भारत फर्किए सवा ४ लाख नेपाली- समाचार - कान्तिपुर समाचार

भारत फर्किए सवा ४ लाख नेपाली

कोरोनाको त्रासले स्वदेश फर्केकाहरू गाउँ–ठाउँमा गरिखाने मेसो नमिल्दा र खर्चको अभाव बढ्दै गएपछि फेरि उस्तै जोखिम मोलेर भारत फर्किन थालेका छन् ।
मातृका दाहाल, जनकराज सापकोटा

काठमाडौँ — गत वैशाख २४ गते कैलाली प्रहरी प्रमुख भएर पुग्दा नेपाल प्रहरीका उपरीक्षक (एसपी) अनुपमशमशेर जबराले भारतबाट झोलीगुन्टा कसेर नेपाल छिर्नेको ताँती सम्हालेका थिए । भारतमा कोरोना महामारी बढ्दै गएपछि सीमावर्ती नाका हुँदै स्वदेश फर्किनेको भीड थेगिनसक्नु थियो । तर त्यो दृश्य एकाध महिनामै बदलियो ।

एसपी जबराले त्यतिबेला सीमाको भीड सम्झिँदै भने, ‘त्यो बेला कैलालीका नाकाबाट मात्रै नेपाल छिर्नेको संख्या दिनहुँ सरदर साढे ५ हजार थियो ।’ नेपाल र भारतमा कोरोना संक्रमण तीव्र वृद्धि भइरहँदा अहिले सीमा नाकाको दृश्य ठ्याक्कै उल्टिएको छ । एसपी जबराले अहिले कैलालीबाट औसतमा सयदेखि डेढ सय जना नेपाल आइरहेका छन् । तर यो महामारीमा भारत जानको लर्को यसको दोब्बरजति रहेको एसपी जबरा बताउँछन् ।

कैलालीका सीमावर्ती क्षेत्र हुँदै भारत छिर्नेको लर्कोसँग ठ्याक्कै मिल्छ कञ्चनपुरको दृश्य पनि । कञ्चनपुरका एसपी मुकुन्द मरासिनी नेपाल–भारत सीमा नाकामा केही महिनाभित्रै बदलिएको दृश्य सम्झँदै तीनछक परे । उनले पछिल्लो तीन महिनाअघि र अहिलेको दृश्य ठ्याक्कै उल्टो भएको बताए । कञ्चनपुरका सीमावर्ती इलाका हुँदै पहिले नेपाल आउनेको लर्काे थियो । अहिले नेपाल छाड्नेको लर्को बढ्दो क्रममा छ । ‘सीमाबाट आउजाउ पूर्ण रूपमा निषेध हुँदा संक्रमणको त्रासले महाकाली नदीमा हेलिएर एक जना स्वदेश फर्किएका थिए, त्यो अवस्था पछिल्लो एक/डेढ महिनामै बदलिएको छ, रोजगारीलगायत विभिन्न कामका सिलसिलामा भारत जानेको भीड अहिले बढ्दो छ,’ उनले भने ।

२०७६ चैतमा बैतडीको डिलासैनी गाउँपालिका–१, कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री भारतमा संक्रमण फैलिँदै गएपछि नेपाल आउन खोजे । नाका सबै सिल भएकाले उनले प्रवेश पाएनन् । चार दिन भारतको धार्चुलास्थित सीमा क्षेत्रमा बसे । केही सीप नलागेपछि ज्यानको बाजी राख्दै महाकालीमा हेलिएर नेपाल छिरे । नाका सिल भएपछि सीमावर्ती इलाकाका करिब ३ दर्जनभन्दा बढी स्थानमा सुरक्षाकर्मीसँग झडप नै भएको थियो ।

पछिल्लो समय सीमा नाकामा फेरिएको दृश्यको एउटै कारण हो, रोजगारी र परिवारको लालनपालन । विगतका वर्ष चाडपर्व नजिकिँदै गर्दा स्वदेश फिर्नेको लर्को नाकामा हुन्थ्यो । अहिले दसैं/तिहारलगायत पर्व नजिकिँदै छन् तर सर्वसाधारण भने बाहिरिइरहेका छन् । यो बीचमा खर्चको जोहो गर्न कतिपय मानिस भारत गएको एसपी मरासिनीले बताए । महामारीका बीच भारत जानेमा सबैभन्दा बढी उताको आधारकार्ड, रोजगारी र दैनिक ज्यालादारी मजदुर तथा पेन्सनवाहकहरू रहेको उनको भनाइ छ । नाकाबाट आधारकार्ड, पेन्सनपट्टा, जागिरको पत्र भएकाबाहेकलाई आवश्यकता र औचित्य हेरेर मात्रै जान दिइएको उनको भनाइ छ ।

