बलात्कारीलाई कुनै बहानामा छुट नदिन र मिलापत्र गराउनेलाई कारबाही गर्न सरकारलाई निर्देशन - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारीलाई कुनै बहानामा छुट नदिन र मिलापत्र गराउनेलाई कारबाही गर्न सरकारलाई निर्देशन 

कान्तिपुर संवाददाता

काठमाडौँ — राज्यव्यवस्था तथा सुशासन समितिले बलात्कारमा संलग्न  व्यक्तिहरूलाई कुनै पनि बहानामा छुट नदिन र अनुसन्धान तथा कारबाही नगर्ने प्रहरी अधिकारीलाई पनि कानुनको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै, बलात्कारका घटनालाई मिलापत्र गराउने व्यक्ति तथा निकायहरूलाई बलात्कारको मतियारको रूपमा कारबाही गर्न एवं त्यसरी कारबाही गर्ने कानुनी व्यवस्था गर्नका लागि सरकारलाई समितिले निर्देशन दिएको छ ।

बझाङकी सम्झना कामी र प्रदेश २ का विभिन्न जिल्लामा भएका बलात्कारका घटनाको बारेमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक शैलेश थापासँग छलफल गरेपछि यी निर्देशन दिएको हो ।

'बलात्कारीलाई निर्ममतापूर्वक सजाय नदिने हो भने घटनामा कमी आउँदैन । लिंग छेदन वा मृत्युदण्ड गर्ने गरी नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा संशोधन गर्न सांसद र जनतहबाट प्रश्न उठिरहेका छन्,' समिति सभापति शशि श्रेष्ठले भनिन् ।

मुलुकमा बलात्कारीलाई कारबाही गर्नका लागि कानुन पर्याप्त भए पनि कार्यान्वयन नभएको सभापति श्रेष्ठको भनाइ थियो । 'भएका कानुनहरूको कुनै पनि दबाब, बहानाबाजी वा मनपरी नगरी दृढतापूवर्क कार्यान्वयन गर्नुपर्छ । आवश्यकताअनुसार कानुनहरूको पुनरावलोकन पनि गर्न सरकारलाई समिति निर्देशन दिन्छ,' उनले भनिन् ।

पछिल्लो समय बलात्कारका घटनामा मेलमिलाप गरेका घटना सार्वनजिक भइरहेका बेला समितिले त्यस्ता कार्यमा संलग्नहरूलाई कारबाही गर्न सुझाव दिएको छ । 'बलात्कारको घटनामा मेलमिलापन गर्ने र मध्यतस्तताको भूमिका खेल्ने जोकोहीलाई बलात्कार घटनाको मतियारकोरूपमा कारबाही गर्ने,' समितिको निर्देशनमा भनिएको छ । समितिले त्यसका लागि कानुनी अभाव भएमा कानुन बनाएर भए पनि कारबाही गर्नका लागि सरकारलाई निर्देशन दिएको हो ।

पीडकलाई तत्काल कारबाही गर्ने र पीडितलाई न्यायसहितको क्षतिपूर्तिसहित शिक्षा, स्वास्थ्य बसोबासको व्यवस्था मिलाउन समितिले सरकारलाई भनेको छ ।

बलात्कार भएको प्राविधिक परीक्षण गर्ने प्रविधि प्रत्येक जिल्लामा पुर्‍याउनुपर्ने, प्रहरी संगठनलाई जिम्मेवार र जवाफदेही बनाउने, सामाजिक र सुरक्षा प्रणालीमा सुधार गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । उजुरी नलिने प्रहरी अधिकारीलाई कडा कारबाहीका लागि पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन १४, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्

महाकालीपारिको ‘कारगिल टोल’

दोधारा–चाँदनीबाट कारगिलमा भरियाको काम गर्न जाने अत्यधिक हुन्थे । इमानदार र श्रमशील भएकाले भारतीय सेनाको विशेष रोजाइमा नेपाली नै पर्थे ।
भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरको महाकाली नगरपालिका–९ का शंकर केसीसहित तीन जना कारगिलको द्रासस्थित भारतीय सेनाको पोस्टछेउमै बसेका थिए । अचानक पाकिस्तानी सेनाले प्रहार गरेको तोपको गोला आएर उनीहरू बसेभन्दा केही पर खस्यो । कान नजिकैबाट गोला गएपछि केसीको होसहवास उड्यो । 

