कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीमाथि प्रहरीको बलजफ्ती

कर्णालीबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएका डा. केसीलाई विमानस्थलबाट जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइयो, तर साँझ उनी त्यहाँबाट निस्केर शिक्षण अस्पताल गए ।
अतुल मिश्र

काठमाडौँ — गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँचको माग गर्दै डा. गोविन्द केसीले १९ औं सत्याग्रह सुरु गरेको मंगलबार नवौं दिन भए पनि सरकारले चासो देखाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला मात्रै डा. केसी आमरण अनशन बसेको यो पाँचौं पटक हो । 

डा. केसीमाथि प्रहरीको बलजफ्ती

यस पटक जुम्लामा सत्याग्रह सुरु गरेका डा. केसी भने नेपालगन्ज हुँदै काठमाडौं आइपुगेका छन् । सोमबार नेपालगन्ज झरेका उनी भोलिपल्ट जहाजबाट काठमाडौं आएका हुन् । त्रिभुवन विमानस्थलमा उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लान तयार गरिएको एम्बुलेन्सलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । डा. केसीले उपचार गर्नै नदिने अडान लिएपछि साँझ शिक्षण अस्पताल जान दिइयो । हाडजोर्नी विशेषज्ञ डा. केसीले शिक्षण अस्पतालबाटै गत वर्ष अवकाश पाएका हुन् । ‘नजाने भन्दाभन्दै प्रहरीले बलजफ्ती तानेर ट्रमा सेन्टरभित्र लग्यो,’ डा. केसीले भने, ‘म चोटपटक लागेको बिरामी होइन ।’

डा. केसीले यसपालि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनुपर्ने मागलाई पहिलो प्राथमिकता दिएर जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामस्टो मन्दिरमा भदौ २९ गते सत्याग्रह सुरु गरेका थिए । उनले १६ औं सत्याग्रहसमेत जुम्लामा गरेका थिए ।

माग पूरा नभएसम्म सत्याग्रह जारी रहन्छ : डा. केसी

ट्रमा सेन्टरमा रहेका बेला आफूलाई अरू कोहीसँग भेट्न नदिइएको गुनासो डा. केसीले गरे । ‘गृह र स्वास्थ्य मन्त्रालयको आदेश रे,’ उनले भने । उनले आफू शिक्षण अस्पतालको पूर्वकर्मचारी रहे पनि बिरामीको हैसियतले त्यहाँ भर्ना हुन पाउने अधिकार रहेको बताए । प्रहरीले भने चिकित्सकको सल्लाहबमोजिम ट्रमा सेन्टर लगिएको तर्क गरेको थियो ।

डा. केसीलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले उनलाई ‘एनएक्स १’ मा राखिएको जानकारी दिए । यसअघि शिक्षण अस्पतालमा कार्यरत रहेका बेला डा. केसीले अनशन बस्ने ठाउँमा हाल कोभिड–१९ का बिरामी भएकाले उनलाई त्यहाँ राखिएको डा. काफ्लेले बताए । डा. केसीलाई आईसीयूमा राख्ने तयारी भए पनि उनी मानेनन् ।

डा. केसीले पछिल्लो सत्याग्रह घोषणा गरेपछि माग पूरा गर्नुको सट्टा संघीय तथा कर्णाली प्रदेशको प्रशासनले नागरिक अधिकार कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाए । आफ्नो अभियानमा सहभागी हुनेलाई मात्र नभएर आफूसँग भेटघाट र बोलचाल गर्नेलाई समेत केरकार गर्न र तर्साउन स्थानीय प्रशासनलाई प्रयोग गरिएको उनको भनाइ छ । नेपाल चिकित्सक संघले तुरुन्त वार्ता गरेर मागहरूको सम्बोधन गर्दै डा. केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । डा. केसी संघका आजीवन सदस्य हुन् ।

उनले सत्याग्रह सुरु गर्नुअघि कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सर्वसाधारणको निःशुल्क उपचार गरेका थिए । उनलाई विभिन्न ठाउँमा स्थानीय सरकारले अवरोध पनि गरेका थिए ।

उनको समर्थनमा मंगलबार अपराह्न राजधानीको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन भएको छ । उनलाई सरकारले गरेको व्यवहारप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सत्याग्रहीमाथिको दुर्व्यवहार क्रूरताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । ‘सत्याग्रहीलाई इच्छाविपरीत छुन पनि पाइँदैन । तर अनशनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ । क्रूर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्न सक्छ,’ उनले ट्वीट गरेका छन्, ‘सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ ।

यस्तै, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्र सुधारका लागि डा. केसीले मात्र लड्नुपर्ने स्थिति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । डा. केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएकामा भट्टराईले ट्विटरमा टिप्पणी गरेका छन्, ‘यो राजाको निरंकुश पञ्चायती शासन हो कि ओलीको कमाउनिस्ट शासन ? डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक ।’

प्रकाशित : आश्विन ७, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?