कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालाको फैसला पुनरावलोकन हुने 

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको कुटपिट र हत्यामा संलग्न नभएको अर्थ लगाउँदै तत्कालीन ब्रिगेड कमाण्डर गोविन्दबहादुर बटालालाई सफाई दिने आफ्नै संयुक्त इजलासको फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । 
कृष्ण ज्ञवाली

काठमाडौँ — कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवीत’लाई सफाई दिने आफ्नै फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरु दिपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले बिहीबार पुनरावलोकनका लागि ‘निस्सा हुने’ आदेश गरेको हो । 

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालाको फैसला पुनरावलोकन हुने 

सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयले तीन साताअघि सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको हो । अदालती भाषामा निस्सा हुने अनुमति भएपछि मुद्दाको फेरि सुनुवाई भई यसअघिको फैसला सही थियो कि थिएन भनी न्यायीक परीक्षण हुनेछ ।

सर्वोच्च अदालतको फैसलामा नजीरको उल्लंघन भए वा मुद्दा फैसलापछि महत्वपूर्ण प्रमाण भेटिए चित्त नबुझ्ने पक्षले पुनरावलोकनको निवेदन दिन पाउँछ । यही व्यवस्था अनुसार महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावलोकनको निवेदन दिएको थियो ।

हत्यामा प्रत्यक्ष संलग्न नभएको भन्ने आधारमा सर्वोच्च अदालतले बटालालाई सफाई दिएको थियो । उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न थिए । फैसलामा न्यायाधीशहरु तेजबहादुर केसी र टंकबहादुर मोक्तान संलग्न थिए । सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई घटनामा संलग्न नभएको भन्दै सफाई दिएको थियो ।

अर्का आरोपित संकल्प भनिने अर्जुन कार्कीलाई जिल्ला र पुनरावेदन अदालतकै फैसला सदर गरी २० रुपैयाँ जरिवाना गरेको हो । बटालाले यसअघि नै ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन् । तर पछिल्लो फैसलाले उनलाई ‘नैतिक पतन’ हुनबाट जोगाएको थियो ।

यो मुद्दामा जोडिएका ३ जना अहिले पनि फरार भएकाले मुद्दा मुल्तवीमा राखिएको छ । सर्वोच्च अदालतले २०६८ साल असार ६ गतेको घटनामा रामहरि श्रेष्ठको अपहरणदेखि अपराधको सिलसिला सुरु भएको भनी त्यसमा संलग्नहरु कसुरदार हुने व्याख्या गरेको थियो । त्यो व्याख्या विपरित न्यायाधीशद्वय केसी र मोक्तानको इजलासले बटालालाई सफाई दिएको थियो ।

सम्बन्धित समाचार :

कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपी बटालालाई सफाइ

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालाको फैसलामा सरकार असन्तुष्ट

प्रकाशित : आश्विन १५, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?