कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाडो छल्न आएका पानीचरा गणना

नदी, सिमसार, ताल र पोखरी गरी ५० भन्दा बढी ठाउँमा गन्ने लक्ष्य
मनोज पौडेल

कपिलवस्तु — उच्च हिमाली भेगबाट मानिस भेडीगोठ लिएर बेंसी झरेका छन् । उधौली झर्ने यस याममा चरा पनि तल झर्छन् । जाडो छल्न तराईका खोलानाला र तालहरूसम्म चरा आउँछन् । यही मेसोमा चराविद्हरू पानीचराको गणनामा व्यस्त भएका छन् ।

जाडो छल्न आएका पानीचरा गणना

मध्य–हिउँदमा सिमसार क्षेत्रमा पाइने चराको प्रजाति, संख्या घटबढ, विचरणका बानी, बासस्थान र आहारा उपलब्धताको अवस्था पत्ता लगाई संरक्षणका योजना बनाउन गणना थालिएको हो । वेटल्यान्ड इन्टरनेसनलको संयोजनमा हिमाली प्रकृतिको समन्वयमा मुलकभर शनिबारबाट पानीचरा गणनाको काम भइरहेको छ । जलपक्षी गणना विश्वभर एकै पटक भइरहेको हो ।

पहिलो दिन काठमाडौंको वाग्मती नदी र टौदह पोखरीमा चराविद् र नेचर गाइडले गणना थालेको पानीचरा गणना नेपाल संयोजक हेमसागर बरालले बताए । त्यस्तै कोसीका दर्जनभन्दा बढी ठाउँ र पोखराका १० ठाउँमा गणना सुरु भएको छ । सुदूरपश्चिमको शुक्लाफाँटाका ६ ठाउँ र बर्दियाका ३ ठाउँमा गणना गरिनेछ । ‘आफ्नो अनुकूलता मिलाएर माघ २ सम्म सबै क्षेत्रमा गणना गरिनेछ,’ बरालले भने ।

पानीचरा पाइने क्षेत्र छुट्याएर पक्षी संरक्षणमा क्रियाशील संस्थालाई गणनाका लागि जिम्मेवारी दिइएको छ । यसका लागि ३ सय ५० बढी चराविद्, नेचर गाइड र स्वयंसेवी परिचालित हुनेछन् । विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर, बीसहजारी र घोडाघोडी तालमा गणना गरिनेछ । त्यस्तै लुम्बिनी क्षेत्र, सौराहा, बर्दिया, राप्ती नदी र नवलपरासीलगायत ठाउँमा चरा गणना गरिनेछ । हेटौंडा, दाङ, धनुषा, पश्चिम चितवन र रूपन्देहीको गैंडहवा र गजेडीलगायत ठाउँमा पनि गणना हुनेछ । नदी, सिमसार, ताल र पोखरी गरी ५० भन्दा बढी ठाउँमा गणनाको लक्ष्य छ । गणनाले दिने परिणाम हेरेर संरक्षणका कार्यक्रम र नीति बनाउन सहयोग पुर्‍याउने चराविद् दिनेश गिरीले बताए ।

चरा निकै चञ्चल हुने भएकाले गन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । बसाइँ सरेर आएका पानीमा आश्रित चरा अन्य रैथाने चराजस्तो भुर्रर उड्ने खालका हुँदैनन् । जहाँ पायो त्यहीं बस्दैनन् । जहाँको पानीमा लेउ र माछा राम्रो पाइन्छ, त्यहीं झुन्डझुन्ड बनाएर बस्ने चराविद् टीका गिरीले बताए । ‘पानीचरा मुख्य रूपमा कुन क्षेत्रमा बस्छन् भन्ने जानकारी भएपछि निश्चित दूरीबाट गणना गर्छौं,’ उनले भने, ‘अगाडि दखिने चराको संख्या र प्रजाति टिपोट गर्दै जान्छौं । कुनै चराले हामीलाई पछाडिबाट नाघेर अगाडि जान्छन्, संख्या नदोहोरियोस् भनेर त्यसलाई घटाउँछौं ।’

चराको रङ, बनोट र आवाजका बारेमा जानकारी भएका चरााविज्ञ, नेचर गाइड दूरबिन र वाइनाकुलर लिएर गणनामा खट्ने गर्छन् । उत्तरी ध्रुवमा हिमपातको सुरुवात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । बढी चिसोले मानिसकै जीवनयापन कठिन बन्छ । उता चरालाई पनि आहारविहारमा समस्या हुन्छ । त्यही भएर हिउँदको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काइ फर्कने गर्छन् । उत्तरी मुलुक रुस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य–एसियाका तुर्कमिनिस्तान, किर्गिस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् ।

नेपालमा तराईका जलाशयहरूमा बर्सेनि १ सय ५० बढी प्रजातिका चरा आउँछन् । धेरै चिसो ठाउँबाट उडेका चरा सातादेखि १० दिनमा नेपाल र भारतका विभिन्न स्थानमा पुग्छन् । ४ देखि ५ हजार माइल उडेर चरा यहाँ आउँछन् । ‘धेरै चरा सिधै उडेर ३/४ दिनमै पुग्छन्,’ चराविद् बरालले भने, ‘कतिपय रोकिँदै बीच–बीचमा बास बस्दै साता लगाएर यहाँ पुग्छन् ।’ चरा उडेर यता आउँदा यिनीहरूले गन्तव्यसम्म पुग्ने दिशा र बाटो पहिचानका लागि सूर्य तथा ताराको सहारा लिँदै आउने संरक्षणकर्मी कृष्ण भुसालले बताए । त्यस्तै नदी, भौगोलिक शृंखला, चुम्बकीय दिशालगायत हेर्छन् । यसरी चराले बसाइँसराइका बेला प्रयोग गर्ने बाटोलाई ‘फ्लाई वे’ भनिन्छ । विश्वमा ८ वटा यस्ता बाटा छन् । तीमध्ये नेपाल मध्य–एसिया बाटोमा पर्छ ।

नेपालमा अहिले चरा पर्यटन फस्टाइरहेको छ । विदेशी पर्यटकमध्ये ८ प्रतिशतको हाराहारीमा चरा हेर्न लालायित भई आउने तथ्यांकले देखाएको छ । सन् १९८७ देखि बर्सेनि सिमसारमा आश्रित पानीचराको गणना गरिँदै आएको छ । गणनाले पानीचराको अवस्था खतराउन्मुख देखाएको छ । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपक्षी छन् ।

प्रकाशित : पुस १८, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?