कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीसी क्यामेराको निगरानीमा बाघ र गैंडा

चितवन निकुञ्जमा ९३ वटा वयष्क बाघ रहेकोमा बर्दियामा ८७ वटा मात्र छन् । तर, छिटो र सहज तरिकाले देख्न सकिने भएकाले बाघ हेर्न चाहने पर्यटकहरू बढीजसो बर्दिया नै आउने गरेका छन् ।

ठाकुरद्वारा (बर्दिया) — बर्दिया राष्ट्रिय निकुञ्जले पाटे बाघ र एकसिंगे गैंडाको ओहोरदोहोर बढ्ता हुने क्षेत्रमा सीसी क्यामेरा जडान गरेर तिनको निगरानी बढाएको छ । केही वर्षयता बाघ हेर्न स्वदेशी र विदेशी पर्यटक ओइरिन थालेपछि निकुञ्जले बाघको चोरीसिकार रोक्न नयाँ प्रविधिको प्रयोगमा जोड दिएको हो ।

सीसी क्यामेराको निगरानीमा बाघ र गैंडा

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) विष्णुप्रसाद श्रेष्ठले बाघ र गैंडाको चोरीसिकार हुने सम्भावित स्थान र तिनको ओहोरदोहोर हुने गौंडा, घाँसे मैदान र नदीआसपास सीसी क्यामेरा र स्पाई (पोचर) क्यामेरा जडान गरिएको बताए । ‘बाघ र गैंडाको निगरानीका लागि जडान गरिएका नयाँ प्रविधि प्रभावकारी देखिएका छन्,’ उनले कान्तिपुरसित भने, ‘सँगै सेना र निकुञ्जका कर्मचारीको गस्ती र स्विप अपरेसन पनि जारी छ ।’ निकुञ्ज, सेना र स्थानीय बासिन्दाको पहलकै कारण बाघको संख्या बढेकाले तिनको संरक्षणमा पनि तीनवटै पक्ष सक्रिय छन् ।

९६८ वर्गकिमी क्षेत्रमा फैलिएको बर्दिया निकुञ्जका विभिन्न ६४ स्थानमा सीसी र ८ स्थानमा स्पाई (पोचर) क्यामेरा जडान गरिएको हो । यसका लागि वन्यजन्तु संरक्षणमा सहयोगी डब्लूडब्लूएफ नेपालले सहयोग गरेको छ । दुई वर्षअघिको गणनाअनुसार बर्दियामा ८७ वयष्क बाघ र २९ वटा गैंडा छन् । ९३ वटा वयष्क बाघ रहेको चितवन निकुञ्जमा भन्दा बर्दियामा बाघ देख्न सहज छ । बर्दिया बाघको दोस्रो वासस्थलसमेत हो । जडान गरिएका क्यामेराको निकुञ्ज प्रशासन र संरक्षणार्थ तैनाथ नेपाली सेनाले संयुक्त रूपमा अपरेसन गरेका छन् ।

‘सीसी क्यामेरामा शंकास्पद मान्छे निकुञ्ज प्रवेश गरेको देखिनेबित्तिकै नजिकैको पोस्टलाई खबर हुन्छ,’ श्रेष्ठले भने, ‘तत्कालै सम्बन्धित लोकेसनमा गएर मान्छे समातिन्छ र छानबिन प्रक्रिया अघि बढाइन्छ ।’ निकुञ्जले बाघ, गैंडालगायत वन्यजन्तुको चोरीसिकार शून्य बनाउन सेना र समुदायसँग छलफलसमेत तीव्र पारेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्र आचार्यले वन्यजन्तुको चोरीसिकार रोक्न ‘चोरीसिकार नियन्त्रण युवा अभियान सञ्जाल’ लाई सक्रिय बनाइएको बताए । ‘यहाँको पर्यटनको मुख्य आधार नै वन्यजन्तु हुन्,’ उनले भने, ‘तिनलाई जोगाउन सकिए मात्र लाभ हासिल गर्न सकिन्छ भन्ने कुरा जनतालाई बुझाइरहेका छौं, जनता पनि गलत गतिविधि रोक्न सक्रिय छन् ।’

