ओलीलाई नेपालको आरोप- 'बिचराको हालत ! बालुवाटारबाट बालकोट पुग्नेबित्तिकै भुक्नु परेछ'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीलाई नेपालको आरोप- 'बिचराको हालत ! बालुवाटारबाट बालकोट पुग्नेबित्तिकै भुक्नु परेछ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट निकालिएको पीडा खप्न नसकेपछि 'भुक्दै हिँडेको' आरोप लगाएका छन् ।

ओलीको कडा आलोचना गर्दै नेता नेपालले कोही डाक्टर भए उपचार गरिदिन पनि सुझाव दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओलीले आफूले गज्जब काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोपसमेत लगाए ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको नेता नेपालको टीप्पणी थियो । यस्तै ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरूले अलग पार्टी बनाएको उनको दाबी थियो ।

अध्यक्ष नेपालले भने, ‘अहिले तपाईँहरूलाई थाहा छ, केपी ओलीका लागि राप्रपा प्यारो छ । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि । विदेशीहरू प्यारा छन् उनका लागि । तर आफ्नै पार्टीका कार्यकर्ताहरू, जसले उनलाई बा भन्दैनन् । जसले उनलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् उनीहरू प्यारा छैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरूको जुलुस त्यहाँ पुग्ने गर्छ । तर बालुवाटारबाट बिदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् । तर केपी बा'को तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने प्रधानमन्त्रीबाट निकालेको पीडा । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईँहरूमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । बिचराको त्यो हालत ! बालुवाटारबाट बालकोट पुग्ने बित्तिकै भुक्नु परेछ । कारण के हो भन्दा उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो ।'

यस्तै एमालेमा ओली प्रवृत्ति हाबी भएको भन्दै आफूहरू त्यो भोग्दाभोग्दै दिक्क भएको उनको भनाइ थियो । यस्तै नेता ओलीले दाहालको टाउकोमा चढेर आफूलाई अग्लो देखाउने उद्देश्य राखेको पनि नेता नेपालको टिप्पणी थियो ।

'त्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूँलाई सिँढीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति । अनि त्यही प्रवृत्तिले दम्भ सवार भयो । पछि पार्टीमा हेप्न थाल्नुभयो । बैठक नै नगर्ने,’ नेपालले भने ।

ओलीले पार्टीभित्र पनि आफूलाई 'बा' भन्नेहरूलाई मात्रै नजिक ठान्ने र संरक्षण गर्ने गरेको उनको टिप्पणी थियो । तर ओली जस्तै दम्भी नबन्न उनले आफ्ना कार्यकर्तालाई पनि सचेत गराएका थिए ।

प्रकाशित : पुस २४, २०७८ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभा निर्वाचनमा थप सेवा-सुविधा नलिने निर्वाचन अधिकृतहरुको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सात वटै प्रदेशमा निर्वाचन अधिकृतका रुपमा खटिने न्यायाधीशहरूले थप सेवा सुविधा नलिने घोषणा गरेका छन् । निर्वाचन आयोगले प्रदेशको मुकाम रहेका जिल्लाका न्यायाधीशहरूलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।

सबै निर्वाचन अधिकृतहरूले विज्ञप्तिमार्फत राष्ट्रिय सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि–०७८ अनुसार कुनै पनि थप सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

निर्वाचन अधिकृतहरु प्रदेश १ का भरत लम्साल, प्रदेश २ का ब्रजेश प्याकुरेल, वाग्मतीका डिल्लीरत्न श्रेष्ठ, गण्डकीका श्रीकृष्ण भट्टराई, लुम्बिनीका रितेन्द्र थापा, कर्णालीका राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशका जयानन्द पनेरूले संयुक्त विज्ञप्तिमार्फत आफूहरूलाई जीवन निर्वाह गर्न आवश्यक पर्ने न्यूनतम पारिश्रमिक राज्यकोषबाट प्राप्त भइरहेको भन्दै थप सुविधा नलिने घोषणा गरेका हुन् ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि, २०७८ द्वारा प्राप्त हुने कुनै पनि थप भत्ता, आर्थिक सुविधा र विभिन्न शीर्षकहरू अन्तर्गतको रकम यसपटकको राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७८ को कार्यसम्पादनको सिलसिलामा नलिई निर्वाचन अधिकृतमा नियुक्त हामी न्यायाधीशहरूको तर्फबाट निर्वाचन आयोगमा नै स-सम्मान फिर्ता गर्ने निर्णय गरेको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले उनीहरूलाई गत पुस ११ मा प्रदेश निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ पदका लागि आगामी माघ १२ गते सात वटै प्रदेशमा निर्वाचन हुँदैछ ।

प्रकाशित : पुस २४, २०७८ १४:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×