कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

कोरोना छल्दै छठको तयारी

प्रदेश २ का आठै जिल्लाका प्रशासन कार्यालयले छठ पर्व सकभर घरमै मनाउन अपिल गरे पनि घाटहरु सजाउने क्रम जारी छ ।

जनकपुर, वीरगन्ज — घरबाट तयारी गरेर नजिकका खोला र पोखरीमा सूर्यलाई अर्घ दिएर मानिने छठका मुख्य विधि घरभित्र गर्न कसैगरी सहज हुँदैन । कोरोना संक्रमणको बढेको असरबीच सरकारले सार्वजनिक स्थानमा भीड नगरी घरमै पूजा गर्न आग्रह गरेको छ । तर व्रतालु र तिनका परिवारको घरमै छठ मान्ने तयारी देखिँदैन । 

कोरोना छल्दै छठको तयारी

जलाशयलाई सफा गर्ने, सजाउने र छठको गीत–संगीत बजाउने क्रम सुरु भइसकेको छ । छठ पूजा गर्ने घाटमा सर्वसाधारणको थामिनसक्नु भीड लाग्छ । यही भएर प्रदेश २ का आठै जिल्लाका प्रशासन कार्यालयले ‘छठ पर्व सकभर घरमै मनाउन’ अपिल जारी गरे । कोरोना संक्रमणको जोखिमबीच प्रशासनको अपिल बेवास्ता गर्दै घाटहरू सजाउने क्रम जारी छ । छठका लागि आकर्षक सजावटका कारण चर्चित रहेको जनकपुरधामका पोखरी–तलाउलाई पनि झकिझकाउ बनाउन कालीगढ खटिएका छन् ।

गंगासागर, धनुषा सागर, अरगंजा पोखरी, बिडालसर पोखरीमा घाटमा पन्डाल लगाउने काम थालिएको छ । घरमै छठ मनाउन अपिल जारी गरे पनि स्थानीय प्रशासनले छठ पर्वका लागि पोखरी–तलाउमा भइरहेको तयारी भने रोक्न सकेको छैन । धनुषाका एक सुरक्षा अधिकारीका अनुसार धार्मिक आस्थासँग जोडिएको पर्व भएकाले कडीकडाउ गर्न समस्या छ ।

गंगासागरको छठ घाटमा भने कोरोना संक्रमणबाट जोगिन मास्क र सेनिटाइजरलाई अनिवार्य गरिएको छ । अन्य पोखरी र तलाउमा पनि कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सतर्कतालाई ध्यान दिन छठ पूजा समितिहरूले सर्वसाधारणलाई आग्रह गरेका छन् । गंगासागर छठ पूजा समितिका संयोजक सोनु निधिले छठको दिन घाटमा आउन सबैलाई अनिवार्य मास्क लगाउन र सेनिटाइज गर्ने बन्दोबस्त मिलाएको बताए । ‘छठको साँझ र बिहानको अर्घको दिन पोखरी–तलाउमा भीड बढ्ने नै छ,’ उनले भने, ‘छठ हेर्न नआउनुस् भन्न मिल्दैन । आउनेलाई सामाजिक दूरी, मास्क र सेनिटाइजचाहिँ गर्नुपर्छ भनेर सम्झाउनेछौं ।’

छठ पर्वको तयारी भइरहेको देखे पनि प्रहरी–प्रशासनले रोकछेक गरेको छैन । घरमै मनाउन अपिल गरेका जिल्ला प्रशासन कार्यालयहरू भने तयारीबारे बोल्न चाहिरहेका छैनन् । जिल्ला प्रशासन कार्यालय, धनुषाका सूचना अधिकारी यमनसुन्दर श्रेष्ठले अपिल जारी गरेर छठ पर्व घरमै मनाउन भनिए पनि त्यसको कार्यान्वयन भए/नभएको छठ पर्वकै दिन थाहा हुने बताए । ‘सर्वसाधारणलाई कोरोना महामारीका बेला सकभर घरमै पर्व मनाउन अपिल गरिएको छ,’ उनले भने, ‘स्वास्थ्यको ख्याल गरेर घरमै छठपर्व मनाउँदा वेश होला ।’ छठ पर्वको धार्मिक विधि सुरु भएको छ । बुधबार ‘नहायखाय’ विधिअन्तर्गत व्रतालुले स्नान गररेपछि आफैंले पकाएको सात्विक भोजन गर्छन् । नहायखायको दिन लौकाको तरकारीसँग भात खाने चलन छ ।

बिहीबार व्रतालुले रोटी खाने विधि ‘खरना’ पर्छ । बिहीबार साँझ सक्खरमा पकाएको खीर र रोटी खाएर उनीहरू शुक्रबार दिनभरि भोकै बसी साँझ घर नजिकको घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । पुनः घाटमा पूजाअर्चना गर्नेछन् । कोरोना कहरबीच पनि छठ पर्वको उत्साह र उमंगमा कमी देखिँदैन ।

वीरगन्जमा छठ पर्वको उल्लास बेग्लै हुने गरेको छ । घरका सदस्य व्रतालुलाई परिवारका सबैले सघाउने छठमा सरसफाइको विशेष ध्यान राखिन्छ । आपसमा बाँडेर काम गरिन्छ । बुधबार छठका लागि किनमेल गर्नेको बजारमा घुइँचो रह्यो । कोरोना संक्रमणको सतर्कताका कारण यस पटक वीरगन्जमा घाटहरूमा अघिल्ला वर्षहरूको जस्तो भव्य सजावट नगरे पनि व्रतालुको सहजताका लागि सरसफाइ र बत्तीको व्यवस्था मिलाइएको छ । रोजगारी तथा अन्य प्रयोजनले स्वदेश तथा विदेशमा रहेकाहरू छठ पर्व मान्नका लागि क्रमशः घर फर्किन थालेका छन् ।

वीरगन्ज तेजारथ टोलकी मन्जु देवीले बुधबार र बिहीबार गरी घरघरमा छठ पूजाको प्रसाद पकाउन प्रयोग गरिने पिठो तयार पार्न गहुँ सुकाउने काममा व्रतालुहरू व्यस्त रहको बताइन् । प्रसाद पकाइने गहुँलाई पशुपन्छीसमेतले जुठो हालेर बिटुल्याउनु हुन्न भन्ने मान्यता छ । त्यसैले हेरालु राखेर गहुँ सुकाइन्छ । व्रतालुले पानीमा उभिएर भक्तिपूर्वक पूजा गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई नरिवल, गंगाजललगायत अर्घ दिन्छन् । यो व्रत तथा यसका विधि पूरा गर्न व्रतालुलाई उनीहरूका परिवारका सदस्यले नै सघाउँछन् । यो पर्वमा व्रतालुहरूले पूजाअर्चना गर्न पुरोहितको मद्दत लिँदैनन् ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले छठ पर्व सूर्य आराधना गरेर मनाइन्छ । छठलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठीमइया भनेर पूजा पनि भनिन्छ । जुनसुकै जाति र धर्मका मान्छेले मनाउन सकिने यो पर्व आर्थिक अभाव रहेकाहरूले भिक्षा मागेर पनि मनाउँछन् । दलित र गैरदलित एउटै थलोमा बसेर श्रद्धापूर्वक यो पर्व मान्छन् ।

प्रकाशित : मंसिर ४, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?