माओवादी अध्यक्षमा फेरि दाहाल- समाचार - कान्तिपुर समाचार

माओवादी अध्यक्षमा फेरि दाहाल

'जनताको सेवा गर्ने यो अन्तिम अवसर हो, सायद अन्तिम चुनौती पनि'- दाहाल
आकांक्षीको व्यवस्थापन गर्न जटिल भएपछि अन्य पदाधिकारी चयन प्रक्रिया अलपत्र, सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा
बबिता शर्मा

काठमाडौँ — आठौं राष्ट्रिय महाधिवेशनको हलबाट अपुरो केन्द्रीय समिति चयन गरेको अर्को दिन माओवादीले केन्द्रीय समिति बैठकबाट अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

उपाध्यक्ष, महासचिवलगायत केन्द्रीय पदाधिकारी चयन गर्न बसेको केन्द्रीय समिति बैठक तीन दशकभन्दा बढी पार्टी प्रमुख रहँदै आएका दाहाललाई अध्यक्ष चयन गरी पुस २५ सम्म स्थगित भएको छ ।

मुख्यगरी महासचिवमा सहमति जुट्न नसकेपछि पदाधिकारी चयन गर्ने बैठक एक साता धकेलिएको हो । महाधिवेशन हलले आइतबार २ सय ३६ सदस्यीय अपुरो केन्द्रीय समिति चयन गरेको थियो । महाधिवेशनबाट पारित माओवादीको विधानमा केन्द्रीय समितिले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्ने व्यवस्था छ । यसैअनुसार अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भएका हुन् ।

ललितपुरको सानेपामा बसेको बैठकमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नारायणकाजी श्रेष्ठले गरेका थिए भने समर्थन कृष्णबहादुर महराले गरेका थिए । श्रेष्ठको प्रस्ताव र महराको समर्थनलाई केन्द्रीय सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए । त्यसअघि नवनिर्वाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका थिए ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकताअनुसार केन्द्रीय समितिले पदाधिकारीको संख्या थपघट गर्न सक्ने व्यवस्था पनि छ । अध्यक्ष निर्वाचित भए पनि अन्य पदाधिकारी भने पुस २५ मा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकबाट टुंगो लगाइने भएको छ ।

चीनमा उपचाररत वर्षमान पुन चाँडै स्वदेश फर्कने कारण देखाएर दाहालले पदाधिकारी चयन प्रक्रिया केही दिन पछाडि सारिएको बताए । ‘वर्षमान पुन र ओनसरी घर्तीले पदाधिकारीको चयनमा हामी पनि सहभागी हुन्छौं भनेर आग्रह गर्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य महराले भने, ‘पदाधिकारी, पोलिटब्युरो र स्थायी समितिको पनि गृहकार्य भइरहेको छ । पहिलो बैठकबाटै टुंगो लगाउनुपर्छ भनेर स्थगित गर्‍यौं ।’

पुनले दाहाललाई फोन गरी आफू पनि महासचिवको दाबेदार भएकाले काठमाडौं फर्केपछि मात्र पदाधिकारी चयन गर्नुपर्ने बताएका थिए । ‘म महासचिवको उम्मेदवार हुँ, सहमति भए ठिकै छ, नभए चुनाव लड्छु,’ पुनको भनाइ उद्धृत गर्दै निकट एक नेताले भने ।

स्रोतका अनुसार आकांक्षीहरूको व्यवस्थापन गर्न जटिल भएपछि दाहालले अन्य पदाधिकारी चयन प्रक्रिया लम्ब्याएका हुन् । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ । केन्द्रीय समिति र अध्यक्ष निर्विरोध निर्वाचित भएकाले पदाधिकारीमा निर्वाचन हुने सम्भावना कमजोर बनेको छ ।

अध्यक्ष चयन भएपछि दाहालले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अर्को केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो लाग्ने बताएका छन् । एक नेताका अनुसार दाहालले आइतबार र सोमबार स्थायी समितिमा रहेका नेताहरूलाई एक्लाएक्लै भेटेर परामर्श गरेका थिए ।

यसअघि महासचिवका दाबेदार भनिएका महराले दाहालसँगको भेटमा आफू महासचिव नहुने तर वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताएका छन् । ‘म वरिष्ठ उपाध्यक्षको दाबेदार हुँ, सहमति नभए चुनाव लड्छु,’ महराको भनाइ उद्धृत गर्दै एक नेताले भने । वरिष्ठ उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठको पनि दाबी छ ।

चीनमा उपचाररत पुन महासचिवका दाबेदार हुन् । पटक–पटक मन्त्री बनेका उनले पनि आफ्नो गृहजिल्लामा बलियो संगठन बनाएका छन् । उनले पार्टीलाई फरक ढंगले चलाउन महासचिवमा आफ्नो दाबी स्वाभाविक भएको निकटहरूसँग बताउने गरेका छन् । २०६३ बाट माओवादीको सचिवालय सदस्य बनेका उनी हेटौंडा महाधिवेशनबाट सचिव बनेका थिए । उनी लामो समयदेखि दाहालको विश्वासिलो पात्रका रूपमा रहँदै आएका छन् । उनी छिट्टै नेपाल फर्कने भएका छन् ।

