कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७
राष्ट्रिय सभा सदस्य निर्वाचन

१९ पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता [नामावली]

काठमाडौँ — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । आगामी माघ १२ गते १९ पदका लागि हुने निर्वाचनमा ४३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातै प्रदेशमा उम्मेदवारहरूले मंगलबार उत्साहजनक ढंगले मनोनयन दर्ता गराएका छन् । 

१९ पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता [नामावली]

यस्ता छन् उम्मेदवारहरु

आयोगले बुधबार उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकेको छ भने बिहीबार र शुक्रबार मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा शुक्रबारै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, शनिबार उम्मेदवारले नाम फिर्ता लिने र आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनसम्बद्ध दलहरूले १९ मध्ये कांग्रेसले ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ५–५, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ गरेर गठबन्धन गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । राष्ट्रियसभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश १ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुन लागेको हो ।

क–कसको पदावधि सकिँदैछ ?

यसपटक प्रदेश १ बाट परशुराम मेघी गुरुङ र नैनकला दाहाल, प्रदेश २ बाट सुमन प्याकुरेल र शशीकला दाहाल, वाग्मतीबाट राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीबाट दिनानाथ शर्मा र शान्तिकुमारी बिसी, लुम्बिनीबाट चन्द्रबहादुर खड्का र कोमल वली, कर्णालीबाट खगेन्द्र पुरी र कविता बोगटी तथा सुदूरपश्चिमबाट शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिदैछ ।

समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विक, सुदूरपश्चिमबाट चक्रप्रताप स्नेही र लुम्बिनीबाट रामलखन चमार तथा अपाङ्गता वा अल्पसंख्यकतर्फ कर्णालीबाट जीवन बुढा र प्रदेश १ बाट अगम बान्तवाको पदावधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पदावधि पनि यसैपटक सकिँदैछ ।

राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल छ वर्ष । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्का दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ ।

प्रकाशित : पुस २०, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×