सहरमा छाउ गोठ छैनन्, छाउ ‘बिल्डिङ’ छन्
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पोखरा — एघार वर्षको उमेरमा पहिलोपल्ट महिनावारी हुँदा आशिका केसी १४ दिनसम्म अध्यारो कोठामा बसिन् । घाम नपस्ने बन्द कोठाको उकुसमुकुस सम्झँदा अहिले पनि उनी बिरक्तिन्छिन् । १३ वर्ष पुगेकी उनलाई त्यतिबेलाको बारबन्देज भोग्नुपर्दा महिनावारी नै नभइदिए हुन्थ्यो जस्तो लाग्छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![सहरमा छाउ गोठ छैनन्, छाउ ‘बिल्डिङ’ छन्](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/mensuration-pokhara-0412022071507-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
पोखरा–३० पावरहाउसको गुरुकुल विद्याश्रम स्कुलमा आठ कक्षामा पढ्ने छात्राले सोमबार आफ्नो महिनावारी अनुभव सुनाए । ‘त्यतिबेला के भएको भन्ने नै बुझिएन,’ आशिकाले भनिन्, ‘घाम पनि देख्न नपाउने कोठामा बस्नुपर्यो । स्कुल पनि जान पाइएन ।’ अहिले पनि महिनावारी हुँदा उनी भान्सा र पूजा कोठामा प्रवेश पाउँदिनन् । बुबा र भाइसँग नजिक पर्दिनन् ।
१३ वर्षीया सजना विकलाई तीन महिनाअघि पहिलोपल्ट महिनावारी भयो । ‘पहिलेदेखि चलिआएको परम्परा’ भन्दै उनलाई पनि त्यसरी नै बन्द कोठामा राखियो । ‘घरमा कसैसँग पनि नजिक पर्न दिइएन,’ उनले सुनाइन्, ‘परिवारले यस्तो परम्परा बदल्ने हामी को नै हौँ र भन्नुहुन्छ ।’ १३ वर्षकै विमिशा गुरुङले भने पहिलोपल्टको महिनावारीमा १४ दिन नै बार्नु नपरे पनि हरेकपटक तीन दिन बार्ने गर्छिन् । अंकिता गुरुङ पहिलोपटक महिनावारी हुँदा उनकी आमाले उनलाई ‘अब यौन सम्पर्क गरे बच्चा बस्छ’ भनेको सम्झिन्छिन् ।
सेवा र पैरवीको माध्यमबाट महिला सशक्तीकरणमा सक्रिय संस्था जोन्टा क्लब अफ पोखराले ‘मर्यादित महिनावारी’बारे विद्यार्थीमाझ सचेतना कार्यक्रम गरेको छ । क्लबले मदन पुरस्कार विजेता कृति ‘खलंगामा हमला– एक नर्सको डायरी’की लेखक राधा पौडेलको ‘राधा पौडेल फाउन्डेसन’सँग सहकार्य गरिरहेको छ । क्लब र फाउन्डेसनले मर्यादित महिनावारीबारे सचेतना अभियान नै चलाइरहेका छन् । कार्यक्रममा फाउन्डेसनसँग जोडिएकी अभियन्ता एवं नर्स मन्दिरा श्रेष्ठले गुरुकुलका विद्यार्थीलाई महिनावारीका भ्रम र यथार्थबारे प्रस्ट्याएकी थिइन् ।
उनले महिनावारी एक प्राकृतिक प्रक्रिया भएको र मानवअधिकारसँग समेत जोडिएको विषय भएको विद्यार्थीलाई बताइन् । ‘महिनावारी पाप हो, रजस्वला हुँदा बग्ने रगत फोहोर हो, महिनावारी भएपछि मठमन्दिर, धार्मिक कार्यक्रममा भाग लिनुहुँदैन, भान्सामा प्रवेश गर्नुहुँदैन भन्ने सबै भ्रम हुन्,’ उनले भनिन्, ‘बोटबिरुवा, अचार छोए कुहिन्छ भन्ने कतै पनि प्रमाणित छैन । त्यसैले यी कुरा तथ्यमा आधारित होइनन् ।’ महिनावारी हुँदा हिँड्डुल गर्न नदिने, पोषिलो खाना नपाउने, विद्यालय जान नपाउने, केही छुन नपाउने हुँदा बालिका तथा किशोरीको मनोबल खस्किने उनले सुनाइन् । ‘यही कारणले कतिपयले विद्यालय छाड्नुपरेको छ,’ उनले भनिन्, ‘अपमानित महसुस गर्ने भएकाले मानसिक रुपमा समेत उनीहरू कमजोर बन्छन् ।’
