लकडाउनको असर : यसरी फेरियो चिडियाघरका वन्यजन्तुको आनीबानी

चराहरुमा एकखालको ‘एक्साइटमेन्ट’ देखिने गरेको छ
गोविन्द पोखरेल

काठमाडौँ — दैनिक ३ हजारभन्दा बढी आगन्तुहरुको उपस्थिति हुने जावलाखेलस्थित सदर चिडियाखाना चैत ७ गतेदेखि बन्द छ । चिडियाखानाका २० जना कर्मचारीहरु चैत ११ गतेदेखि चिडियाखानामा ‘लक्ड’ छन् । उनीहरुले चिडियाखानाभित्रै बाट जीवहरुको स्यारसुसार गर्ने गरेका छन् ।

कोरोना महामहारीबाट बच्नका लागि चिडियाखानामा उच्च सुरक्षा सतर्कता अपनाएर वन्जयन्तु तथा चराचुरुंगीहरुको रेखदेख गरिएको चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरलले बताए ।

लकडाउनको प्रत्यक्ष प्रभाव चिडियाघरका वन्यजन्तुहरुमा पनि देखिन थालेको छ । कार्यालयका प्रमुख पोखरेलका अनुसार मानिसहरुको आवगमन नहुँदा वन्यजन्तुहरुको आनीबानी तथा दैनिकीमा पनि प्रभाव परेको छ । लकडाउनले ‘प्राइमेट्स’ (बाँदर, लंगुर, सियामाङ,लिमर्स) जस्ता जीवहरुको आनीबानीमा केही परिवर्तन आएको चिडियाखानाका वरिष्ठ भेट प्राविधिक राधाकृष्ण घर्तीले बताए ।

रिंग टेल्ड लेमुर

‘यी जीवहरु मानिसहरुसँग घुलमिल गर्न रुचाउछन्,’ घर्तीले भने, ‘अहिले आगन्तुकहरु आउन छाडेपछि चिडियाघरमा कार्यरत कोही कर्मचारी उनीहरुको नजिक जाँदा पनि खुसी हुन्छन् ।’ आगन्तुकहरु नहुँदा त्यस्ता जीवहरुलाई केही असहज भएको हो कि भन्ने थाहा भएको उनले सुनाए । भीड नहुँदा नभएकाले वन्यजन्तुहरु आरमदायी तरिकाले बसिरहेको पनि उनले बताए ।

सियामाङ

‘रातिमात्रै सक्रिय हुने जनावर पनि सुनसान भएपछि दिउँसै सक्रिय हुन थालेका छन्,’ चिडियाखानाका प्रमुख पोखरेल भन्छन्, ‘सानो बिरालो प्रजाति र ‘हिमालय पाम सिभेट’को आनीबानीमा केही परिवर्तन देखिएको छ ।’ लजालु स्वभाव यी जीवहरु चिडियाघरमा मानिसहरुको उपस्थित घटेसँगै दिउँसोको समय पनि सक्रिय भएको पाइएको पोखरेलले बताए ।

यस्तै केही प्रजातिका चराहरुमा पनि मानिससँगको ‘एट्याचमेन्ट’ देखिएको छ । मानिसहरु नहुँदा सुनसान बस्ने चरा चिडियाघरकै कुनै मानिस जाँदा उनीहरुको भाव खुसी भएको देखिने किसिमले कराउने गरेको चिडियाघरमा कार्यरत कर्मचारीहरुको अनुभव छ । चराहरुमा एकखालको ‘एक्साइटमेन्ट’ देखिने गरेको पोखरलले सुनाए ।

मकाउ ।

आगन्तुकहरु नआउँदा बाघ, चितुवा, भालु, गैंडा जस्ता जीवहरुमा खासै असर नदेखिएको ‘जु–किपर’ हरिकृष्ण श्रेष्ठले बताए । यस्तै, सरिसृपलगायत अन्य जीवहरुमा पनि खासै असर देखिएको छैन ।

स्यानिटाइज गरेर वन्यजन्तुलाई खाना

रोगव्याधीबाट बच्नका लागि चिडियाखानाका वन्यजन्तुहरुलाई स्यानिटाइज गरिएको खानामात्रै दिने गरिएको छ । खाद्यान्नहरुलाई डिस्इन्फेक्टेट गरेर मात्रै खान दिइन्छ ।

वन्यजन्तुलाई दिइने खानालाई किटाणुमुक्त बनाइदै ।

खाना तयार गर्नुअघि पोटास हालेर डिस्इन्फेक्टन्ट गर्ने गरिएको छ भने पानीमा पोटास राखेर धुने गरिएको छ । सामान लिनका लागि चिडियाघरमै रहेकाहरु जाने र ल्याइएको समानलाई भाइरस मुक्त गराउनका लागि डिस्इन्फेक्टेन्ट प्रयोग गर्ने गरिएको कार्यालय प्रमुख पोखरलले बताए । यस्तै क्लोरिनको प्रयोग गरेर गाडीलाई डिस्इन्फेक्टेन्ट गर्ने गरिएको छ ।

