कस्तो छ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका ?- समाचार - कान्तिपुर समाचार

कस्तो छ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका ?

दुर्गालाल केसी

दाङ — देउखुरी दाङको एउटा छुट्टै उपत्यका हो । पहिले दाङ र देउखुरी जोडेर जिल्लाको नाम लिने गरिन्थ्यो । अहिले पनि जिल्ला अदालतको नाम दाङ देउखुरी जिल्ला अदालत छ । देउखुरीवासीले घोराही, तुलसीपुर क्षेत्रलाई दाङ उपत्यका भनेर चिन्छन् ।

घोराही जाँदा दाङ जाने भन्ने चलन छ । देउखुरी उपत्यकामा लमही नगरपालिकाका साथै राजपुर, गढवा र राप्ती गाउँपालिका पर्छन् । अहिले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरिएको देउखुरी उपत्यका राप्ती नदीको दुवैतिर फैलिएको छ ।

राप्ती नदीले चर्चेको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका साथै अर्घाखाँचीको शीतगंगा नगर क्षेत्रमा राजधानी भनिएकाले भालुबाङ क्षेत्रलाई केन्द्र मानेर स्थापना हुने आकलन गरिएको छ । भालुबाङको अधिकांश क्षेत्र राष्ट्रिय वनको जग्गामा विस्तार भएको बजार हो । अहिले पनि यहाँका बासिन्दाले नगर विकास समितिलाई कर तिरेका आधारमा आफ्नो सम्पत्तिको उपभोग गरिरहेका छन् । जग्गा धनीपुर्जाका लागि पटकपटक प्रयास गरे पनि भालुबाङ बजार व्यक्तिका नाममा दर्ता हुन सकेको छैन ।

देउखुरी उपत्यका र भालुबाङ क्षेत्र रुकुम, रोल्पाबाट नुन बोक्दा पैदल हिँड्ने गरेको क्षेत्र हो । देउखुरी उपत्यका हुँदै कोइलाबास, कपिलवस्तु र बुटवल जाने गरिन्थ्यो । पूर्वपश्चिम राजमार्ग निर्माण भएपछि

भालुबाङ बजारका रूपमा स्थापित भएको हो । अधिकांश राजमार्ग निर्माणका क्रममा काम गर्न आएका विभिन्न ठाउँका मजदुर भालुबाङ क्षेत्रमा बसोबास गरेका थिए । राप्ती नदीले ओगटेको क्षेत्र प्रशस्त भएकाले नदी तटबन्धन गरी पर्याप्त जग्गा निकाल्न सक्ने सम्भावना देखिन्छ ।

देउखुरीबाट दाङ र कपिलवस्तुका भारतीय सीमा क्षेत्र नजिक पर्छन् । यसले राजधानीलाई व्यावसायिक रूपमा पनि छिमेकसँग जोड्न सघाउने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । दाङ, कपिलवस्तु, अर्घाखाँची, पूर्वी रुकुम, रोल्पा र प्यूठान क्षेत्रको मिलनबिन्दु भएकाले देउखुरी सबैको केन्द्र परेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २१, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

ज्वाइँलाई छोरा भनेर नागरिकता दिलाउँदा दुई जना पक्राउ

विप्लव महर्जन

सल्यान — ज्वाइँलाई छोरा भनेर  फर्जी नागरिकता बनाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ  ।

छत्रेश्वरी गाउँपालिका–७ जिताठान बस्ने बर्ष ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका–७ दाङ घर भई हाल जिताठान बस्दै आएका बर्ष २३ का समिर मियाँ भन्ने ईमाम बक्स मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

छत्रेश्वरी गाउँपालिका ७ वडा कार्यालयको सिफारिसमा २०७५ भदौ २४ गते मुस्ताज मियाँका छोरा भन्दै ज्वाइँ समिर मियाँले नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पक्राउमा परेका दुबै जनालाई नेपाल नागरिकता ऐन २०६४ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

दाङ घर भएका समिर मियाँले बाबु बिसमुल्ला मियाँलाई पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेकाले सल्यान आएर ससुरालाई बुवा बनाएर नागरिकता लिन परेको बयान दिएको प्रहरी निरीक्षक ओलीले बताए । पक्राउ गरेका दुवैलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको छ ।

प्रकाशित : आश्विन २१, २०७७ ०८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×