उनका अनुसार साउन ६ यता गड्डाचौकी नाका हुँदै ११ हजारभन्दा बढी र गौरीफन्टाबाट भदौ १२ पछि ८ हजारभन्दा बढी नेपाली भारत गएका छन् । महामारीकै बीच गड्डाचौकीबाट ३७ हजार २ सय १७ र गौरीफन्टा हुँदै १८ हजार १ सय ८९ जना भारतबाट फर्किएका थिए । कैलाली र कञ्चनपुरको तुलनामा बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट हुँदै आउजाउ गर्नेको संख्या भने कम छ ।

गत वर्ष फागुन २५ देखि असोज ४ गते साँझसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणको भयावह स्थितिमाझ भारतका विभिन्न ठाउँबाट ९ लाख १ हजार ६ सय ५ जना नेपाली स्वदेश छिरेका थिए । तीमध्ये सबैभन्दा बढी सुदूरपश्चिम, प्रदेश ५ र प्रदेश २ बाट आएका थिए । जेठ दोस्रो सातातिर त भारतबाट नेपाल छिर्नेको संख्या दिनहुँ औसत साढे दस हजारको हाराहारीमा थियो । सयौं किलोमिटर पैदल र जोखिमपूर्ण सवारी यात्रामार्फत भोकै प्यासै सीमामा आएर हप्तौंसम्म अड्किएपछि आएका नेपाली यति बेला भने तीन महिनाअघिकै झल्को सम्झाउने गरी लस्कर लागेर भारत फर्किरहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सातै प्रदेशबाट संकलन गरेको आइतबार साँझसम्मको विवरणअनुसार भारतबाट फर्केकामध्ये झन्डै आधाजसो अर्थात् ४ लाख २१ हजार ८ सय ७५ नेपाली भारत फर्किएका छन् । फर्किनेको चाप सुदूरपश्चिम र प्रदेश ५ मा बढी छ । सुदूरपश्चिम र प्रदेश ५ को तुलनामा प्रदेश १ र २ बाट भारत फर्किनेको संख्या कम छ ।

कोरोनाको त्रासले स्वदेश फर्केकाहरू गाउँ–ठाउँमा गरिखाने मेसो नमिल्दा र खर्चको अभाव बढ्दै गएपछि फेरि उस्तै जोखिम मोलेर भारत फर्किन थालेका छन् । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बाट प्राप्त तथ्यांकअनुसार भदौ ५ देखि ३१ गतेसम्मको अवधिमा मात्रै ७ हजार ४ सय ९४ नेपाली भारत गएको देखिन्छ । सीसीएमसी, प्रहरी र सशस्त्रबाट प्राप्त तथ्यांक केलाउँदा असारपछि घर फर्केका नेपाली फेरि घर खर्च टार्नदेखि नियमित रोजगारीका कारण पनि भारत जानेको लर्को छ । साउन महिनामा त्यो संख्या ह्वात्तै बढेको देखिन्छ ।

एक सातायता भारतमा दैनिक सरदर ९० हजारभन्दा धेरै कोरोना संक्रमित बढिरहेका छन् । तर नेपाली रोजीरोटीको खोजीमा महामारी र त्यसको जोखिम परवाह नगरी भारत गइरहेका छन् । भारतमा कोरोना संक्रमित र संक्रमणबाट मृत्युको दर दैनिक उच्च छ । आइतबार साँझसम्मको विवरणअनुसार सबैभन्दा धेरै अर्थात् २ लाख ८३ हजार १ सय ४५ जनाले सुदूरपश्चिम प्रदेशका विभिन्न नाका हुँदै भारत गएका छन् । जबकि फागुन २५ देखि असोज ४ सम्म सुदूरपश्चिम प्रदेशका विभिन्न नाका हुँदै २ लाख ८४ हजार हजार ५ सय ३१ जना फर्किएका छन् । सुदूरपश्चिममा फर्किने र भित्रिनेको संख्या बराबरी देखिन्छ ।

त्यस्तै प्रदेश १ का विभिन्न नाका हुँदै ३५ हजार ३ सय ४१, प्रदेश २ बाट २३ हजार ८ सय ३२ र प्रदेश ५ बाट ७९ हजार ५ सय ५७ जना मानिस भारत प्रस्थान गरेका छन् । यो अवधिमा प्रदेश १ बाट २ लाख २९ हजार ३ सय ६८, प्रदेश २ बाट ८१ हजार ४ सय ३ र प्रदेश ५ बाट २ लाख ९८ हजार ९ सय ४० जना भित्रिएका छन् ।

कैलालीका एसपी जबराले सुदूरपश्चिमबाट भारत जानेमध्ये धेरैजसो हिमाञ्चल प्रदेशमा स्याउ टिप्ने मौसमी काम गर्न गएको बताए । नेपाल–भारत करिब १ हजार ८ सय ८० किमि लम्बाइको सीमा रहेकामा अधिकांश खुला सिमाना छ । सुरक्षा निकायसँग भएको अभिलेख सुरक्षाकर्मी तैनाथ भएका नाकाको हो । पारि जानेको संख्या खुला सिमाना भएका कारण अझै बढेको हुन सक्छ ।