यो सन् १९९९ को कुरा हो । जतिबेला कारगिलमा भारत–पाकिस्तानबीच युद्ध चलिरहेको थियो । केसी भर्खर भरियाको काम गर्न गाउँले साथीभाइसँगै कारगिल पुगेका थिए । त्यहाँ पुगेको तीन/चार महिनामै नजिकैबाट गोला झरेको देखेको उनी सम्झन्छन् । ‘त्यतिबेलाको घटना सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ,’ उनले भने, ‘आठ वर्ष कारगिलमा बस्दा यस्ता धेरै घटना देखेको छु ।’

उनी कारगिलमा भारतीय सेनाको रासन र बन्दोबस्तीका सामान ढुवानी गर्ने भरिया थिए । सेनाकै पोस्टमा बसेर खाद्यान्नदेखि बम, गोलाहरू बोक्नुपर्थ्यो । एकातिर बम पड्किएको आवाज, अर्कातिर हिउँ पन्छाउँदै भारी बोकेर हिँड्नुपर्ने । निकै दुःख हुन्थ्यो । तैपनि आम्दानी राम्रो भएकाले त्यहाँ नेपालीका लागि भरियाको काम आकर्षक थियो । ‘एक दिनमा मध्यम खालको भारी बोकेर हजार/बाह्र सय कमाउन सकिन्थ्यो,’ केसीले भने ।

कञ्चनपुरको महाकालीपारि रहेको दोधारा–चाँदनी क्षेत्रबाट कारगिलमा भरियाको काम गर्न जानेको संख्या अत्यधिक छ । भारत स्वतन्त्र भएर भारतबाट पाकिस्तान अलग राष्ट्र बनेदेखि नै यहाँबाट कारगिल जानेको संख्या ठूलो थियो । दोधारा–चाँदनीबाट मात्रै ३/४ सय जना भरियाको काम गर्न जाने गरेको शंकर बताउँछन् । उनको गाउँबाट मात्रै ३०/४० जनाभन्दा बढी गएका थिए । कारगिल जानेहरूले त्यहाँको युद्धलाई रोमाञ्जक तरिकाले गाउँलेलाई सुनाउँथे ।

बिस्तारै उनको गाउँ कारगिल टोलका रूपमा चिनिन थाल्यो ।

दुई वर्ष कारगिलमा भरियाको काम गरेका दोधारा–चाँदनीकै दलबहादुर बोहोरा पनि त्यो समयको स्मरण गरिरहन्छन् । ‘युद्धस्थल भए पनि काम गर्न बानी परेका थियौं,’ उनी भन्छन्, ‘बम, गोला र फायरिङबीच भारी बोक्नुपर्थ्यो ।’ उनी सन् २००१ देखि दुई वर्ष कारगिलमा बसेका थिए । महिनामा २५/३० हजार भारु सहजै कमाउन सकिने उनले बताए ।

दोधाराकै ४८ वर्षीय शंकर जैसी भने १८ वर्षदेखि कारगिलमै छन् । दुई वर्ष भरियाको काम गरेका उनी यतिबेला कामदारको नाइके (मेठ) को काम गर्छन् । सेनालाई भरियाहरू दिने जिम्मा उनकै हो । ‘अहिले पनि मेरा ५०/६० जना कामदार पोस्टमा भरियाको काम गरिरहेका छन्,’ लकडाउनअघि घर फर्किएका महाकाली नगरपालिका–८ बझाङी टोलका जैसीले भने, ‘अहिले फोन सम्पर्कबाटै काम गरिरहेको छु ।’ उनले अहिले पनि सेनाले मागेअनुसार कामदार पठाइदिने गरेका छन् ।

