राष्ट्रिय सभाका १९ पदमा ४३ उम्मेदवार- समाचार - कान्तिपुर समाचार

राष्ट्रिय सभाका १९ पदमा ४३ उम्मेदवार

गठबन्धनविरूद्ध एमाले एक्लै प्रतिस्पर्धामा
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।

उम्मेदवारी दर्ताका आधारमा सातै प्रदेशमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा) र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएर ४ वर्षे कार्यकाल पूरा गर्न लागेकाहरूका स्थानमा चुनाव हुन लागेको हो । निर्वाचन आयोगले जुन प्रदेशको सदस्य रिक्त भएको हो, त्यहीं उम्मेदवारी दिने व्यवस्था गरेको थियो ।

गठबन्धन आफ्नो सिट यथावत् राख्दै एमालेले यसअघि जितेका आठवटा सिटमा पनि भागबन्डा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । चुनावमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता छन् । प्रदेशसभा सदस्य १ जनाको मतभार ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८ हुन्छ ।

निर्वाचन आयोगले मंगलबार नै उम्मेदवारको सूचीसमेत प्रकाशन गरिसकेको छ । प्रदेश १ मा महिला, अपाङ्गता भएका वा अल्पसंख्यक र अन्य गरी तीन पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी जयन्ती देवी राई, जसपाका हेमराज राई, कांग्रेसका गोपालकुमार बस्नेतले उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट सुमित्रा सुवेदी भण्डारी, सोनाम गेल्जेन शेर्पा र गुरुप्रसाद बराल प्रतिस्पर्धामा उत्रिएका छन् । राप्रपाका रञ्जु प्याकुरेल र अमरबहादुर विष्टको पनि उम्मेदवारी परेको छ । प्रदेश १ मा एमालेको पक्कड राम्रो भए पनि अर्को पक्षको भोट तान्न नसके एमालेले तीनै सिट गुमाउने सम्भावना छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा प्रदेश सदस्य ९२ र पालिका प्रमुख/उपप्रमुखमा २ सय ७२ जना छन् । यसमा एमालेको मतभार ४ हजार ५ सय ४२ र गठबन्धनको मतभार ४ हजार ४ सय ६४ छ । अन्य मतभार ३ सय ६ मात्रै रहेको छ । त्यहाँ एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरू नैनकला ओझा, अगमप्रसाद वान्तवा राई र पर्शुराम मेघी गुरुङको पदावधि आउँदो फागुन २० मा सकिँदै छ ।

प्रदेश २ बाट रिक्त हुने २ पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महमद खालिदले उम्मेदवारी दर्ता गराएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट रूपाकुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छन् ।

लोसपाबाट श्यामसुन्दर सरदारले उम्मेदवारी दिए पनि प्रदेशसभाको समानुपातिक सूचीमा पनि नाम भएकाले रद्द गरिएको निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले बताइन् । एमालेबाट विना देवी र उसमान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । यस प्रदेशबाट माओवादी केन्द्रबाट निर्वाचित शशिकला दाहाल र एमालेबाट चुनिएका सुमन प्याकुरेलको ४ वर्षे पदावधि पूरा हुन लागेको हो । प्रदेश २ मा ९ हजार ८ सय १६ मतभार छ ।

वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट महिलामा समाजवादीकी गोमादेवी तिमल्सिना, अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । उनीहरूको प्रतिस्पर्धीका रूपमा एमालेकी नीरकुमारी कुँवर र गोपाल शाक्यले उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीका गीता काफ्ले र कृष्णबहादुर तामाङको पनि उम्मेदवारी परेको छ । वाग्मतीमा पालिका प्रमुख र उपप्रमुख २ सय ३७ तथा प्रदेशसभा सदस्य १ सय ९ जना मतदाता छन् ।

गण्डकीमा महिला एक, दलित एक र अन्य एक सिटमा ६ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका भुवनबहादुर सुनार र सुरेश आलेमगरले उम्मेदवारी दिएका छन् । एमालेबाट लीला पोखरेल थनेत, अर्जुनकुमार सुनाम र पुण्यप्रसाद पौडेलको उम्मेदवारी परेको छ ।

यसअघि यहाँबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरू माओवादी केन्द्रका दीनानाथ शर्मा, दलित समूहबाट खिमकुमार विक र महिलाबाट एकीकृत समाजवादीकी शान्तिकुमारी अधिकारी जीसीको ४ वर्षे कार्यकाल सकिन लागेको हो । गण्डकीमा पालिका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेशसभाका ५९ जना मतदाता छन् ।

लुम्बिनीमा महिला, दलित र अन्य गरी तीन पदका लागि हुने चुनावमा ६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनका तर्फबाट अन्यमा कांग्रेसका युवराज शर्मा, महिलामा समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलितमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दिएका छन् । एमालेबाट दलितमा कृष्ण सुनार, महिलामा भारती उपाध्याय खनाल र अन्यमा रामदयाल गुप्ता प्रतिस्पर्धामा उत्रेका छन् । लुम्बिनी प्रदेशमा ७ हजार ७ सय ५८ मतभार छ ।

