कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला

आइतबारदेखि नारायणहिटी दरबार संग्रहालय खुला हुने

काठमाडौँ — नारायणहिटी दरबार परिसरमा रहेको तत्कालीन राजा वीरेन्द्रको निवास श्रीसदन औपचारिक रूपमा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिबार उद्घाटन गरेका हुन् ।

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला

श्रीसदन खुलेसँगै नारायणहिटी दरबार संग्रहालयका ५२ कक्षमध्ये ३२ वटालाई सर्वसाधारणका निम्ति खुला गरिएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन भएको लकडाउनयता सर्वसाधारणलाई अवलोकन बन्द गरिएको थियो ।

सरकारले गठन गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (२०७६) गठन भएपछि यसरी पहल भएको हो । समितिले बृहत योजनासहित निर्माण कार्य निरन्तर राखेको र तत्काल स्वास्थ्य मापदण्ड कायम गरी सर्वसाधारणलाई अवलोकन खुला गरिएको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

‘दरबार संग्रहालयका ५२ कक्षामध्ये ३२ वटा सर्वसाधारणलाई अवलोकन खुला गरेको छौं,’ उनले भने, ‘लकडाउनयता हामीले राजा वीरेन्द्र निवास श्रीसदनलाई व्यवस्थित गर्न सक्यौं । राजा परिवारले प्रयोग गरेका हवाई जहाज, हेलिकोप्टरसमेत यही परिसरमा व्यवस्थापन गरेका छौं । सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड कायम गराएर अवलोकन गराइने छ ।’

मन्त्री भट्टराईले राजा वीरेन्द्र निवास उद्घाटन कार्य आफ्नो जीवनको रोमान्चक क्षण भएका बताए । ‘राजतन्त्रको अन्त्यका लागि संघर्ष गरियो र आज त्यही राजतन्त्रको इतिहास जोगाउन आइपुगेको छु,’ इतिहास कसैको दुष्मन नहुने उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘राजतन्त्रको अन्त्य गर्नेले इतिहासको संरक्षण गर्नु प्रतिकात्मक गौरव हो । राजा वीरेन्द्रको निवास आजबाट खुला गरिनु महत्वपूर्ण घटना हो । पृथ्वीनारायण शाहको योगदानको संरक्षण हुनेछ ।’

तीन तले श्रीसदन वीरेन्द्रको परिवारले उपभोग गरेको कक्षहरू, सामग्रीहरू रहेका छन् । राजपरिवारले औपचारिक समारोहमा प्रयोग गरेका कारहरू, जर्मन चान्सलर हिटलरले पूर्वराजा त्रिभुवनलाई उपहार दिएको ‘त्रिभुवन कार’समेत सार्वजनिक गरिएका छन् ।

मन्त्री भट्टराईले शाहवंशको साढे दुई सय वर्ष शासन इतिहासलाई एकीकृत ढंगले नारायणहिटी दरबार संग्रहालयमा समेट्न निर्देशन दिएका छन् । अन्य दरबार तथा संग्रहालयमा रहेका शाहकालीन भौतिक वस्तुहरूसमेत नारायणहिटी दरबार संग्रहालयमा राखिने जनाइएको छ । २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायतको ज्यान गएको थियो । सो घटनाको १९ वर्षपछि नारायणहिटी दरबारको अग्रभागको प्रवेशद्वार रंगरोगन र जीर्णोद्वार कार्य भएको छ ।

दरबार परिसरमा रहेका राजा र राजपरिवारसँग सम्बन्धित विभिन्न स्थान रहेका छन् । धार्मिक आस्थाका देवीदेवताहरू छन् । नेपाली सेनाले राजपरिवारले प्रयोग गरेका एभ्रो विमान र हेलिकोप्टर श्रीसदन परिसर राखिएका छन् ।

मन्त्रालयका सचिव यादव कोइरालाले नारायणहिटी दरबार शाहवंशको अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गरिने बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय रहेको छ । मध्य भागमा महेन्द्र मन्जिलमा मुमा बडामहारानी रत्न बस्दै आएकी छिन् । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग रहेको छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ असार १ गते उक्त संग्रहालयको उद्घाटन गरेका थिए । त्यही वर्ष फागुन १५ गते अर्का प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त संग्रहालय सर्वसाधारणका निम्ति प्रदर्शनीको शुभारम्भ गरेका थिए ।

दरबारभित्र विभिन्न बैठक कोठाहरू, राजारानीका शयन कक्षहरू, राजकीय पाहनाहरूले प्रयोग गर्ने शयन कक्षहरू, भान्छा कोठा, भोजन कोठा लगायत ५२ वटा कोठा रहेका छन् । तीमध्ये ३१ वटा कक्षलाई प्रदर्शनीमा ल्याइएका थिए । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ भदौ २९ गते श्रीपेच, राजदण्ड कक्ष सर्वसाधारणका निम्ति खुला गरेका थिए । भदौ ७ गते आइबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने छन् ।

प्रकाशित : मंसिर ६, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?