पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

रासस

काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भेगमा बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फाइल तस्बिर

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोखिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

अहिले प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । रातिको समयमा देशभर आंशिकदेखि स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आइतबार पनि सुदूरपश्चिमाञ्चल र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम ७ दशमलब ६ र अधिकतम तापक्रम १८ दशमलब २ डिग्रि सेल्सियस रहेको छ ।

प्रकाशित : पुस २४, २०७८ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा कोरोनाको तेस्रो लहरबीच चुनावको तयारी

राजेश मिश्र

नयाँ दिल्ली — भारतका पाँच राज्यमा आगामी महिना विधानसभाको निर्वाचन घोषणा गरिएको छ । कोरोनाको तेस्रो लहरले पूरै भारतलाई प्रभावित पारेका बेला निर्वाचन आयोगले शनिबार उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, पन्जाब र गोवामा फेब्रुअरी महिनाभर चुनाव हुने मिति सार्वजनिक गरेको छ ।

भारतको संविधान र कानुनले संकटकाल वाहेकको अवस्थामा चुनाव सार्ने ठाउँ दिएको छैन । चुनावको मिति घोषणाको अधिकार निर्वाचन आयोगसँग सुरक्षित छ । त्यसै अनुसार आयोगले विधानसभाको कार्यकाल पाँच वर्ष पूरा गर्न लागेका राज्यहरूमा चुनाव गराउने घोषणा गरेको छ ।

ठूलो जनसंख्या भूगोल रहेको उत्तर प्रदेशमा ७ चरणमा मतदान हुनेछ । १० फेब्रुअरीबाट सुरु भएर ३ मार्चसम्म त्यहाँ मतदान हुने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

उत्तराखण्ड, पन्जाब र गोवामा एकै चरणमा १४ फेब्रुअरीका दिन मतदान हुनेछ । त्यस्तै, मणिपुरमा भने दुई चरणमा २७ फेब्रुअरी र ३ मार्चमा मतदान तोकिएको छ । मतगणना भने पाँचवटै प्रदेशमा एकैसाथ १० मार्चबाट सुरु हुनेछ ।

पत्रकार सम्मेलनमा मुख्य आयुक्त चन्द्राले कोरोनालाई लिएर जारी गाइडलाइनको पालना गर्दै चुनावी प्रक्रिया पूरा गरिने बताए । कोरोनालई हेर्दै विगतको भन्दा मतदान केन्द्र बढाइएको तथा हरेक केन्द्रमा सेनिटाइजर, मास्क लगायत सामग्री पनि उपलब्ध रहने गरी तयारी गरिने बताइएको छ। कोरोना संक्रमितका लागि पोस्टल ब्यालेटको व्यवस्था गरिने आयोगले जनाएको छ ।

पाँच राज्यमा ६ सय ९० विधानसभा क्षेत्रका लागि मतदान हुने र त्यसमा १८ करोड ३ लाख मतदातालाई मतदानको अधिकार रहेको चन्द्राले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । १८ वर्ष उमेर पुगेका नागरिकलाई भारतमा मदतानको अधिकार प्राप्त हुन्छ ।

प्रकाशित : पुस २४, २०७८ १९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×