उत्तरी सीमा बन्दको सकस- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तरी सीमा बन्दको सकस

गत वर्ष पुसमा चीनले र चैतदेखि नेपालले संखुवासभा र ताप्लेजुङको उत्तरी नाका सिल गरेपछि वैध रुपले हुने सबै कारोबार ठप्प भएको छ । नुनदेखि सुनसम्मको भर रहेको तिब्बत आउजाउ बन्द हुँदा यहाँका बासिन्दाले कष्ट भोगिरहेका छन् ।
आनन्द गौतम, दीपेन्द्र शाक्य

ताप्लेजुङ, संखुवासभा — ताप्लेजुङको उत्तरी भेगका बासिन्दा परम्परादेखि नै चीनको तिब्बतबाट ल्याएको भोटेनुन पशुलाई खुवाउँदै आएका थिए । अहिले स्टक सकिएपछि उनीहरू आत्तिएका छन् । गत वर्ष पुसमा चीनले र चैतदेखि नेपालले नाका सिल गरेपछि वैध रूपले हुने सबै कारोबार ठप्प भएको छ ।

ताप्लेजुङ सदरमुकामबाट अरू सामान ढुवानी गर्न थालेपछि पशुपालकले सात/आठ वर्षअघि नेपालकै नुन लगेर खुवाउने प्रयास गरेका थिए । तर चौरीको रौं झर्ने, गर्भवती चौंरीको गर्भपतन हुने, पोषण नलाग्ने जस्ता समस्या देखिएपछि नेपाली नुन खुवाउन छाडे । भोटे नुनको तुलनामा नेपालको ढिके नुन चर्को हुने र यहाँका चौंरी/याकले नपचाउने भएपछि उनीहरूले नेपाली नुन प्रयोगमै ल्याएनन् । अहिले स्टक गरिएको सबै भोटे नुन सकिएपछि ओलाङचुङगोला, याङमा, घुन्सा र पापुङका पशुपालक चिन्तामा छन् ।

ओलाङचुङगोलाका व्यापारी टासी शेर्पा पहिला चाइनिजसँग नेपाली र अहिले नेपालीसँग चाइनिज डराएर सिमाना बन्द भएको बताउँछन् । ‘सुरक्षा मापदण्ड अपनाएर कम्तीमा महिनामा पाँच/सात दिनमात्रै खुले पनि हुने थियो,’ उनले भने, ‘वर्ष दिनसम्म लगातार बन्द हुँदा निकै सकस हुँदो रहेछ ।’ वैध रूपमा पुसदेखि नाका बन्द भए पनि गत वर्ष मंसिरदेखि नै आउजाउ बन्द भएको उनले बताए । ‘गत वर्ष मंसिरदेखि हिउँ पर्न थाल्यो, त्यसपछि आउजाउ ठप्प भयो,’ उनले भने । यो वर्ष अहिलेसम्म हिउँ नपरेका कारण सीमावर्ती क्षेत्रका बासिन्दाले अझै आशा मारेका छैनन् । खाद्यान्नको समस्या ताप्लेजुङलाई भन्दा बढी संखुवासभालाई भएको छ ।

संखुवासभाको भोटखोला गाउँपालिकाका बासिन्दा यतिबेला ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको साँवाबाट चामल ओसारिरहेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट साँवा फुङफुङे झरनाको फेदीसम्म गाडीमा लान्छन् । त्यहाँबाट खच्चडमा बोकाएर थुदाम पुर्‍याउँछन् । थुदामबाट गाउँपालिकाको केन्द्र हटियासम्म खच्चड र मान्छेले बोकेर लैजान्छन् । थुदाम पुर्‍याउँदा मनसुली चामल ५० किलोको बोराको ८ हजार ७ सय रुपैयाँ पुग्छ । एक किलो चामललाई १ सय ७४ रुपैयाँ पर्छ । व्यापारीले आफूले नाफा राखेर बिक्री गर्दा उपभोक्ताले दुई सय रुपैयाँमा बल्ल पाउँछन् ।

