कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बतास समूहले नारायणहिटीमा बनाएका संरचना भत्काइए

सुरज कुँवर

काठमाडौँ — नारायणहिटी परिसरमा बतास समूहले रोयल बगैंचा रेस्टरेन्टका लागि निर्माण गरिरहेका भौतिक संरचना संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको ठाडो आदेशमा भत्काउन थालिएको छ ।

बतास समूहले नारायणहिटीमा बनाएका संरचना भत्काइए

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन चलिरहेकै बेला कार्यकारी निर्देशक दाहालले शुक्रबार रेस्टरेन्ट निर्माणको जिम्मा लिएको बतास समूहको बि म्यानेजमेन्टलाई नभई संग्रहालय नियमित मर्मत सम्भारको काम गरिरहेको नवयुवा कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई बगैंचामा निर्माण गरिएका टहरा र सटर भत्काउन लगाएको त्यहाँ सुरक्षाका लागि राखिएको नाराणहिटी प्रहरी गारद गुल्मले जनाएको छ ।

प्रहरीका अनुसार, निर्देशक दाहालले नवयुवा कन्स्ट्रक्सन एण्ड सप्लायर्सका अध्यक्ष रमेश ढकाललाई मौखिक निर्देशन दिँदै गेट, सटर, जस्ता संरचना हटाउन लगाएको हो । कार्यकारी निर्देशकको आदेशअनुसार सप्लायर्स कम्पनीका अध्यक्ष ढकालले शुक्रबार ११ जना कामदार लगाई बतासले निर्माण गरेका स्टेज, सटर आदि भत्काएका थिए । ढकालले शनिबार पनि भत्काउने कार्य जारी रहने कान्तिपुरसँग बताए । ‘ग्राइन्डरका सहायतामा दुइटा सटर, ८/१० वटा जस्ता, गेट, बार हटायौं । भोलिका लागि पनि काम बाकि छ,’ ढकालले भने ।

यस विषयमा नारायणहिटी संग्रहालयका प्रवक्ता बुद्धि गुरुङले निर्माणाधीन रेस्टरेन्ट भत्काएका आफूले देखेको जानकारी दिए । उनले शुक्रबार मन्त्रालयले गठन गरेको छानबिन समितिका पदाधिकारीहरु संग्रहालयमा आई कागजात लिएर गएको बताए । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालक समितिले एक वर्षअघि (०७७ पुस १७ गते) बतास समूहको कम्पनी बी म्यानेजमेन्ट प्रालिलाई रोयल बगैंचा नामको क्याफ्टेरिया संचालन गर्न अनुमति दिएको थियो । असारदेखि संचालनमा आउने पर्ने क्याफे कोभिडका कारण निर्माणाधीन अवस्थामै छ ।

पोखराको बतास समूह अर्न्तगतको बी म्यानेजमेन्ट प्रालिलाई समितिले तीन वर्षका लागि संचालन गर्न ७ हजार ९ सय २६ वर्गफिट (१ रोपनी ७ आना) जग्गा तथा क्यान्टिन घर बहालमा दिएको छ । बी म्यानेजमेन्टले प्रति वर्गफिटको १ सय ५ रुपैयाँका दरले खाली जग्गा क्यान्टीन घर मासिक २ लाख २१ हजार रुपैयाँमा बहाल दिने सर्तमा लिएको छ ।

प्रकाशित : पुस २३, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?