३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अधुरो लोकतन्त्र, अपुरो कमिटी

नेकपा माओवादी केन्द्रले आन्तरिक लोकतन्त्रलाई अवरोध गर्दै अध्यक्ष दाहालद्वारा घोषित अपुरो केन्द्रीय समितिलाई अनुमोदन गरेर महाधिवेशनको कर्मकाण्ड सकेको छ ।
बबिता शर्मा

काठमाडौँ — विगतका गल्तीप्रति भयानक आत्मालोचना गर्दै भविष्यमा ‘जनमुखी दल’ बनाउने नेकपा माओवादी केन्द्रको राजनीतिक दस्ताबेज र प्रतिबद्धता महाधिवेशन नसकिँदै अलपत्र परेको छ । ‘जनमुखी कार्यकर्ता र कार्यकर्तामुखी नेता’ छान्ने दस्ताबेज पारित गरेको तेस्रो दिन महाधिवेशनले ‘अध्यक्ष पुष्पकमल दाहालमुखी’ केन्द्रीय समिति छानेको छ । 

अधुरो लोकतन्त्र, अपुरो कमिटी

एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पढेका नामलाई प्रतिनिधिले अनुमोदन गरेपछि माओवादी अध्यक्ष दाहालले ‘पञ्चर्‍याली’ भनेका थिए । ‘तपाईं हामीले एमाले नामको महाधिवेशन पनि देख्यौं । मैले त पञ्चर्‍यालीभन्दा अरू देख्दिनँ,’ मंसिर २५ मा पार्टीको प्रदेश सम्मेलनलाई एकसाथ भर्चुअल उद्घाटन गर्दै दाहालले भनेका थिए, ‘त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धति । निरंकुशता, विचार शून्यता र विचारहीनताको अधिवेशनका रूपमा गयो त्यो । दुनियाँले देख्यो ।’

एमाले महाधिवेशन सकिएको एक महिनामा माओवादी अध्यक्ष दाहालले पनि निर्वाचन समितिको अधिकारमा हस्तक्षेप गर्दै केन्द्रीय समिति सदस्यको सूचीको नाम आफैं पढेर सुनाए, महाधिवेशन प्रतिनिधिले ताली पिटेपछि एक साता लामो महाधिवेशन आइतबार साँझ सकियो । २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा दाहालले २ सय ३६ जनाको नाम मात्र पढेर सुनाए, ६३ सदस्य थप्न बाँकी छ । महाधिवेशनले नै छान्न नसकेका सदस्यहरू कसले कसरी छान्न सक्छ भनेर विधानमा कुनै व्यवस्था छैन ।

लोकतान्त्रिक प्रतिस्पर्धाबाट नै केन्द्रीय समिति चयन गर्न सबैजसो प्रतिनिधिको सुझाव रहे पनि माओवादी नेतृत्वले विधिमाथि बन्देज लगाउँदै ‘सर्वसम्मत’ केन्द्रीय समिति चयन गरेको हो । प्रदेश र पालिका तहको आन्तरिक प्रतिस्पर्धामा नै नेतृत्व अनुदार देखिएको भन्दै आलोचना भएपछि अध्यक्ष दाहाल आफैंले अब लोकतान्त्रिक विधिलाई प्राथमिकतामा राख्ने बताएका थिए । तर, निर्वाचन समितिलाई २४ घण्टामा चार पटक कार्यतालिका संशोधन गर्न लगाएर अध्यक्ष आफैंले केन्द्रीय समितिको घोषणा गरेका हुन् ।

अध्यक्ष दाहालले प्रदेशलाई संख्या बाँडेर केन्द्रीय सदस्यको नाम सिफारिस गर्न भनेका थिए । तर, तल्लो तहकै अधिवेशनमा निर्वाचनलाई निषेध गरिएकाले प्रदेश पनि अपूर्ण छन् । माओवादीको प्रदेश २ र सुदूरपश्चिममा समिति नै बनेको छैन । कर्णाली, लुम्बिनी, गण्डकीमा अध्यक्ष चयन भए पनि अन्य पदाधिकारी चयनमा विवाद छ । प्रदेश १ र वाग्मतीमा प्रदेश पदाधिकारी निर्वाचनबाट चयन भइसकेको छ । यस्ता अधुरा/अपुरा प्रदेश समितिको सिफारिसका आधारमा केन्द्रीय समिति चयन भएको छ ।