महासचिवको दाबेदारका अर्का नेता हुन्– जनार्दन शर्मा । उनी हाल अर्थमन्त्रीसमेत छन् । आफ्नै खुट्टामा उभिएको पार्टी बनाउने आत्मविश्वास र मार्गचित्रसहित शर्माले महासचिव बन्ने आकांक्षा राखेका छन् । दाहालसँग कहिले सहकार्य त कहिले संघर्षको नीति लिने उनी सक्रिय नेतामध्ये पर्छन् । प्रदेश र जिल्ला तहसम्म आफ्नो पक्षमा नेता–कार्यकर्ता बनाएका शर्माले पनि महासचिव बनेर माओवादीलाई नयाँ ढंगले चलाउने दाबी गर्दै आएका छन् । गृहजिल्ला रुकुममा उनले माओवादीको बलियो संगठन निर्माण गरेका छन् ।

महासचिवका लागि आकांक्षा राख्नेमा ऊर्जामन्त्री पम्फा भुसाल पनि छिन् । दाहालसँगको भेटमा भुसालले आफू महासचिवको दाबेदार भएको बताएकी छन् । पार्टी विभाजन हुँदा मोहन वैद्यतिर लागेकी उनी २०७४ को चुनावअगाडि माओवादीमा फर्केकी थिइन् । पार्टीभित्र उनी सबैभन्दा वरिष्ठ महिला नेता हुन् । दाहालसँग उनको सम्बन्ध राम्रो छ । पार्टीभित्र आफूभन्दा जुनियरबीच महासचिवका लागि प्रतिस्पर्धा देखिएपछि देव गुरुङले पनि आकांक्षा राखेका छन् । त्यसबाहेक शक्ति बस्नेत र गिरिराजमणि पोखरेलले पनि महासचिवमा दाबी गरेका छन् ।

माओवादी नेताहरूका अनुसार आकांक्षी धेरै भए पनि अन्तिममा पुन र शर्माबीच प्रतिस्पर्धाको सम्भावना छ । अध्यक्ष दाहालले सहमति जुटाउन सबै विकल्पमा कोसिस गर्ने र सहमति नभए निर्वाचनसम्म जान सक्ने संकेत गरेको उनीनिकट नेताहरू बताउँछन् । पुन र शर्मा एकअर्कालाई स्वीकार गर्ने पक्षमा छैनन्, बरु दुवै जना निर्वाचनका लागि तयार छन् । महासचिवका लागि पुन र शर्माले दाहाललाई रिझाउन सम्भव भएसम्मका उपाय अवलम्बन गरेको स्रोतको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टीको केन्द्रीय समिति चयन लोकतान्त्रिक विधिबाट भएको दाबी गरेका छन् । ललितपुरको सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकबाट सर्वसम्मत अध्यक्ष निर्वाचित भएपछि सम्बोधन गर्दै उनले कुनै एक व्यक्तिको आदेशमा नभई स्थायी र आयोजक समितिको सर्वसम्मत प्रस्तावबाट समिति चयन भएको दाबी गरे ।

‘हाम्रो महाधिवेशन विचारमा आधारित भएर बहस भयो । हामीले राजनीतिक प्रतिवेदन र विधानमाथि गम्भीरतापूर्वक बहस गरेर पारित गर्‍यौं । प्रदेश–प्रदेशमा नेतृत्वको जिम्मा दिएका कमरेडहरूको रायसुझावलाई नै हामीले आत्मसात् गर्‍यौं र त्यसलाई केन्द्रित गरेर महाधिवेशन हलमा प्रस्तुत गर्‍यौं,’ उनले भने, ‘प्रचण्डको आदेशका रूपमा होइन, त्यतिबेला आयोजक र स्थायी समितिको सर्वसम्मत प्रस्तावका रूपमा केन्द्रीय समिति निर्वाचित गर्‍यौं ।’

महाधिवेशनमा सबैभन्दा बढी देश र जनताका हकअधिकार, विकास निर्माणको बारेमा जनवादी बहसबाट निचोड निकाल्न सफल भएको दाबी दाहालको छ । तर त्यसबारे मिडियामा गलत प्रचार भएको उनको गुनासो थियो । ‘कतिपय मिडियामा प्रचण्डले आदेश दियो, ताली लगाउनुस् भन्यो, ताली लगाए भनेर हाम्रो महाधिवेशनमा आएका झन्डै १८ सय नेताको अपमान गर्न खोजियो, मलाई दुःख र नमिठो लाग्यो,’ उनले भने । तर, महाधिवेशनबाट फेरि एक पटक ऐतिहासिक क्रमभंग गरेको दाहालको भनाइ छ । ‘हामीले पार्टीलाई क्रान्तिकारी रूपमा अगाडि बढाउने, राष्ट्र र जनताको बृहत्तर हितका निम्ति समर्पित पार्टीका रूपमा अगाडि बढाउने ऐतिहासिक संकल्प लिएर आएका छौं, केन्द्रीय समिति र मेरो काँधमा निकै ठूलो जिम्मेवारी थपिएको छ,’ उनले भने ।

