कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्डमा संयम गुमाउँदै प्रहरी

कोरोना महामारी नियन्त्रणका नाममा प्रहरीले गरिखाने वर्ग, शान्तिपूर्ण प्रदर्शन र हिरासतमा रहेका थुनुवामाथि अमानवीय व्यवहार देखाउन थालेको छ ।

काठमाडौँ — माइतीघर मण्डलामा असार १८ मा एक हुल युवाको भेला थियो । अधिकांशले एउटै रङको टिसर्ट लगाएका थिए । बोकेको ब्यानरमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो तस्बिर छेउमा लेखिएको थियो, ‘फेर्नु छ चाँडो देशको मुहार– हाम्रो भविष्य हाम्रो सरकार’ ।

फिल्डमा संयम गुमाउँदै प्रहरी

सत्तारूढ दलभित्र किचलो उत्कर्षमा पुगेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी नेतृत्वबाट हटाउनुपर्ने माग आन्तरिक बैठकमा उठेको थियो । यस विषयमा सचिवालयका बहुमत सदस्यहरू नै प्रधानमन्त्रीलाई हटाउन खुलेरै लागेका थिए ।

त्यसको विरोध र ओलीको पक्षमा सडकमा निकालिएको जुलुसको वरिपरि दर्जनौं प्रहरी उभिएका थिए । सडकको एक छेउ ढाकिने गरी भएको त्यो प्रदर्शनमा सहभागी आधाभन्दा धेरैले मास्क लगाएका थिएनन् । सुरक्षा पहरा दिएर उभिएका प्रहरीले नाराजुलुस हेरी मात्रै रहे । त्यतिबेला सरकारले नै लकडाउन जारी गरेर भेला–जुलुसमा निषेध गरेको थियो ।

हालसालै ४ वर्षे कार्यकाल सकिएर बाहिरिएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै माइतीघर–बबरमहल क्षेत्रमा गत बिहीबार निस्किएकाहरू एकैछिन पनि टिक्न पाएनन् । ब्यानर बोकेर उभिएकाहरूलाई प्रहरीले लछारपछार मात्रै गरेन, केहीलाई त कुटपिट नै गर्‍यो । नाराबाजी गर्नेमध्येका एक जनालाई लखेटी लखेटी प्रहरीले बुट र लाठी बजार्‍यो । खुलामञ्चमा भोकाहरूलाई खाना खुवाउने काममा खटिएको ‘हन्ड्रेड्स ग्रुप’ का अभियन्ता बब्लु गुप्तालाई प्रहरीले खेदीखेदी कुट्यो । प्रहरीले भोलिपल्ट शुक्रबार पनि बानेश्वरमा त्यस्तै व्यवहार देखायो । पत्रकार र बटुवामाथि पनि अभद्र व्यवहार प्रदर्शन गर्‍यो ।

शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले देखाएको रबैयाको धेरैले सामाजिक सञ्जालमार्फत तिखो टिप्पणी गरे । कांग्रेसका नेता एवं सांसद गगन थापाले ट्वीटरमा लेखे, ‘शान्तिपूर्ण प्रदर्शमा भएका शृंखलाबद्ध दमन निन्दनीय छ, यो ड्युटीका प्रहरीका आकस्मिक प्रतिक्रिया मात्र होइन, विमति राख्नेलाई तर्साउने सरकारी रबैया हो ।’ थापाले प्रहरी प्रधान कार्यालयको ट्वीटर ह्यान्डललाई मेन्सन गर्दै थपे, ‘आदेश पालना गर्ने नाममा संयम नगुमाउनुहोस् ।’

