डा. केसी स्वेच्छाले ट्रमाबाट निस्किएर शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसी स्वेच्छाले ट्रमाबाट निस्किएर शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार दिउँसो प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍याएका डा. गोविन्द केसी साँझ ६ बजेर १५ मिनेट जाँदा अस्पतालबाट स्वइच्छाले निस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेर भर्ना भएका छन् । उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीले त्यहाँ कुनै पनि प्रकारको परीक्षण तथा उपचार गर्न नमानेपछि अस्पतालबाट स्वइच्छाले निस्किएका हुन् ।

अस्पतालबाट निस्किए लगत्तै उनी केही सहयोगीका साथ ट्याक्सी चढेर शिक्षण अस्पताल महाराजगन्ज गएका छन् । सहयोगी तथा समर्थक सुवेदीका अनुसार डा‍. केसीले अब शिक्षण अस्पतालमा नै अनशन बस्ने छन् ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलका अनुसार अस्पतालले उनलाई औपचारिक रुपमा डिस्चार्ज गरेको होइन । 'हामीले कुनै परीक्षण पनि गर्न पाएनौं । उहाँलाई हामीले डिस्चार्ज गरेको पनि होइन । त्यसै निस्किएर ,' उनले भने ।

डा. गोविन्द केसीले नेपालगन्जबाट काठमाडौै विमानस्थलमा ओर्लिएर शिक्षण अस्पताल जान भनेर एम्बुलेन्स चढे पनि आफूलाई प्रहरीहरुले अपहरण शैलीमा ट्रमा सेन्टर ल्याएको बताएका थिए । उनका समर्थक प्रितम सुवेदीबाट प्राप्त भिडियोमा उनले सरकारकै निर्देशनमा आफूलाई प्रहरीहरुले अपहरण गरेर ट्रमा सेन्टरमा ल्याएको प्रतिक्रिया दिएका थिए ।

डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण नगर्न नदिने र उपचार पनि स्वीकार नगर्ने समेत बताएका थिए ।


प्रकाशित : आश्विन ६, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनामुक्त विपद् व्यवस्थापन विज्ञ भन्छन्- 'कोभिड संक्रमण साँच्चिकै डरलाग्दो हुने रहेछ'

कान्तिपुर संवाददाता

मलाई कोभिड १९ को संक्रमण सायद साउन १३ गते देखिएको जस्तो लाग्छ । म पूर्वी नेपालको ठूलो पहिरोको अध्ययनका लागि पुगेको थिएँ । त्यहाँ आफ्नै गाडी प्रयोग गर्न नमिलेकोले गाउँको स्थानीय गाडी प्रयोग गरौं । सायद त्यो गाडी कोभिड संक्रमितले प्रयोग गरेको थियो कि राम्ररी ख्याल नपुर्‍याउँदा कोभिड संक्रमण भएको हो भन्ने लाग्छ । त्यहाँ फिल्डमा काम गर्दा रुघाखोकी लाग्ने अनि छाती दुख्‍ने लक्षणहरु देखिँदा कोभिड संक्रमण भयो कि भन्ने शंका लागेको थियो ।

म आफैं गाडी चलाएर काठमाडौँ आएँ । घर आउँदा छुट्टै आइसोलेसनमा बसेको थिएँ । ५–६ दिनपछि मलाई एकदम गाह्रो हुन थाल्यो । श्वास फेर्न गाह्रो हुन्थ्यो । श्‍वास सजिलै फेरेको जस्तो लाग्ने तर शरीरले नमान्ने र गाह्रो हुने रहेछ कोभिड हुँदा । टाउको उठाउन नसक्ने रहेछ । आफूलाई गाह्रो हुँदै गएपछि घरपरिवारलाई जति सक्दो चाँडो अस्पताल पुर्‍याउ नत्र बाँच्दिन भनेँ । कोभिड शंका लागेको ७–८ दिनपछि म अस्पताल पुगेको थिएँ । मलाई सशस्त्र प्रहरी अस्पताल बलम्बु लगियो । म त्यहाँ १८ दिन बसेँ । जसमा १३ दिन आईसीयुमा बसेँ ।

त्यो १३ दिने आईसीयु बसाई एकदम कहालीलाग्दो थियो । भर्ना भएको ३–४ दिन त बाँच्छु जस्तो लागेको थिएन । कोभिडको औषधि छैन अब के औषधि दिन्छन् भन्ने चिन्ता भित्रभित्रै हुने रहेछ । डाक्टरले विभिन्न औषधि तथा सुई दिन्थेँ तर डर लागिरहने हुन्थ्यो । तर २–३ दिनपछि अलि सम्हालियो । अवस्था सुधार आएको छ भनेर डाक्टरहरुले नआत्तिनुस् भनेर हौसला दिन्थे । त्यसपछि आत्मविश्वास जाग्न थाल्यो । पक्कै पनि डाक्टरहरुको मेहनतले बाच्छुँ कि भन्ने हुन थाल्यो ।