अध्यक्षले नै घोषणा गरेकाले केन्द्रीय समितिमा सबैजसो पुरानै अनुहार छन् । ‘निर्वाचन भएको भए कार्यकर्ताको नजरमा परेका नेता आउने सम्भावना थियो, नेतृत्वले छानेकाले नेताको नजरमा परेकाहरूमात्र आए,’ महाधिवेशन सकिएपछि होटल फर्कंदै गरेका एक प्रतिनिधिले भने ।

माओवादीमा मतदान प्रक्रियामार्फत केन्द्रीय समिति चयनको इतिहास छैन । ‘हामी कहाँ कहिल्यै चुनाव भएको छैन । चुनाव गर्न पनि एउटा परम्परा त चाहियो,’ नेता राम कार्कीले कान्तिपुरसँग भने, ‘किनभने यसअघि प्रदेश समिति सहमतिमा चयन भयो । तर प्रदेशको पदाधिकारीको चुनाव गरियो, भनेपछि विस्तारै अब चुनावतिर जाला, लैजानुपर्छ ।’

माओवादीको पार्टी विधानमा केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छ, जसको मुख्य उद्देश्य पार्टीको आन्तरिक निर्वाचन गर्ने हो । तर, नेतृत्व चयनमा आयोग होइन, नेता नै हावी हुँदै आएका छन् । यसपालि पनि त्यही दोहोरियो ।

राजनीतिशास्त्रका प्राध्यापकहरूले शान्तिपूर्ण प्रतिस्पर्धामा आएको माओवादीले पार्टी संगठन बनाउन प्रतिस्पर्धात्मक बाटो नरोजी कमजोर प्रक्रिया अपनाएको विश्लेषण गरेका छन् । प्राध्यापक कृष्ण खनालले माओवादीले राजनीतिक र सांगठनिक रूपमा द्वैध बाटो अपनाएको बताए । ‘माओवादी अझै अन्तरद्वन्द्वमा देखिन्छ,’ उनले भने, ‘उसले जुन प्रणालीलाई स्वीकार गरेर राजनीति गरिरहेको छ, शैली त्योभन्दा भिन्न छ,’ उनले भने, ‘पृष्ठभूमि नै फरक भएकाले उसको बाटो अलग हुन सक्छ, तर कुन बाटो लिने भनेर कार्यकर्तालाई खुला रूपमा भन्नुपर्छ, यसरी अन्तरविरोधमा फस्न हुँदैन ।’

राजनीतिशास्त्रका अर्का प्राध्यापक कृष्ण पोखरेल एमालेले प्रतिस्पर्धालाई निषेध गर्न थालेको सम्झँदै माओवादीले लोकतान्त्रिक अभ्यास गर्छ भनेर आफूले अपेक्षा नगरेको बताउँछन् । ‘कांग्रेस अगाडिदेखि नै निर्वाचन पचाएको पार्टी हो । त्यसैगरी नै पचाएको पार्टी एमाले थियो, त्यो पनि पुरानै ढर्रामा फर्कियो । माओवादी त निर्वाचनमा जाँदै नगएको पार्टी हो । तैपनि केही प्रदेशमा निर्वाचन गर्‍यो,’ पोखरेलले भने, ‘केन्द्रीय समिति चयनमा झन्डैझन्डै एमालेकै जस्तो विधि अपनायो, यद्यपि प्रदेशको सिफारिसका आधारमा अध्यक्ष दाहालले केन्द्रीय समिति घोषणा गरेको भन्ने छ । एमालेमा त अध्यक्षले नै अध्यक्ष घोषणा गरेका थिए । अब माओवादीले पनि त्यस्तै विधि अपनाउँछ कि के गर्छ, हेर्न बाँकी छ ।’

राजनीतिक विश्लेषक हरि रोका माओवादीमा नेतृत्व केन्द्रीकृत भएको र नेताले नै टुंग्याउनुपर्छ भन्ने सोच भए पनि एमालेको भन्दा केही फरक देखिएको बताउँछन् । ‘एमालेभित्र फरक मत राख्नेलाई प्रतिशोध साँधियो । माओवादीमा कम्तीमा फरक मत राख्न दिइयो । अध्यक्षले त्यसलाई समेट्छु पनि भनेका छन् । अर्कोतर्फ वैचारिक महाधिवेशन भने । त्यसकारण एमालेभन्दा अलिकति फरक देखियो,’ रोकाले भने, ‘सांगठनिक निर्वाचन पद्धतिका बारेमा अलिकति भिन्न कुरा ल्याउन सक्नुपर्दथ्यो, त्यो माओवादीभित्र देखिएन ।’

