चिसोले काम्दै बित्छन् अग्निपीडितका रात- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोले काम्दै बित्छन् अग्निपीडितका रात

घर क्षति भएका विस्थापित खुला चौरमा त्रिपालमुनि छन् । भन्छन्, ‘त्रिपालमा चारैतिरबाट स्याँठ छिर्छ ।’
राजबहादुर शाही

मुगु — आसपासका डाँडाकाँडा हिउँले ढाकिएका छन् । साताअघि भएको भारी हिमपातयता मुगु सदरमुकाम गमगढी निकै चिसो छ । घर हुनेहरूले चिसोमा जसोतसो मुन्टो लुकाएका छन् । सबैभन्दा कष्टमा कोही छन् भने ती त्रिपालमा आश्रय लिएका परिवार हुन् ।

गत कात्तिक २९ मा गमगढीको तल्लो बजारमा आगलागी भएको थियो । २१ घर नष्ट भएका थिए । आगलागीपछि विस्थापितहरू तल्लो बजारको खुला चौरमा त्रिपाल टाँगेर बसेका छन् ।

‘न छानो छ न त गतिलो लुगाफाटो,’ अग्निपीडित झोवा तामाङले भनिन्, ‘यो चिसो काट्न निकै गाह्रो भएको छ ।’ अहिलेसम्म सरकारबाट कुनै राहत नपाएको उनले गुनासो गरिन् ।

अग्निपीडितका लागि केही संघसंस्थाले खाद्यान्न सहयोग गरे पनि सरकारले नहेरेको उनले बताइन् । आगलागीको घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतको टोली अग्निपीडित बस्तीमा पुगेर घर पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिएको थियो । ‘प्रदेश सरकारको राहत कुर्दै दुई महिना बित्यो, अहिलेसम्म केही आएन,’ अर्का पीडित छिरिङ तामाङले भने, ‘हामीलाई सरकारले दु:खका आँसु पुछ्न केही राहत देला कि भन्ने आशा थियो तर चामल पनि सहयोग गरेन ।’ संघसंस्थाले दिएको त्रिपालमा बसेको उनले बताए । ‘चारैतिरबाट स्याँठ छिर्दा सास्ती भएको छ,’ उनले भने ।

स्थानीय प्रशासनले भने अग्निपीडितलाई राहत दिन प्रक्रिया थालिएको जनाएको छ । क्षति भएको विवरणका आधारमा प्रदेश सरकारले पठाएको रकम पीडितको खातामा जम्मा गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पीडित परिवारलाई १ लाखदेखि ५ लाख रुपैयाँ र भाडामा बस्ने व्यक्तिलाई न्यूनतम २० हजार रुपैयाँ राहत दिने तयारी भएको छ । त्यस्तै पसल गरेकालाई ३० हजारदेखि १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।

होटल र पसल गरी बसेका २४ जना आगलागीपछि विस्थापित छन् । त्यस्तै कोठा भाडामा लिई बसेका ३३ जनाको धनमालको क्षति भएको थियो ।


प्रकाशित : पुस २७, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्

अफगानिस्तानमाथिका प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

कान्तिपुर संवाददाता

बेइजिङ — चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरू फुकुवा गर्न आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयले सोमबार अफगानिस्तानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ ।

हाल अफगानिस्तान निकै अप्ठेरो अवस्थामा रहेको, यहाँ हिमपात तथा चिसोका कारण अफगान नागरिकहरू निकै अप्ठ्यारोमा परेको र मानवीय सहायताको पनि खाँचोे परिरहेकाले चीनले अमेरिकालाई सो नाकाबन्दी फिर्ता गर्न आग्रह गरेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले यस्तो आग्रह गरेका हुन् ।

अफगान नागरिक यतिबेला निकै कठिन अवस्थामा रहेका र यहाँको आर्थिक अवस्था पनि नाजुक रहेकाले अफगानिस्तानमाथि अमेरिकी सरकारले लगाएका आर्थिकलगायतका विभिन्न नाकाबन्दीहरू फुकुवा गर्नुपर्ने उनको भनाइ थियो ।

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : पुस २७, २०७८ १३:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×