यस्तै, चिडियाघर परिसरमा लाइम पाउडर पनि छरिएको छ । मानिस र वन्यजन्तुबीच पनि भौतिक दूरी कायम गरेर खाद्यान्न दिइन्छ । ‘किप्पर्स’हरु मास्क, ग्लोभ्स, बुट र पीपीई लगाएर मत्रै वन्यजन्तुको छेउछाउ जान्छन् ।

वन्यजन्तुका लागि तयार गरिएको खाना ।

अहिले विशेष गरेर जैविक सुरक्षामा ध्यान दिइएको भेटनेरी डाक्टर पवर्तनजंग थापाले बताए । चैत ७ गतेदेखि नै चिडियाघरमा बाहिरी मानिसलाई प्रवेश निषेध छ ।

लकडाउनअघि नै चिडियाखानाले नबिग्रिनेखालका खाद्यान्नहरु महिना दिनसम्म पुग्ने गरी स्टोर गरेर राखेको छ । ताजा खानाहरु पाउन भने चुनौती छ । हरियो घाँस र वन्यजन्तुलाई चाहिने दूधमा केही चुनौती देखिए पनि त्यो हल गरिएको पोखरलले बताए । जिल्ला प्रशासन कार्यालय र वन तथा वातवरण मन्त्रालयबाट अनुमति लिएर चिडियाघरले आफ्नो गाडी प्रयोग गरेर खाद्यान्न ल्याउने गरेको छ ।

चिडियाघरमा मांसाहारी जीवहरुलाई राँगाको र कुखुराको मासु तथा केही जीवहरुलाई माछा दिने गरिएको छ । यस्तै दूध र अन्डा पनि दिने गरिएको छ । अहिले हप्ताभरलाई पुग्ने मासु खरिद गरेर डिफ्रिजमा राख्ने गरिएको छ ।

बाघ ।

राँगाको दैनिक ३७ केजी, कुखुराको मासु १० केजी र माछा ५ केजी ख्वाइन्छ । यस्तै दूध १४ लिटर प्रयोग हुने गरिएको छ । भालुलाई पाउरोटीसँगै दूध दिने गरिएको जुकिपर श्रेष्ठले बताए । पोथी बाघलाई ५ केजी, भालेलाई ६ केजीको दरले दैनिक रुपमा राँगाको मासु दिइन्छ । हप्ताको एक दिन शनिबार उनीहरुलाई खाना नदिने गरिएको जुकिपर श्रेष्ठले बताए । उनले भने, ‘जंगलमा सधैं खाना पनि पाइदैन नि ! उनीहरुको स्वास्थ्यका हिसाबले हप्ताको एक दिन ‘व्रत’बस्छन् ।'

जलगैंडा, अर्ना, मृग, हात्तीजस्ता शाहकारी जीवहरुलाई फलफूल, चोकर, घाँस, दाना, पीठो दिने गरिएको छ ।

चितुवा

७५ जना कर्मचारी रहने चिडियाघरमा अहिले २० जनामात्रै स्टाफ छन् । भेटनेरी डाक्टर, टेक्निसियन, जुकिपर र सुरक्षा गार्डका समूहहरु छन् । उनीहरु चिडियाघरभित्रै बस्छन् । त्यही रेखदेख गर्छन् । अहिले विशेष गरेर खानापिन, सरसफाई, खोर र चौर सरसफाई उद्धार गरेर ल्याइएका जनावरहरुलाई औषधि उपचार गराउने, अन्य जनावारहरुको अवस्था के छ भनेर हेर्ने काम हुने गरेको छ ।

आम्दानी घट्यो, सरकार गुहार्ने तयारी

लकडाउन हुनुअघि चिडियाखानाको दैनिक आम्दानी मात्रै ३ देखि ४ लाखभन्दा बढी हुने गरेको पोखरलले बताए । चिडियाघरबाट वार्षिक आम्दानी १५ देखि १६ करोड हुने गरेको थियो । अहिले ठप्पै भएको उनले बताए । अरु बेला दैनिक ३ देखि ४ हजार मानिसहरु आउने गर्थे ।अहिलेसम्म चिडियाघर ठीकै अवस्थामा रहेको तर लकडाउन लम्बिरहे समस्या आउन सक्ने उनले बताए ।