अहिले पनि लेह र लद्दाखदेखि कारगिलसम्म ठूलो संख्याका नेपालीले भारतीय सेनाको भरियाको काम गरिरहेको उनले बताए । नेपालीहरू इमानदार र श्रमशील भएकाले भारतीय सेनाले रुचाउने गरेको उनको भनाइ छ । उनका अनुसार पोस्टहरूमा सुरक्षाका दृष्टिकोणले समेत नेपालीहरूले सूचना नचुहाउने भएकाले भारतीय सेनाको रोजाइमा नेपाली परेका हुन् । अहिले त्यहाँ कर्णाली प्रदेशको रोल्पा, रुकुम र कालीकोटलगायत जिल्लाका भरिया बढी भएको जैसीले जानकारी दिए ।

भरियाको काम गर्न प्रायः फागुन–चैतमा कारगिल जानेहरू र असोज–कात्तिकमा हिउँ पर्न थालेपछि घर फर्किने गर्छन् । कतिपय बाह्रै महिना उतै बस्छन् । पछिल्लो समय भरियाको काम गर्न आधार कार्ड माग्न थालेपछि कारगिल जाने संख्या घटेको छ । ज्याला बैंकमै जम्मा हुने र आधार कार्ड भएकाको मात्रै खाता खोल्न सकिने भएकाले समस्या भएको जैसी बताउँछन् । ‘आधार कार्ड नभएकालाई काममा राख्न बन्द गरेको छ,’ उनले भने, ‘स्थानीयले पनि बाहिरको कामदार ल्याउन नपाइने भन्दै विरोध गर्छन् ।’

दोधारा–चाँदनीकै जयबहादुर सुनार कारगिलको द्रासमा भरियाको काम गर्थे । २००२ सेप्टेम्बरको एक रात उनी एक पोस्टबाट भारी बोकेर अर्को पोस्ट जाँदै थिए । उनका अगाडि ८/१० जना अन्य भरिया थिए । उनकै अगाडि हिँडिरहेका एक भरियाको खुट्टा पाकिस्तानी सेनाले बिछ्याएको माइन बममा पर्‍यो । उनले खुट्टै गुमाउनुपर्‍यो । बमका छर्रा उछिट्टिएर सुनारको अनुहारमा लाग्यो । नाकको छेउमा दायाँपट्टि छर्रा लागेर रगत बग्न थाल्यो । उनी बेहोस भए । भरियाहरूले नै सेनालाई खबर गरेर एम्बुलेन्सबाट उनलाई अस्पताल पुर्‍याए । ‘दुई महिनासम्म सेनाकै अस्पतालमा बसेर उपचार गराएँ,’ उनले भने, ‘त्यसपछि घर फर्केर फेरि जाने आँट गरिनँ, परिवारले पनि जान दिएनन् ।’

भारतको कारगिलमा भरियाको काम गर्दा घाइते भएका दोधाराका जयबहादुर सुनार । तस्बिर : भवानी भट्ट/कान्तिपुर

दोधारा–चाँदनीकै बाबाथानका नरेन्द्र चन्द पनि २००२ देखि एक वर्ष कारगिलमा बसे । भरियाकै काम गर्ने उनी पनि खुट्टामा छर्रा लागेर घाइते भएपछि मात्रै घर फर्किएका हुन् । त्यसपछि उनले पनि करगिल जाने सोच बनाएनन् । कारगिलमा बिहान, दिउँसो र साँझ जुनसुकै बेला फायरिङ भइरहन्थ्यो । एक दिन बेलुकीपख आफ्नै पोस्टअगाडि बरन्डामा उनीसहित केही नेपाली भरिया घाम तापिरहेका थिए ।

उनीहरू बसेको दुई सय मिटर पर पाकिस्तानी सेनाले हानेको बमगोला खस्यो । सबैको भागाभाग चल्यो । छर्रा उनको शरीरभरि लाग्यो । ‘सेनाको अस्पतालमा अढाई महिना उपचारपछि निको भएर घर फर्किएँ,’ उनले भने, ‘त्यसपछि बुवाले गरिरहेको व्यापार व्यवसाय सुरु गरें, जान मन लागेन ।’ उनी अहिले बाबाथानमा तरकारी र फलफूलको व्यापार गर्छन् ।

प्रकाशित : आश्विन १४, २०७७ १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×