कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सदर चिडियाखानाका प्रमुख भन्छन्– हामीलाई समस्या भएपनि वन्यजन्तुलाई भोकै राख्दैनौं

गोविन्द पोखरेल

काठमाडौँ — सरकारले चैतमा लकडाउन घोषणा गरेपछि बन्द भएको सदर चिडियाखाना आर्थिक अभावमा पर्न थालेको छ । १ सय १० प्रजातिका १ हजार ५० प्रकारका जीवजन्तु र चराचुरुंगी रहेको यो चिडियाखाना आर्थिक संकटमा परेपछि यहाँ कार्यरत ७५ जना कर्मचारीको तलब कटौती गरिएको चिडियाखानाका प्रमुख चिरञ्जिवीप्रसाद पोखरलले बताए ।

सदर चिडियाखानाका प्रमुख भन्छन्– हामीलाई समस्या भएपनि वन्यजन्तुलाई भोकै राख्दैनौं

उनले भने,‘अरु बेला चिडियाखाना खुला हुँदा आम्दानी राम्रै हुन्थ्यो । मासिक एक देखि डेढ करोड आम्दानी हुन्थ्यो । अहिले सबै बन्द छ ।’ वार्षिक खर्च १५ देखि १६ करोड खर्च हुने चिडियाखानाले चैतदेखि आम्दानी गर्न छाडेको छ । लकडाउनअघि दैनिक ३ देखि ४ हजारको सख्यामा यहाँ आगन्तुहरु भ्रमण गर्न आउँथे ।

लकडाउनले गर्दा चिडियाघरमा समस्या देखिएपनि वन्यजन्तुको खानपिनमा भने कुनै कमजोरी र समस्या आउन नदिएको पोखरलले बताए । उनले भने,‘वन्यजन्तुलाई चाहिने खाद्यान्न र आपूर्ति सहज छ । यसमा हामी ढुक्क छौं ।’ चिडियाघरमा कर्मचारीको तलब कटौती गरिएपनि वन्यजन्तु भोकै बस्नु नपर्ने उनले प्रतिक्रिया दिए । नबिग्रिने खालका खाद्यान्नहरु महिना दिनसम्म पुग्ने गरी स्टोर गरेर राखिएको र आपूर्ति भने सहज रहेको उनले बताए ।

उनले चिडियाघरभित्रै २० जना मानिसहरु नियमित रुपमा बस्ने र उच्च सुरक्षा अपनाएर काम गरिरहेको बताए । हेल्थको इस्यू कुरा उठ्ने भएकाले ‘बायो सेक्युरिटी’ लाई धेरै ख्याल गरिएको प्रमुख पोखरलले बताए । चिडियाघरमा मांसाहारी जीवहरुलाई राँगाको र कुखुराको मासु तथा केही जीवहरुलाई माछा दिने गरिएको छ । यहाँ राँगाको दैनिक ३७, कुखुराको १० केजी मासु र ५ केजी माछा वन्यजन्तुलाई खुवाइन्छ । भालुका लागि दैनिक १४ लिटर दूध पनि खपत हुने गरेको छ । यस्तै, शाकाहारी जीवहरुका लागि भने फलफूल, चोकर, घाँस, दाना, पीठो दिने गरिएको छ ।

प्रमुख पोखरलले यसबारे सम्बन्धित निकायहरुलाई जानकारी गराइएको बताए ।

लकडाउनयता मरे ९ स्तनधारी

लकडाउनयता सदर चिडियाखनामा ९ वटा स्तनधारी जीवहरु मरेका छन् । मर्ने जीवहरुमा हरिण, जंगली बिरालो, भालु र बाँदर रहेको प्रमुख पोखरेलले बताए । यी जीवहरु कालगति र रोगका कारण मरेका हुन् ।

लकडाउनकै बेला चिडियाखानामा विभिन्न १६ वटा जीवले बच्चा जन्माएका छन् । दुम्सी, रतुवा मृगल, चित्तल र चरी बाघले दुई/दुई वटा बच्चा जन्माएका छन् । चिडियाखानाभित्रको लंगुरले पनि एउटा बच्चा जन्माएको छ ।

चिडियाखानाका प्रमुख पोखरेलका अनुसार यो संख्या औसत र अरु बेला जतिकै रहेको बताए । यस्तै, चिडियाघरमा १४ वटा चरा र विभिन्न ४ प्रजातिका माछा मरेका छन् ।

चैतयता चिडियाघरमा विभिन्न प्रजातिका वन्यजन्तु उद्धार गरेर प्राकृतिक बासस्थानमा छाडिएका छ । त्यहाँका भेटनेरी चिकित्सक डा पर्वत थापाका अनुसार लकडाउनयता चिडियाघरमा विभिन्न ३ वटा चितुवा उद्धार गरेर ल्याइएका थिए । तीमध्ये २ वटाको उपचारपछि प्राकृतिक बासस्थानमा छाडिएको र एउटा उपचारका क्रममा मरेको बताए । यस्तै उद्धार गरेर ल्याइएका ४ वटा रतुवा मृगमध्ये एउटा मरेको र अन्यलाई त्यहीँ राखिएको छ ।

यस्तै दुई वटा गोली लागेर घाइते अवस्थामा ल्याइएको हिमालयन सेरउ उपचारको क्रममै मरेको थापाले बताए । चिडियाघरमा दुई वटा दुम्सी र एउटा निर बिरालोको पनि उद्धार गरेर ल्याइएको छ ।

चिडियाघरभित्र मरेका जीवहरु केही रोग र उमेर पुगेर मरेको थापाले बताए । उनले भने,‘चराहरु प्राय: रोग लागेर, बुढ्यौली भएर मरेका छन् । मर्ने र बच्चा जन्माउने क्रममा निरन्तर रुपमा हो । यो सामान्य घटना हो ।’

हाल चिडियाघरका जीवहरुको अवस्थामा सामन्य नै रहेको थापाले बताए । उनका अनुसार सामान्य घाउ र चोट पटक वन्यजन्तुहरुलाई ठोक्किएर लाग्ने घटना पनि सामान्य हो । अहिले मौसम परिवर्तनको समय भएकाले ब्याक्टेरियल इन्फेक्सनको समस्या भने देखिने बताए ।

यो वर्ष अघिल्लो वर्षको तुलानामा चिडिया घरमा वन्यजन्तुको प्रजनन् र उनीहरुको उत्पादन भने बढेको चिडियाघरले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा चिडियाघरमा ३७ वटा स्तनधारी जीवनको उद्धार गर्दा ५ वटालाई प्राकृतिक वातावरणमा छाडिएको, १४ वटा चिडियाघरमै रहेका र १८ वटा उपचारका क्रममा मृत्यु भएका थिए ।

यस्तै, २७० वटा चराको उद्धार गर्दा २१ वटा मरेका थिए भने ४ वटा बासस्थानमा छाडिएको थियो । बाँकी २४५ वटा चिडियाघरमै राखिएको छ । यस्तै ६१ वटा सरिसृप जीवको उद्धार गर्दा ५६ वटा चिडियाघरमै राखिएका, ३ वटा मरेका र २ वटा बासस्थानमा छाडिएका थिए ।

केही वन्यजन्तुहरुमा लकडाउनका कारण मनिसहरुको अवातजावत बन्द भएपछि आनीबानीमा पनि परिवर्तन आएको उनले बताए । मानिसहरुको घलमिल नहुँदा चिडियाघरमा वन्यजन्तुहरु आनन्दका साथ बसेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

याे पनि पढ्नुहाेस् :

प्रकाशित : भाद्र २३, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?