कमलादीस्थित प्रज्ञा भवनमा आठौं राष्ट्रिय महाधिवेशनको सातौं दिन शनिबार बिहान ११ बजेबाट बन्दसत्र सुरु भएको थियो । बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट सुझावहरू समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने जानकारी गराएपछि हलले सर्वसम्मतिले पार्टीको विधान पारित गरेको थियो । पार्टीको निर्वाचन आयोगले नयाँ विधानअनुसार नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु गरेको थियो ।

नयाँ विधानअनुसार केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट सदस्य चुने विधिसहित आयोगले सूचना प्रकाशित गरेको थियो । तर, दाहालले शनिबार नै हललाई सम्बोधन गर्दै सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने जानकारी गराएका थिए ।

केन्द्रीय समिति सहमतिबाट चयनका लागि महाधिवेशन आयोजक समितिमा छलफल गर्ने र सोका लागि अनुमति दिन बन्दसत्रसमक्ष दाहालले गरेको प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया थाती राखेर सहमतिबाटै केन्द्रीय समिति चयनका लागि दिनभर छलफल चल्यो । तर, शनिबार साँझसम्म सहमतिबाटै केन्द्रीय समिति चयन सम्भव भएन । पुनः बन्दसत्र साँझ पौने ७ बजे सुचारु भयो ।

बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सहमतिबाटै केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप पहल गर्नॅपर्ने भएकाले बन्दसत्र (आइतबार) १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव गरे ।

आइतबार ११ बजे स्थायी समिति बैठक र १ बजेका लागि बन्दसत्र बोलाइए पनि सहमति जुटाउने गृहकार्य लम्बियो । त्यहीबेला निर्वाचन आयोगले पुनः निर्वाचन कार्यतालिका हेरफेरको सूचना जारी गर्दै अपराह्न ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ता र सोमबार बिहान ८ देखि १:२५ सम्म मतदानको समय तोकेको थियो । केन्द्रीय सदस्य कार्कीका अनुसार आयोजक समितिको सहजीकरणमा सबै प्रदेश समितिका सदस्यहरूबीच छलफल गरेर केन्द्रीय सदस्यको नामावली टुंग्याएको थियो । आइतबार ४ः२५ बजेबाट मात्रै बन्दसत्र सुरु भयो ।

बन्दसत्रले पार्टीको यसअघिको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरूलाई अनुमोदन गर्‍यो । जसअनुसार केन्द्रीय अनुशासन आयोग प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेशल खतिवडा छानिएका छन् । तीनवटै आयोग २५ सदस्यीय छ । नयाँ विधानले आयोगका सदस्यहरूलाई केन्द्रीय समिति बैठकमा उपस्थित हुन पाउने व्यवस्था गरेको छ । विधानअनुसार केन्द्रीय समिति २ सय ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्छ । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुन्छन् ।

पदाधिकारी केन्द्रीय समितिले छान्ने

माओवादी केन्द्रको केन्द्रीय समितिले पूर्णता पाएपछि पदाधिकारी चयन गर्नेछ । ३१ वर्षदेखि पार्टी नेतृत्व गर्दै आएका दाहाल पुनः अध्यक्षमा चयन हुने निश्चित छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष चयनमा पनि खास समस्या छैन । महासचिवमा भने पूर्वलडाकु पृष्ठभूमिका पूर्वअर्थमन्त्री वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्माबीच मुख्य प्रतिस्पर्धा छ ।

महासचिवमा ऊर्जामन्त्री पुम्फा भुसाल, पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको पनि दाबी छ । दाहालले पदाधिकारीको टुंगो सोमबार लाग्ने बताएका छन् । महाधिवेशन हलमा दाहालले पदाधिकारीमा करिब सहमति जुटिसकेको र सोमबार बस्ने केन्द्रीय समिति बैठकले टुंगो लाग्ने बताए ।

‘पदाधिकारी विधानअनुसार केन्द्रीय समितिले टुंग्याउने हो । कतिपयले आजै टुंगो लगाऔं भने । भोलि (सोमबार) नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पदाधिकारी टुंगो लगाउने छ । पदाधिकारीमा करिब सहमति भइसकेको छ । भोलि टुंगो लाग्छ ।’

केन्द्रीय समितिमा को–को ?