गत चैत ११ मा सुरु भएको लकडाउन र निषेधाज्ञाका अवधिमा प्रहरीद्वारा सार्वजनिक स्थानमा होस् वा हिरासतमा, अत्यधिक बल प्रयोग गरेका घटना सार्वजनिक भइरहेका छन् । यसबारे प्रहरी प्रधान कार्यालय जानकार नभएको होइन । पछिल्ला केही महिनामा भएका यस्ता घटनाबारे प्रहरीले आफ्नो ट्वीटर ह्यान्डलबाट पनि यस्ता घटनामाथि आफूहरू गम्भीर भएको र अनुसन्धान सुरु गरेको भनाइ पोस्ट गरिरहेको देखिन्छ । तर व्यवहार फेरिएको छैन । गत बिहीबारको माइतीघरको घटनालाई लिएर प्रश्न तेर्सिएपछि प्रहरी प्रधान कार्यालयले ट्वीटरमार्फत यस विषयमा आफ्नो ध्यानार्कषण भएको र ती घटनाको छानबिनको जिम्मा महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई दिइएको सार्वजनिक गरेको थियो ।

धेरै घण्टा काममा लदाउने, महिनौंसम्म बिदा नदिने र सरकारबाट उचित प्रोत्साहन पनि नपाउने अवस्थाले प्रहरीमा तनाव बढेको हुन सक्छ । त्यसको असर सार्वजनिक स्थानमा प्रदर्शन हुने व्यवहारमा देखिन्छ । – हेमन्त मल्ल, पूर्वडीआईजी

कोरोना संक्रमण नियन्त्रणका नाममा फुटपाथमा तरकारी र फलफूल बेच्नेमाथि प्रहरीले अमानवीय व्यवहार गरेका अन्य दुई भिडियो पनि भदौको मध्यमा सामाजिक सञ्जालमार्फत सार्वजनिक भए । एउटामा चाबहिलमा ठेलामा तरकारी बेचिरहेकी महिलाले प्रहरीबाट दुर्व्यवहार भएपछि रुँदै आफ्नो पीडा व्यक्त गरेको देखिन्छ । अर्कोमा मधेसको कुनै जिल्लामा फलफूल बेच्ने मानिसलाई लछारपछार पार्दै पक्रेर गाडीमा चढाएको दृश्य थियो ।

सामजिक सञ्जालमा चर्को आलोचना भएपछि भदौ २१ मा प्रहरीले ट्वीटरमार्फत भन्यो, ‘प्रहरीद्वारा फलफूल व्यापारीलाई कुटपिटलगायतका विविध घटनामा प्रहरी कारबाहीका क्रममा अत्यधिक बल प्रयोग भएको भन्ने सन्दर्भमा ध्यानार्कषण भएको छ ।’ छानबिन भइसकेको विगतका घटनालाई जोडी भ्रम सिर्जना गर्ने काम भएको पनि प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको थियो ।

किन चुक्दै छ प्रहरी ?

नागरिकसँग जोडिएर काम गर्ने भन्दै प्रहरीले कहिले ‘मुस्कानसहितको सेवा’ त कहिले ‘समुदाय–प्रहरी साझेदारी’ जस्ता कार्यक्रम ल्याएको छ । तर केही घटनामा प्रहरीले सार्वजनिक स्थानमा संयम गुमाउँदा प्रहरीप्रति नागरिकले प्रश्न उठाएका छन् । कतिपय अवस्थामा बर्दीधारी प्रहरीको मुखबाट निस्किने शब्द सबैका सामुन्ने जोकसैले सहजै उच्चारण गर्न पनि सक्तैनन् । यही पृष्ठभूमिमा केही दिनअघि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आचारसंहिता नै जारी गरी देशभरका युनिटलाई पालना गर्न आदेश दिए । जसमा प्रहरीले कस्तो व्यवहार गर्ने भन्ने विषय पनि छ ।