कर्णाली प्रदेशमा महिला, अपांगता वा अल्पसंख्यक र अन्य एक गरी तीन पदका लागि हुने निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका छन् । एमालेबाट अपांगता वा अल्पसंख्यकमा पदमबहादुर माझी, महिलामा गंगा थापा (महत) र अन्यमा चूडामणि शर्माको उम्मेदवारी परेको हो । गठबन्धनका तर्फबाट महिलामा कांग्रेसकी दुर्गा गुरुङ र अपांगतातर्फ माओवादीका नरबहादुर विष्ट र अन्यतर्फ एकीकृत समाजवादीका उदय बोहरा प्रतिस्पर्धामा उत्रिएका छन् । कर्णालीमा प्रदेशसभा सदस्य ३५ जना, पालिका प्रमुख र उपप्रमुख १ सय ५६ जना मतदाता छन् । त्यहाँबाट यसअघि निर्वाचित राष्ट्रिय सभा सदस्यहरू कविता बोगटी (हुम्ला), जीवन बुढा (कालीकोट) र ठगेन्द्रप्रकाश पुरी (रुकुम पश्चिम) को पदावधि सकिँदै छ ।

सुदूरपश्चिममा तीन पदका लागि पनि ६ जना प्रतिस्पर्धामा देखिएका छन् । गठबन्धनले अन्यमा कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादीका जगतबहादुर पार्की र महिलामा एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) लाई उठाएको छ । उनीहरूसँग एमालेका नरेशकुमार विश्वकर्मा दलितमा, सन्तोषकुमारी शर्मा (थापा) महिलामा र डिल्लीराज भट्टले अन्यमा उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य ५२ जना छन् भने स्थानीय तहका १ सय ७५ जना मतदाता छन् । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवर अछाम, चक्रप्रकाश स्नेही र तारादेवी भट्टको पदावधि सकिँदै छ । राष्ट्रिय सभाका लागि सुदूरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य र १ सय ७५ जना स्थानीय तह प्रमुख तथा उपप्रमुख उम्मेदवार छन् । प्रदेश १ बाहेकका प्रदेशमा एमालेभन्दा गठबन्धनको मतभार बढी छ ।

उम्मेदवारविरुद्ध उजुरीका लागि बुधबारलाई तोकिएको छ । उम्मेदवारले शनिबारसम्म नाम फिर्ता लिन पाउँछन् । निर्वाचन कार्यक्रमअनुसार आइतबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

प्रकाशित : पुस २१, २०७८ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

जबरा–पत्नी रेजीका नाममा ‘१ अर्बभन्दा बढी सम्पत्ति’

छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा पूरक निवेदन
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अवैध स्रोतबाट आर्जन एक अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्दै डा. गोविन्द केसीले सम्पत्ति शुद्धीकरण विभागमा पूरक निवेदन दिएका छन् ।

बृहत् नागरिक आन्दोलनका तर्फबाट डा. केसीले गत पुस ११ मा पनि विभागमा प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको दाबी गर्दै छानबिन र कारबाहीको मागसहित उजुरी दिएका थिए ।

डा. केसीको पूरक निवेदनमा राणाका नाममा २०६५ असोज ४ मा काठमाडौं महानगरपालिका–४ स्थित धुम्बाराहीमा तीन कित्ता जग्गा खरिद गरेको भेटिएको उल्लेख छ । कित्ता नं. ३४२, ४७१ र ४८४ का ती जग्गा अवैध स्रोतको आम्दानीबाट खरिद गरेको दाबी गरिएको छ । विभागले मंगलबार दर्ता गरेको पूरक निवेदनमा २०६५ मंसिर ४ मा काठमाडौं महानगरपालिका–३० स्थित ठमेलमा पनि १०९, ११० र १११ कित्ता नम्बरका जग्गा खरिद गरेको भेटिएको दाबी छ । यी तीन कित्ताको क्षेत्रफल २० आना छ ।

त्यस्तैगरी गत वर्ष असार १७ मा काठमाडौं महानगरपालिका–५ स्थित भाटभटेनीमा कित्ता नम्बर ७ को एक रोपनी ८ आना जग्गा खरिद गरेको डा. केसीले निवेदनमा उल्लेख गरेका छन् । राणाका नाममा भएका जग्गा र तिनलाई खरिद गर्ने पैसाको स्रोत छानबिन गर्न, तत्काल जग्गा रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न र अवैध सम्पत्ति जफत गरी हदैसम्म सजाय गर्न डा. केसीले निवेदनमा माग गरेका छन् ।

विभागले प्रधानन्यायाधीश जबराका नाममा रहेको सम्पत्ति छानबिन गर्ने अधिकार नभए पनि उनका आफन्तका नामको सम्पत्तिमाथि छानबिन सुरु भइसकेको जनाएको छ । गत पुस ११ मा निवेदन परेपछि विभागले उपसचिव मोहन ढकाल र शाखा अधिकृत कृष्ण मैनालीलाई अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको हो ।

विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले उक्त विषयमा प्रारम्भिक सूचना संकलन भइरहेको जानकारी दिए । विभागमा दर्ता भएको ध्यानाकर्षण पत्रसहितको उजुरीमा प्रधानन्यायाधीश जबराका भाइ, श्रीमती र परिवारका अन्य सदस्य एवं नातेदार, बिचौलियाको समेत काम गर्ने उनीनिकटका न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीलगायत मिलेर संगठित गिरोह खडा गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी गर्दै छानबिन गर्न माग गरिएको थियो ।

प्रकाशित : पुस २१, २०७८ ०६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×