बदलिएको दृश्य

डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाका अनुसार कोरोना महामारी सुरु भएपछि भारतबाट ५ सय ६० जना गाउँमा फर्के । तीमध्ये कति भारत फर्के भन्नेबारे आफूहरूसँग जानकारी नभए पनि उनले छिमेकी गाउँपालिकामा भारतबाट फर्केकाहरू फेरि भारत नै फर्किन सुरु भएको खबर आफूले पाएको सुनाए ।

सीमावर्ती क्षेत्रमा खटिएका प्रहरीहरूका अनुसार जति धेरै जोखिम मोलेर र कष्ट उठाएर नेपालीहरू घर फर्केका थिए, त्यति नै कष्ट उठाएर भारत गइरहेको देखिन्छ ।

वैशाख १४ अघिको एक महिनामा मात्रै स्वदेश छिर्ने आसमा भारतका विभिन्न सहरबाट रोजगारी गुमाएर र कोरोना भयले फर्किएका २ सय ५५ जनाले जोखिमपूर्ण तरिकाले महाकाली नदीमा हेलिएर पनि नेपाल छिरेका थिए । त्यसरी महाकालीको पानीमा हेलिएकामध्ये कतिलाई प्रहरीले पक्राउ गरी अनिवार्य क्वारेन्टाइनमा राखेको थियो भने कतिपय प्रहरीको आँखा छलेर मूल बाटो छल्दै घरसम्मै पुगेका थिए ।

प्रहरीका अनुसार तिनै दिनको झल्को आउने गरी अहिले नेपालीहरू असाध्यै चर्को भाडा तिरेर दुर्गम गाउँबाट कैलाली र कञ्चनपुर झरिरहेका छन् । यसरी झरेकामध्ये धेरैजसोले संक्रमणबाट बच्न भौतिक दूरी पालना गर्ने, मास्क लगाउने र हात धुने वा सेनिटाइजर प्रयोग गर्नेजस्ता व्यवहार अपनाइरहेको देखिन्न । कञ्चनपुरको वनबसा नाकामा खटिएका एक प्रहरी हवल्दारले गाउँबाट भारत जान हिँडेकाहरूले दोब्बरभन्दा पनि बढी गाडी भाडा तिरिरहेको र तिनीहरू समूहमै लुकीछिपी होटलमा बस्ने गरिरहेको बताए । उनले भने, ‘खान, लाउनको दु:ख भएपछि मान्छेले जस्तो पनि दु:ख उठाउँदो रहेछ ।’

प्रकाशित : आश्विन ६, २०७७ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्

डा. केसी भन्छन्- 'शिक्षण अस्पताल नलगेसम्म परीक्षण र उपचार गर्न दिन्‍न'

ट्रमाका निर्देशक डा‍. सन्तोष पौडेलका अनुसार डा. केसीको स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालबाट चिकित्सकहरुलाई बोलाइएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍याएका अनशनरत डा. गोविन्द केसीले कुनै प्रकारको परीक्षण तथा उपचारका स्वीकार नगर्ने अडान लिएका छन् । ट्रमाका निर्देशक डा‍. सन्तोष पौडेलका अनुसार डा. केसीको स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालबाट चिकित्सकहरुलाई बोलाइएको छ ।

डा. गोविन्द केसीले विमानस्थलमा ओर्लिएर शिक्षण अस्पताल जान भनेर एम्बुलेन्स चढे पनि आफूलाई प्रहरीहरुले अपहरण शैलीमा ट्रमा सेन्टर ल्याएको बताएका छन् । उनका समर्थक प्रितम सुवेदीबाट प्राप्त भिडियोमा उनले सरकारकै निर्देशनमा आफूलाई प्रहरीहरुले अपहरण गरेर ट्रमा सेन्टरमा ल्याएको प्रतिक्रिया दिएका हुन् ।

डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण नगर्न नदिने र उपचार पनि स्वीकार नगर्ने समेत बताएका छन् । 'मलाई शिक्षण अस्पताल नलगेसम्म म रगत, पिसाब केहीको पनि जाँच गर्न दिन्‍न । रक्तचाप र ज्वरो समेत पनि नाप्‍न दिन्‍न,' उनले भने ।

डा. पौडेलका अनुसार डा. गोविन्द केसीलाई ट्रमामा पुर्‍याउनु अघि प्रहरीले अस्पताललाई केही जानकारी दिएको थिएन । 'प्रहरीले ल्याएपछि हामीले हेर्नै पर्‍यो । तर उहाँले परीक्षण तथा उपचार गर्न मान्नुभएको छैन । हामीकहाँ इन्टरनल मेडिसिनका विज्ञहरु हुनुहुन्न । त्यसैले वीर अस्पतालबाट बोलाएका छौं,' उनले भने, 'उहाँहरुले आएर हेरेपछि केही भन्न सकिएला ।'

प्रकाशित : आश्विन ६, २०७७ १५:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×