कर्णाली, सुदूरपश्चिममा महिनावारी हुँदा छाउ गोठमा राख्ने चलन अझैसम्म भएकाले पनि बालिका बलात्कृत हुने, सर्पले टोक्ने, कानमा किरा पस्नेजस्ता समस्या रहिरहेको उनले सुनाइन् । काठमाडौं, पोखराजस्ता ठूला सहरमा समेत अझै महिनावारी बार्ने नाममा घरकै अँध्यारो कोठामा थुनेर राख्ने क्रम बन्द नभएको उनको अनुभव छ । ‘कर्णाली र सुदूरपश्चिममा छाउ गोठ छन्,’ उनले भनिन्, ‘सहरमा छाउ बिल्डिङ छन् ।’
उनले फाउन्डेसनसँग जोडिएर ६ महिनाअघिदेखि मर्यादित महिनावारी अभियान सुरु गरेकी हुन् । प्रदेश १, २, बागमती र लुम्बिनीमा अभियान लिएर पुगिसकेकी छन् । उनीसँगै काठमाडौंकै मिलाशा नकर्मी र सुन्दर विशंखे जोडिएका छन् । मिलाशाले महिनावारी हुँदा ‘भान्सा र मन्दिर छोए भगवान रिसाउँछन्’ भन्नु एक मिथकमात्रै रहेको बताइन् । ‘परापूर्वकालमा महिनावारी हुँदा प्याड लगाउने चलन थिएन‚ त्यसैले भान्सामा छिर्दा फोहोर हुन्छ भनेर प्रवेशमा रोक लगाइएको हो,’ उनले भनिन्, ‘अहिले समय बद्लिएको छ, प्याडदेखि महिनावारी कपसम्मको समय आइसकेको छ । सफासुग्घर भएर भान्सामा प्रवेश गर्दा केही हुँदैन ।’ पहिला मन्दिरसमेत वनको बीचमा हुने र महिनावारी भएका महिला मन्दिर जाँदा वन्यजन्तुले रगतको गन्ध सुँघेर शिकार गर्न सक्ने डरले महिलालाई वञ्चित गराइएको उनले बताइन् । ‘त्यति कारणले अहिले मन्दिर प्रवेश गर्न पाइन्न भन्नु जायज होइन‚’ उनले भनिन् ।
आहारविद् श्रीविद्या रघुनाथन कायस्थले महिनावारीका बेला केरा र दही खानु हुँदैन भन्नु निराधार रहेको बताइन् । उनी भन्छिन्, ‘यस्तो बेलामा झन् पोषिलो खानेकुरा चाहिन्छ । बालिकालाई मन पर्ने स्वस्थ खानेकुरा दिनुपर्छ ।’ महिनावारीमा पोषिलो खानेकुरा नपाउँदा बालिकामा कुपोषणसमेत देखिने गरेको उनी बताउँछिन् ।
गुरुकुल विद्याश्रमका प्रधानाध्यापक मिलन केसी पहिलेदेखि चलिआएका संस्कार ठिक नै छन् भन्नु गलत हुने बताउँछन् । किशोरावस्थामै त्यस्ता गलत संस्कारबारे सचेत गराउँदा पनि समाज परिवर्तन हुने उनले बताए ।
‘हाम्रोमा सडक, पूललगायत पूर्वाधार निर्माणलाई मात्रै विकास भन्ने चलन छ,’ उनले भने, ‘तर‚ गलत संस्कारलाई बदलेर समाजलाई आधुनिकतातर्फ लैजानु पनि ठूलो विकास हो ।’ संस्कार, संस्कृतिलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने उनको तर्क छ ।
क्लबकी उपाध्यक्ष मोनिका थापाका अनुसार कोभिड महामारीको बेला भर्चुअल रुपमा पोखराका विभिन्न विद्यालयमा मर्यादित महिनावारीबारे सचेतना कार्यक्रम गरिएको थियो । गुरुकुलमा भने गण्डकी प्रदेशमै पहिलोपटक भौतिक उपस्थितिमा कार्यक्रम गरिएको हो ।
क्लबकी सचिव रोजिना रञ्जित विजुक्छेले एक विद्यालयबाट सुरुवात गरेर गण्डकी प्रदेशभर सचेतना कार्यक्रम गरिने बताइन् । ‘तालिमपछि विद्यार्थीकै बीचबाट नेतृत्व छानिनेछ,’ उनले भनिन्, ‘तिनै विद्यार्थीले अन्य विद्यालयमा गएर मर्यादित महिनावारीबारे आफ्नो अनुभव सुनाउनेछन् ।’ क्लबकी सदस्य नेलिशा केसीले गुरुकुल विद्याश्रमलाई पहिलो ‘मर्यादित महिनावारीमैत्री विद्यालय’ घोषणा गर्ने तयारी गरेको बताइन् । ‘मर्यादित महिनावारीबारे विद्यार्थीले बुझ्ने र अरुलाई बुझाउने भइसकेपछि त्यस्तो घोषणा गरिनेछ,’ उनले भनिन् ।
कार्यक्रमपछि कक्षा आठकै छात्र अमित राना मगरले विद्यालयबाट फर्किएपछि घरमा मर्यादित महिनावारीबारे परिवारलाई सचेत गराउने बताए । अर्का विद्यार्थी कृसु गुरुङ र रजिल सुनारले भने, ‘अब कसैले प्याड किन्न पठाए लजाउँदैनौं ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)