भोक सहन नसकेर रोएँ

उपचारको ४–५ दिनपछि मलाई भोक लाग्न थाल्यो । सहनै नसक्ने गरी भोक लाग्थ्यो । भोक यत्ति साह्रो लाग्थ्यो कि अस्पतालको सेड्युल अनुसारको खाना नआउँदा आँखाबाट आँसु झर्थ्यो । कोभिडका संक्रमणपछिको त्यो पीडा झन् डरलाग्दो हुने रहेछ । त्यत्ति अस्पताल बसाइमा मैले धेरै भोक सहेको छु । अरु साथीहरुलाई पनि त्यही अनुसार भोक लागेको मैले देखेँ । कुर्न नसक्ने गरी भोक लाग्ने । कोभिड संक्रमण साँच्चिकै डरलाग्दो हुने रहेछ भन्ने बुझेँ ।

१८ दिनपछि म घर फर्किएँ । घरमा १४–१५ दिन आफू आइसोलेसनमा बसेँ । आराम गरेपछि बिस्तारै आफ्नो काम सुरु गर्छु भन्ने सोचेँ । तर मलाई एकदम खाना खान मन लाग्ने हुन थाल्यो । खाना खाँदा पौष्टिक तत्व भन्दै धेरै किसिमका खानेकुराहरु खाएँ । उमेरअनुसार खान नहुने पनि खाएँ । मासु धेरै खाएँ । केही दिनपछि फेरि डाक्टरलार्ई स्वास्थ्यमा समस्याको आयो भनेर भने । फोक्सोमा पनि समस्या भएको रहेछ । २० प्रतिशत ड्यामेज भएको रहेछ । कोरोना केही होइन भन्ने तरिकाले लिइरहेका छौं त्यस्तो नगरौं । । मलाई कुनै रोग थिएन, न प्रेसर न मधुमेह । आफूलाई असाध्यै बलियो सम्झिँन्थे । नेपालको विभिन्न ठाउँ घुम्दा पनि आफै गाडी चलाएर जान्थेँ । जनमानसमा कोरोना केही होइन भन्ने जुन सोच छ त्यसलाई त्यागौं ।

आफ्नो बानी सुधारौँ

घरको एक जनालाई कोरोना लागिसकेपछि परिवारलाई नै मानसिक पीडा हुने रहेछ । यो बाँच्दैन भन्ने सोच हुने रहेछ । मै आफैँ पनि अस्पतालको गेटभित्र एम्बुलेन्समा गइरहँदा प्लाष्टिकको पोकोमा प्याक भएर निस्कन्छु त्यसपछि परिवारसित मेरो भेट सकियो भनेर सोच्थे । कोरोनालाई हामीले हेल्चेक्रयाइँको रुपमा नलिऔँ । त्यसले धेरै नराम्रो अवस्थामा पुर्‍याउँछ ।

संक्रमण बढिरहेको छ । मैले फिल्ड जाँदा गाडीमा बस्दा खेरी मास्क लगाएको भए वा स्यानिटाइजर प्रयोग गर्दा सायद कोरोना सर्दैन थियो भन्ने लाग्छ । कोरोनाको भयावह अवस्था आउन नदिन हाम्रै हातमा छ । मास्क लगाउने, साबुन पानीले हात धुने गर्नुपर्छ र स्यानिटाइजर खल्तीमा लिएर हिँड्नुपर्छ ।

म कोरोना संक्रमित भएर त्यत्ति दुःख पाएँ तर अझै पनि म गल्ती गरिरहेको हुन्छु । कहिलेकाहीं मास्क लगाउँदा गल्ती हुन्छ, हातमा स्यानिटाइजर लगाउन बिर्सिन्छु । बानी सुधार्न समय लाग्छ तर यसलाई जीवनयापनको रुपमा प्रयोग गर्नुपर्छ । गल्तीहरु गर्नुहुँदैन ।

कोरोना लागेपछि छरछिमेकमा हिँड्दा आफूलाई ठूलो मान्छे भन्थ्यो कोरोना लागेर ढलेको थियो भनेर भन्थे । घर परिवार बाहिर निस्कएर हिँडदा पनि नजिक आउन डराउने र कोरोना लागेको परिवार भनेर दुर्व्यव्यवहार भएको पाएँ । जानेबुझ्नेले पनि त्यस्तो व्यवहार गर्थे । म काठमाडौँको सिनामंगल गैरीगाउँमा बस्छु । यता अरु पनि अहिले संक्रमित भएका छन् सायद यो कुरा मनन गर्नुभएको छ । सहरी वातावरणमा पनि दुर्व्यवहार देखिन्छ ।

सरकारले भ्याएसम्म आफ्नो स्रोत साधनले उपचार गरिरहेको छ कोरोना संक्रमितलाई । त्यो सराहनीय काम हो । आईसीयु बेड अलि थपे राम्रो हुन्थ्यो र आफ्नै भोगाइ भन्दा खानेकुरा पुर्‍याउने व्यवस्था अलि राम्रो भइदिए कोरोनाको बिरामीलाई अझै राम्रो हुनेथियो ।

(मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा डा रञ्‍जनले सुनाएको कोरोना अनुभवको सम्पादित अंश)


प्रकाशित : आश्विन ६, २०७७ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×