सार्वजनिक स्थानमा प्रदर्शन गरेको व्यवहारका कारण आलोचित प्रहरी यही अवधिमा अन्य घटनामा पनि प्रभावकारी कार्यसम्पादनमा चुकेपछि आलोचित बन्न पुग्यो । भदौ दोस्रो साता रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको हिरासत कक्षमा हत्याका आरोपित विजय महराको मृत्यु भयो । प्रहरीले उनको मृत्यु उपचारका क्रममा भएको बतायो । महराका आफन्तले प्रहरीले अत्यधिक यातना दिएर हत्या स्वीकार्न लगाएको र यातनाकै कारण उनको मृत्यु भएको भन्दै प्रदर्शन गरे । पछि जिल्ला प्रहरी कार्यालय रौतहटले महरालाई यातना दिएको आरोपमा इन्स्पेक्टर नवीनकुमार सिंहसहित ३ जनालाई निलम्बन गर्‍यो । मृतकको परिवारले रौतहटका एसपी रविराज खड्का र डीएसपी ज्ञानकुमार महतो तथा इन्स्पेक्टर नवीनकुमार सिंहसहित ६ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

भदौ २९ मा सप्तरीको डाक्नेश्वरी–७ की संगीता मण्डलमाथि सामूहिक बलात्कार भयो । घटनामा स्थानीय ४ जना मुछिए । युवती परिवारको सहयोगमा उजुरी दिन प्रहरीमा जान खोजिन् । ‘पञ्चायती’ (कचहरी) मा उनलाई पैसा दिएर घटना सामसुम पार्न पार्न खोजियो । युवतीले आत्महत्या गरिन् । यो घटनाबारे प्रहरी बेखबर थिएन । तर प्रहरीले समयमै चासो दिन सकेन । पूर्व डीआईजी हेमन्त मल्ल गम्भीर अपराधका घटनामा पीडितको जाहेरी कुर्नु नपर्ने बताउँछन् ।

पेलानमा प्रहरी

सार्वजनिक स्थानमा बल प्रयोग गरेका घटनालाई प्रहरीका केही अधिकारीहरू कार्य बोझ र बिदाको अभावसँगै पाउनुपर्ने प्रोत्साहनको कमीबाट सिर्जित समस्याका रूपमा अर्थ्याउँछन् । सरकारको असन्तुष्टिको मार प्रहरीले थेगिदिनुपर्ने कारण पनि फिल्डमा यस्ता गतिविधि हुन पुगेको उनीहरूको भनाइ छ ।

कोरोना संक्रमणका कारण फिल्डमा खटिने प्रहरी जनशक्ति कमी भएपछि अधिकांश स्थानमा कनिष्ठ तहमा प्रहरीहरूलाई दिनमा १८ घण्टासम्म खटाइएको छ । संक्रमण रोकथाममा पनि परिचालित हुनुपर्ने भएपछि कार्यबोझ थपिएको छ । प्रहरी प्रधान कार्यालयले नै जनशक्तिको कमी टार्न भन्दै प्रहरीलाई गत चैतयता किरिया र सुत्केरी अनि अत्यावश्यकबाहेकमा बिदा दिएको छैन । एक असईले साप्ताहिक बिदा नपाएको, परिवार भेटन नपाएको र रातदिन काममा खटिनु पर्दा मानसिक चिन्ता थपिएको बताए । उनले भने, ‘पहिले पो बाहिर ड्युटीका बेला बजारमा जे किनेर खाए पनि हुन्थ्यो । अहिले त कहिलेकाहीँ भोकभोकै खटिनुपर्छ । त्यस्तो बेला भोकको झोकले पनि रिस उठछ ।’

मन्त्रिपरिषद्ले कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अतिरिक्त भत्ताको व्यवस्था गरे पनि अर्थ मन्त्रालयले निकासा दिइसकेको छैन । मासिक तलब पनि ढिला आउन थालेको छ ।

‘धेरै घण्टा काममा लदाउने, महिनौंसम्म बिदा नदिने र सरकारबाट उचित प्रोत्साहन पनि नपाउने अवस्थाले प्रहरीमा तनाव बढेको हुन सक्छ,’ पूर्वडीआईजी मल्लले भने । तनाव व्यवस्थापन र आचरण सुधारका निम्ति दिइने तालिम बन्द छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले यस्ता तालिमलाई नियमित गर्ने विषयमा छलफल भइरहेको बताए ।

प्रकाशित : आश्विन १४, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?