समानुपातिकतर्फ

खसआर्य

पुरुष : नारायणप्रसाद दाहाल, सूर्यप्रकाश सुवेदी, धीरेन्द्र शर्मा, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारामान स्वाँर, देवेन्द्रराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली, अच्युतम काफ्ले

४० वर्षमुनि : विजय भण्डारी, दुर्गाप्रसाद चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी, दुई जना बाँकी

महिला : आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गंगाकुमारी बेलवासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईं, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, समिता कार्की, सुशीला सिंखडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मीदेवी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, काली चलाउने, लुम्बिनी गौतम, हरिमाया शर्मा र रुकु चौलागाईं

४० वर्षमुनि : यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिंखडा, गीता तिमिल्सिना र कृष्णा शाह

दलित

पुरुष : विष्णुबहादुर विक, यमबहादुर परियार र जगत सार्की

४० वर्षमुनि : सुबोध श्रीपाइली

महिला : अञ्जना बिशंखे, सुशीला श्रीपाइली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक र पम्फा बसेल

४० वर्षमुनि : पार्वती विक, २ बाँकी

मुस्लिम

पुरुष : हकिकुल्ला मुसलमान, ७ बाँकी

महिला : कौशर साह, ६ बाँकी

मधेसी

पुरुष : जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव, ३ बाँकी

४० वर्षमुनि : सुरेन्द्र मेहता

महिला : बोधमायाकुमारी यादव, सुनीताकुमारी यादव, ११ बाँकी

४० वर्षमुनि : ३ जना (सबै बाँकी)

आदिवासी जनजाति : ४३ जना

पुरुष : अजम्बर राई काङबाङ, रामकुमार राई, मानबहादुर बुढामगर, दीपबहादुर योञ्जन, दीपेन्द्रकुमार पुनमगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, पर्शुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति, छक्कबहादुर लामा र अन्य बाँकी

४० वर्षमुनि : इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नवीन जिरेल

महिला : २३ जना

अमृता थापा, ओन्सरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गाजयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मोणी खम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मीना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल, बाँकी पछि ।

४० वर्षमुनि : बिना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ र २ बाँकी

थारू

पुरुष : सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी र ३ बाँकी

४० वर्षमुनि : अमनलाल मोदी थारू

महिला : रूपाश्वरी चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी, कृष्णा चौधरी र १ बाँकी

खुलातर्फ

नेपबहादुर थारू चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाईं, लेखनाथ दाहाल, शालिकराम जमकट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हेमलाल शर्मा, सन्तकुमार दराई, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, ईश्वरीप्रसाद भण्डारी, सुनील मानन्धर, हरिबोल गजुरेल, पुष्पकमल दाहाल, दिलीप महर्जन, सुदन किराती, किरणकुमार राई, सुरेश राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल, पदमबहादुर राई, साबित्रीकुमार काफ्ले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई, अजयशंकर नायक, अशोक मण्डल, भरतप्रसाद शाह, प्रकाशहरि पोखरेल, राजु खड्का, योगकुमार यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वर राय यादव, मातृका यादव, प्रह्लादकुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारू, जीवन गौतम, तेजबहादुर ओली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जगप्रसाद शर्मा, वर्षमान पुन, महेश्वरजंग गहतराज, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुबबहादुर रोका, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, वामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्ति बस्नेत, गजेन्द्र महत, टेकबहादुर बस्नेत, जनार्दन शर्मा, मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लीलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, सीपबहादुर बस्नेत, कृष्ण केसी, अमरबहादुर गुरुङ तमु, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, हरिबहादुर चुमान, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, हितराज पाण्डे, दीनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, यशोदा सुवेदी गुरुङ, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपी सार्की अछामी, दलजित श्रीपाली, वीरमान चौधरी, कुमार पौडेल रहेका छन् भने बाँकी केन्द्रीय समितिले मनोनीत गर्ने भएको छ ।

प्रकाशित : पुस १९, २०७८ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?