साँवाबाट थुदाम पुर्‍याउन खच्चडलाई तीन दिन लाग्छ । पहिलो दिन पापुङको दुङ्गीनमा बस्छन् । दोस्रो दिन तोक्पेगोला पुग्छन् । तेस्रो दिन बेलुका बल्ल थुदाममा सामान झार्छन् । रित्तै फर्किंदा भने दुई दिनमा पापुङ पुगिने खच्चड खेदाउनेहरू बताउँछन् । सीमा बन्द हुँदा ओलाङचुङगोला र याङमामा करिब सात सय गलैंचा थन्किएको छ । स्थानी महिलाले बुनेका गलैंचा बिक्री गर्ने ठाउँ नपाएपछि घरका कोठाभरि गलैंचा खात लगाएर राखिएको छ । अहिले गलैंचा बन्ने कच्चा पदार्थको पनि अभाव हुन थालेको छ । उत्पादित सामग्री बिक्री नहुँदा दैनिक खर्च चलाउन समस्या भएको भने स्थानीय महिला बेरोजगार हुन थालेका छन् ।

चौंरी याकको राम्रो बजार तिब्बतको रिउ हो । एउटै याक ८० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री हुन्छ । तिब्बतीहरू नेपालतिर गोठसम्मै आएर खरिद गछन् । नेपालमा उत्पादन हुने चिराइतो, जटामसी, कुट्की, बिख्मा जस्ता जडीबुटीको बजार पनि तिब्बत नै हो । ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांका नाकाबाट यी जडीबुटी निर्यात हुन्छ । भन्सार कार्यालय नेपाली बस्तीमा राखिएको छ । सिमानासम्म मान्छ र खच्चडलाई बोकाएर लैजान्छन् । भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फुर्बु भोटेका अनुसार सबैभन्दा ठूलो चुनौती खाद्यान्नमा भएको छ । ताप्लेजुङबाट गइरहेको अहिलेको बाटो पनि बन्द भए झनै समस्या हुने उनले सुनाए । उक्त बाटो पनि हिउँ परेपछि बन्द हुन्छ 

पापुङका वडाध्यक्ष डन्डु शेर्पाका अनुसार हिउँ पर्न थालेपछि यो बाटोमा खच्चड चल्न सक्दैन । ‘३२ सय मिटर उचाइमा रहेको तोक्पेगोलाबाटै क्रस हुन सक्दैन,’ उनले भने, ‘ठ्याक्कै उचाइ त थाहा छैन, त्योभन्दा माथि अर्को डाँडा छ, त्यो त झन् पार हुनै सक्दैन ।’ आयात गर्न सहज र नजिक भएकाले भोटखोलाका सबैले चीनबाट खाद्यान्नलगायत सामान ल्याउने गरेका थिए ।

लकडाउनपछि चीनले सीमावर्ती क्षेत्रका बासिन्दालाई खाद्यान्न र मान्छेले खाने नुन सहयोग गरेको थियो । ‘हरेक कुरामा समस्या हुँदो रहेछ,’ ओलाङचुङगोलाका छेतेन वालुङले थपे, ‘सहयोगभन्दा पनि किनेरै खाने हो, तर तीन महिनामा एक हप्ताका लागि मात्रै भए पनि आउजाउ खुले सहज हुन्थ्यो ।’ दुवै पक्षले विशेष सुरक्षा सावधानी अपनाएर आयातनिर्यात गर्न सकिने उनले बताए । ‘हामी कुनै तरिकाले पैसा पठाइदिन्छौं, १० हजार किलो नुन सिमानामा लडाइदेऊ भनेको त्यो पनि मान्दैनन्,’ उनले सुनाए ।

खच्चडका दुःख

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका नुपु शेर्पा खच्चड चलाउँछन् । आफ्नै गाउँपालिकामा र जिल्लाभित्र मात्रै चलाउने उनले यो वर्ष छिमेकी जिल्ला संखुवासभाको थुदामसम्म पनि पुर्‍याए । पहिलो पटक असोज पहिलो साता १३ वटा खच्चड लिएर गएका उनलाई चार दिन लाग्यो । दोस्रो पटकदेखि तीन दिनमा पुग्न थालेका छन् । तर, बिहान उज्यालो भएदेखि बेलुका साँझसम्मै खच्चड धपाउनुपर्छ ।

