपुर, तरिगामा, जोगबनी, आमतोलालगायत नाकाबाट पनि भारतबाट आउने जाने क्रम चलिरहेको छ । यहाँ कुनै निगरानी र स्वास्थ्य जाँचको व्यवस्था छैन ।

प्रकाशित : पुस २८, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?