कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दलले मुलुकमा लुटतन्त्र चलाए : अध्यक्ष लिङ्देन 

श्यामसुन्दर शशि

जनकपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताको नाममा प्रमुख तीन दल मुलुकमा लुटतन्त्र चलाइरहेको आरोप लगाएका छन् । 

तीन दलले मुलुकमा लुटतन्त्र चलाए : अध्यक्ष लिङ्देन 

राप्रपा प्रदेश २ समितिले मंगलबार जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन दलको लुटतन्त्रमा मधेसवादी दलहरु पनि थपिएको बताए । उनले भने, 'पछिल्लो ३१ वर्षमा तीन दलले शासन व्यवस्था चलाएको अवस्था छ । पछिल्लो पटक यसमा मधेसवादी दलहरु पनि थपिन पुगेका छन् । उनीहरुले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको नाममा लुटतन्त्र चलाएका छन् । ’

राजाभन्दा राष्ट्रपतिले बढी सुविधा लिएको भन्दै उनले असन्तुष्टि पोखे । 'राजतन्त्रमा राजा महँगा भए भनेर झ्याली पिट्नेहरुसँग म सोध्न चाहन्छु, अहिलेको राष्ट्रपतिको सेवा सुविधा जोड्नोस्, पूर्व राष्ट्रपतिमा राज्यले गरेको खर्च जोड्नोस् अनि अघिल्लो वर्ष पुन: निवर्तमान हुने राष्ट्रपतिज्यूको खर्च जोड्नोस् र भन्नोस राष्ट्रपति महँगो कि राजा ? ’

अध्यक्ष लिङ्देनले निष्पक्षता र स्वतन्त्रताको हिसाबले पनि मुलुकमा राजा आवश्यक रहेको भनाइ दोहोर्‍याए ।

पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले लोकतन्त्र स्थापना भएयता मुलुकमा रहेको जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौंडा कपडा कारखाना तथा लुम्बिनी धागो मिल लगायतका कल कारखानाहरु धरासायी बनेको बताए । लोकतन्त्रवादी भन्ने दलका नेताहरुले गरेको भ्रष्टाचारले आजित बनेका जनताले विकल्प खोजिरहेको पनि उनको भनाइ थियो । उनले भने, 'अचेल जनता निरास छन् । आक्रोशित छन् । उनीहरुको निरासाको मूल कारण हो आफूलाई लोकतन्त्रवादी भन्ने दलका नेताहरुले गरेको भ्रष्टाचार । जनता विकल्प खोजेका छन् । राप्रपा विकल्प दिन तयार छ । ’

राप्रपाका महामन्त्री भुवन पाठकले तीन दलको कारण मुलुकको अर्थतन्त्र र परराष्ट्रनीति अस्तव्यस्त भएको आरोप लगाए ।

प्रकाशित : पुस २०, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?