डा. केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍यायो

आश्विन ६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — डाक्टर गोविन्द केसीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टर लगेको छ । नेपालगन्जबाट बुद्ध एयरको विमानबाट काठमाडौं ओर्लिएलगत्तै विमानस्थलबाटै डाक्टर केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

सोमबार जुम्लाबाट नेपालगन्ज आएका डाक्टर केसी मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राख्ने बताएका थिए । कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरी स्रोतले बताएको छ । उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स ट्रमा सेन्टर लगेर भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिई ट्रमा सेन्टरको आकस्मिक कक्षमा लिएर गएका हुन् ।

डा. केसीसँग हाल ट्रमा सेन्टरका चिकित्सकहरुले छलफल गरिरहेका छन् भने केसीका समर्थकहरुलाई उनलाई भेट्न दिइएको छैन ।

काठमाडौं आउने क्रममा नेपालगन्ज विमानस्थलमा डाक्टर केसीले जनताको हितका लागि आफूले उठाएका माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका थिए ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनुपर्ने लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने माग राख्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबरजस्ती अस्पताल पुर्‍याएको थियो । 

डा. केसीको अनशन

कान्तिपुर

Link copied successfully