लामो समयदेखि आफू पार्टीको नेतृत्वमा रहेर नेपालका ऐतिहासिक घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको दाबी पनि दाहालले गरे । दाहाल तीन दशकभन्दा बढी समय पार्टीको नेतृत्वमा छन् । अध्यक्षको हैसियतमा आफ्ना लागि अन्तिम अवसर भएको जनाउँदै दाहालले भने, ‘आज यो जिम्मेवारी फेरि एक पटक बोक्दै गर्दा, अध्यक्षको हैसियतले यो राष्ट्र, जनताको सेवा गर्ने र महान् बहस उठाउँदै विश्वभरिकै न्यायपूर्ण आन्दोलन र विश्वभरिकै श्रमिक जनताको सेवा गर्ने यो अन्तिम अवसर हो ।’

प्रकाशित : पुस २०, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

चट्टानले जिते हेभिवेट उपाधि

अनिश तिवारी

सिन्धुपाल्चोक — २ लाख ६५ हजार पुरस्कार राशिको ‘सेकेन्ड आरडब्लू स्ल्याम रेस्लिङ’ को हेभिवेट रेस्लरको बेल्ट चौतारा साँगाचोकगढी नगर चौताराका चट्टानले जितेका छन् ।

जिल्ला समन्वय समितिको प्रायोजनमा नेपाल रिङ रेस्लिङ एसोसिएसनद्वारा आइतबार मेलम्ची नगरपालिका, पाँचपोखरी र इन्द्रावती गाउँपालिकाको सीमाभेग गुफाडाँडामा आयोजित प्रतियोगिताको ‘आरडब्लू हेभिवेट म्याच’मा उनले चर्चित रेस्लर साइमलाई हराएका थिए ।

मिडिलवेटमा फिट रेस्लर डेभिडले यूबीएल स्टोनलाई पछार्दै मिडिल हेभिवेट बेल्ट हत्याए । रिङबाट केही समय बाहिरिए पनि उनले जितेर छाडे । ‘हार्डकोर म्याचमा किङ रोबर्टले उत्साही नुवाकोट टाइगरलाई धेरै समय लगाएर हराउनुपर्‍यो । अधिक समय रिङबाहिर दौडाएर दुवैबीच घमासान खेल चल्यो । टाइगरले टेबल, फलामे कुर्सीले रोबर्टलाई प्रहार गरेर थकित बनाए पनि रोबर्टले रिङभित्र हराएर छाडे ।

रेस्लिङ म्याचभरकी एक्ली महिला रेस्लर तन्नुले सिजे वर्ल्डलाई पछार्दै लाइटवेट च्याम्पियन उपाधि जितिन् । उनले आफूलाई जिस्काइरहेका वर्ल्डलाई लक लगाएर रिङमा धकेल्दै गलाइन् । सुरुमा कमजोर देखिएकी उनले अन्तिममा जित हासिल गरिन् । रेस्लिङ विधाको रोचक खेल ट्याग टिममा योङ्ग स्याडी, एक्स हिरो र बाका गरी तीन प्रतिस्पर्धी थिए । उपाधिका लागि तीन जनाको रिङभित्र रोचक घम्साघम्सी चल्यो, अन्तिममा एक्स हिरो रिङबाट बाहिरिए, छोटो समयमा बाकालाई हराएर स्याडीले ‘ट्याग टिम’ उपाधि जिते ।

जिल्ला समन्वय समितिका अनुसार हेभिवेटले ७५ हजार, मिडिलवेटले ५० हजार, हार्डकोरले ६५ हजार, लाइटवेटले ३५ हजार र ट्याग टिमका विजेताले ४० हजार रुपैयाँ पुरस्कार पाए । पूर्वमन्त्री शेरबहादुर तामाङ, मेलम्चीका मेयर डम्बर अर्याललगायतले पुरस्कृत गरे । चार वर्षअघि ७७ जिल्लाका समन्वय समितिको प्रमुख–उपप्रमुखको उपस्थितिमा जलवायु सम्मेलन भएको गुफाडाँडामा रेस्लिङ प्रतियोगिता गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए ।

जिल्लामा मुस्किलले हुने रेस्लिङ हेर्न स्थानीय र अन्यको भीड लागेको थियो । ‘गुफाडाँडाको पर्यटन प्रवर्द्धन होस् भनेर यो खेल आयोजना गरिएको हो, यसले जिल्लाको पर्यटन र खेलमा सघाउ पुग्ने विश्वास छु,’ उनले भने ।

प्रकाशित : पुस २०, २०७८ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×