चार पटक गएका उनले अहिलेसम्म त्यहाँ चामल मात्रै ओसारिरहेका छन् । उनका अनुसार ५० किलोको एक बोरा चामल पुर्‍याउँदा एउटा खच्चडले ६ हजार रुपैयाँ कमाउँछ । एक किलोको १ सय २० रुपैयाँ भाडादर छ । खच्चडले बोक्ने चाहिँ मिक्वाखोला गाउँपालिका–४ फुङफुङे झरना छेउदेखि हो । त्यहाँसम्म गाडीले लैजान्छ । सदरमुकाम फुङलिङबाट गाडीमा त्यहाँसम्म सामान लैजान सात घण्टासम्म लाग्छ ।

लेकाली क्षेत्रमा पातलो बस्ती र बस्ने ठाउँको समस्या हुने भएकाले तोकिएको गन्तव्यमा पुग्नेगरी यात्रा तय गर्नुपर्छ । बाटोमा खच्चड बिरामी भए वा बस्नैपर्ने अवस्था आए त्यसका लागि गोठालोलाई ओढ्ने सामान्य खालको धुसा र खानेकुरा बोक्ने गरेको उनले बताए । बिरामी खच्चड फर्किंदा बस्तीमा पुर्‍याएर छोड्नुपर्छ वा हिँडाउन सके लिएर फर्कनुपर्छ ।

ताप्लेजुङबाट सोना मनसुली चामल लैजाने गरिएको छ । यो चामल सदरमुकाम फुङलिङमा ५० किलोको २३ सय रुपैयाँ पर्छ । बिर्तामोड–ताप्लेजुङको ढुवानी भाडा घटबढ भइरहँदा बोरामा ५०/१०० रुपैयाँको घटबढ हुने उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण थापाले बताए । फुङलिङबाट मिक्वाखोलाको साँवा पुर्‍याउँदा प्रतिकिलो चार रुपैयाँ भाडा गाडीमा लाग्छ । लोड/अनलोड गर्नेलाई समेत दिँदा २७ सय रुपैयाँ साँवामा पर्छ ।

भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फुर्बु भोटे चीनसँगको किमाथांका नाका बन्द भएपछि ताप्लेजुङबाट सामान आउन थालेको बताउँछन् । ‘पहिला चीनसँगको नाका हुँदा उतैबाट ल्याएर खाने गरेको रहेछ, गत वर्षको माघदेखि नाका पूरै बन्द छ,’ भोटेले भने, ‘संखुवासभाको खाँदबारीबाट भन्दा ताप्लेजुङबाट छिटो आउने भएकाले अहिले त्यताको चामल आउन थालेको छ ।’

थुदाम मात्रै नभएर भोटखोला गाउँपालिकाको केन्द्र हटियामा पनि चामल पुग्न थालेको उनले सुनाए । खाँदबारीबाट यी ठाउँमा पुग्न खच्चड लगायतका ढुवानीका साधनलाई सात दिनसम्म लाग्छ । थुदामबाट हटिया, चेपुवा पुग्न थप दुई दिन लाग्छ । अहिलेसम्मको खरिदबिक्री व्यापारीले गरिरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्

रेनुकाले गरिन् बिहे

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटेले सोमबार अभिषेक लामासँग विवाह गरेकी छन् । चन्द्रपुर (रौतहट) की रेनुका र चिसापानी (धनुषा) का अभिषेकले सात वर्षयताको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

एपीएफ क्लबकी महत्वपूर्ण खेलाडी २५ वर्षीया रेनुकाले कक्सबजार (बंगलादेश) मा सन् २०१० मा भएको पहिलो साफ महिला च्याम्प्यिनसिपमार्फत् राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् । उनले चौथो साफ महिला च्याम्पियनसिप २०१६ मा राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन् ।

उनको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपाली टिम हिरो वुमेन्स गोल्डकप, नाडेज्दा कप र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उपविजेता भएको थियो । यी तीनै प्रतियोगिता सन् २०१९ मा भएका थिए । अभिषेक काठमाडौंमा आफ्नै व्यवसाय गर्छन् ।

प्रकाशित : मंसिर १७, २०७७ ०९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×