कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनास्लु आधार शिविरबाट झन्डै २ हजार किलो फोहोर संकलन

कान्तिपुर संवाददाता

काठमाडौँ — मनास्लु हिमालको आधार शिविर क्षेत्रबाट करिब २ हजार किलो फोहोर संकलन गरिएको छ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको आरोहण टोलीमा रहेका नेपाली सदस्यहरुले आधार शिविरमा तीन दिन गरेको सरसफाइमा झन्डै २ हजार किलो फोहोर संकलन गरेका हुन् ।

मनास्लु आधार शिविरबाट झन्डै २ हजार किलो फोहोर संकलन

असोज १६, १७ र १८ गते उक्त आरोहण टोलीमा रहेका नेपालीहरुले आधारशिविर क्षेत्रमा सरसफाइ गरी फोहोर संकलन गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङमा शेर्पाले जानकारी दिए । २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राखेका कामीरिता शेर्पासहित आरोहण दलमा सहभागी गाइड, किचेन टोली गरी सय जनाले आधार मनास्लु आधार शिविरको सरसफाइ गरेका थिए ।

गत सेप्टेम्बर १८ मा नेपाल आएको बहराइनका राजकुमारसहितको १८ जनाको आरोहण टोलीले नेपाली गाइडहरुको सहयोगमा अक्टोबर १ मा सोलुखुम्बुस्थित लोबुचे हिमाल आरोहण गरिसकेको छ । उक्त आरोहण टोलीले अक्टोबर १६ मा मनास्लु हिमाल आरोहण गर्ने योजना रहेको र त्यहीअनुसार तयारी भइरहेको पनि सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङ्मा शेर्पाले जानकारी दिए ।

त्यसैको तयारीस्वरुप शुक्रबार मनास्लु आधार शिविरमा पूजा सम्पन्न भएको पनि सेभेन समिट ट्रेक्सले जनाएको छ ।

शुक्रबार मनास्लु आधार शिविरमा गरिएको पूजा तस्बिर : सेभेन समिट ट्रेक्स

राजकुमार खलिफासहितको टोली मंगलबार हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिका–१ सामागाउँ पुगेको थियो । एक रात सामागाउँमै बसेको उक्त टोली बुधबार आधार शिविरतर्फ लागेको थियो । आरोहण दलका अन्य सहयोगी भने त्यसअघि नै आधार शिविर पुगेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २४, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?