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत असीम थापाका अनुसार बस्ती र निकुञ्ज जोडिएको नाका, गौंडा, वन्यजन्तुले पानी खाने र आहाल बस्ने पानीका घोल र वन्यजन्तुको आहार उपलब्ध हुने घाँसे मैदानमा त्यस्ता क्यामेरा बढी जोडिएका छन् । ‘नाकाहरूमा सीसी क्यामेरा जोडिएकाले स्थानीय बासिन्दा पहिलाजस्तो जथाभावी निकुञ्ज प्रवेश गर्दैनन,’ उनले भने, ‘फन्दामा परिन्छ भन्ने चेतनाको विकास भएको छ ।’ निकुञ्जमा प्रधान कार्यालयसहित निकुञ्जको निगरानी गर्न ३६ वटा पोस्ट खडा गरिएका छन् । तीमध्ये चारवटा पोस्टमा सेना छैनन् । अरू सबैमा सेना र निकुञ्जका कर्मचारीका संयुक्त पोस्ट छन् । गस्ती पनि सेना र निकुञ्जको टोलीले संयुक्त रूपमा गर्छ । सुर्खेतका तेलपानी, तरंगा र लेखपराजुल तथा बर्दियाको मोतीपुर पोस्टमा भने निकुञ्जको टोली मात्र छ ।

सूचना अधिकारी थापाले नाइटभिजन क्यामेरा जडान गर्न सकिए निगरानीलाई थप प्रभावकारी बनाउन सकिने बताए । ‘त्यसबारे संरक्षण पार्टनरहरूसँग कुरा भइरहेको छ’, उनले भने । लम्कौली फाँटानजिक केही दिनअघि चित्तललाई थापेको पासोमा परेर एक बाघ मरेको थियो । त्यस्तै २०७५ सालमा गेरुवा क्षेत्रमा विद्युतीय धरापमा एउटा बाघ मारिएको पाइएको थियो ।

बाघ हेर्न आउने पर्यटक बढाउन निकुञ्जले ‘ब्रान्डिङ’को काम पनि अघि बढाएको चिफ वार्डेन श्रेष्ठले जनाए । ‘सहजै बाघ देख्न सकिने स्थानको पहिचान र अब्जरभेसन साइट विकास गर्ने काममा ध्यान दिएका छौं,’ उनले भने, ‘यहाँ आउने सबैले बाघ देखून् भन्ने हाम्रो उद्देश्य हो, त्यसैलाई मध्यनजर गरेर हामी काम गर्दै छौं ।’

सहजै बाघ देख्न सकिने निकुञ्जको तीनकुने क्षेत्रमा निकुञ्जले केही समयअघि मचान निर्माण गरेको छ । उक्त मचानबाट एकैपटक चार–पाँचवटा बाघसमेत देख्न सकिन्छ । बाघ देख्न सकिने अन्य स्थानमा पनि त्यस्ता मचान निर्माण, बाघको वासस्थल विस्तार, आहार प्रजातिका लागि घाँसे मैदान र पानीका घोल बनाउन निकुञ्जले जोड दिएको छ । निकुञ्जको कोर एरिया र मध्यवर्ती क्षेत्रभित्र १ सय ७३ वटा पोखरी छन् । पानी कम भएको क्षेत्रमा निकुञ्जले सोलार वाटर पम्पिङ सिस्टमबाट ३२ वटा पोखरीमा पानी जम्मा गरेको छ । बाघ, गैंडा, हात्ती तथा बाघको आहार प्रजाति चित्तललगायतका लागि पानीका घोल अत्यावश्यक हुन्छ । आर्थिक वर्ष २०७५/७६ मा बर्दिया निकुञ्जमा करिब २५ हजार ५ सय पर्यटक भित्रिएका थिए ।

प्रकाशित : आश्विन २७, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?