सरकारलाई यस विषयमा जानकारी गराइसकेको उनले बताए । लकडाउनका बेला चिडियाघरमा खर्च बढ्ने पनि अनुमान गरिएको उनले बताए । २० जना २४ सै घन्टा चिडियाघर परिसरमै हुने भएकाले पनि उनीहरको व्यवस्थापन खर्च बढ्ने उनले सुनाए ।

अर्नाले पाडी जन्मायो, कालिजले बच्चा कोरल्यो

लकडाउनको यो अवधिमा चिडियाखानामा अर्नाले पाडी जन्माएको छ । बच्चासँगै अर्नाको संख्या ७ पुगेको छ । यस्तै, सिल्भर पिजेन्ट (कालिज)ले ३ वटा बच्चा कोरलेको छ । यस्तै, चित्तलका ३ वटा बच्चा जन्मिएका छन् । बच्चासँगै चिडियाखानामा चित्तलको संख्या २५ पुगेको छ । यस्तै, लंगुर र बाँदरले एक/एक वटा बच्चा जन्माएका छन् ।

अर्नाले जन्माएको पाडी ।

लकडाउनको समयमा चिडियाघरमा दुईवटा चितुवा र रतुवाको उद्धार गरेर ल्याइएको छ । यस्तै, एउटा कछुवा र सर्प पनि उद्धार गरेर ल्याइएको छ । तीनको स्वास्थ्य अवस्था चेकजाँच गरेर काम गरिएको उनले बताउँछन् ।

‘बायो सेक्युरिटी’ उच्च

बायो सेक्युरिटी उच्च राख्नका लागि चिडियाघरमै बसेर काम गरिरहेका बाहेक अफिसकै कर्मचारीहरलाई पनि प्रवेश निषेध गरिएको छ । अहिले बाहिरको कसैलाई पनि आउन दिइएको छैन । चिडियाखानाका भेटनेरी चिकित्सक थापा भन्छन्, ‘अहिलेको समय वन्यजनतुहरुलाई संक्रमण नहोस् भनेर उच्च सावधानी अपनाएर काम गरिरहेका छौं । हामी पनि यही चिडियाघरभित्रै बसेर काम गरेका छौं । ’

उद्धार गरेर ल्याइको चितुवाको स्वास्थ्य जाँच गरिँदै ।

जीवहरुको नियमित स्वास्थ्य जाँच र बायो सेक्युरिटी राम्रोसँग अपनाइरहेको उनले बताए । लकडाउनका बेला सामान्य बिरामीका घटना भए पनि अन्य घटनाहरु नभएको उनले सुनाए । केही जीवहरुलाई घाउ तथा चोटपटक लाग्ने घटनाहरु सामान्य रहेको उनले सुनाए ।


दुम्सी ।

अहिले चिडियाघरको सम्पूर्ण रखेदेखको जिम्मवारी वरिष्ठ भेट प्राविधिक राधाकृष्ण घर्तीलाई दिइएको छ । चैत ९ गतेदेखि आफूहरु यही बस्न थालेको उनले सुनाए । उनको २० जनाको टिममा भेटनेरी टिम ४ जना, सेक्युरिटी ६ जना र अन्य १० जना किपर छन् । २०४६ सालदेखि काम गर्दै आएका उनको अनभुवनमा चिडियाघरमा यस्तो सुनसान यसअघि कहिले नभएको सुनाए ।

चिडियाघरमा वन्यजन्तु कति ?

सदर चिडियाखाना राणाशासनको अन्त्यसँगै सर्वसाधरणहरुका लागि खुला गरिएको हो । अहिले यहाँ ४ वटा बाघ, ३ वटा गैंडा, ‘सिमाङ’ दुई वटा, बाँदर ८ र लंगुर ५ वटा छन् । यस्तै, चितुवा २ वटा, कमन पाम सिभेट २ वटा, हिमालयन पाम सिभेट ४ वटा, लार्ज सिभेट ५ वटा, स्याल १३ वटा, जंगली बिरालो ४ वटा छन् ।यस्तै, ५ वटा चरी बाघ, १७ वटा दुम्सी, १८ वटा खरायो, २ वटा रेड पान्डा र रिङ टेल्ड लिमर छन् । काठे र हिमालयन भालु ९ वटा छन् ।

कालिज ।

चराचुरुंगीहरु ५५ प्रजाति छन् । तीमध्ये अस्ट्रिच २ वटा, इमू १४ वटा छन् । मकाउ १२ वटा छन् । ३१ वटा स्तनधारी जीवहरुमध्ये ६ वटा लोपन्मुख प्रजातिका रहेको कार्यालयका प्रमुख पोखरेलले बताए । यस्तै ९ वटा सरिसृप रहेको उनले बताए । १६ प्रजातिका माछाहरुमध्ये गोल्डन मासियर माछा लोपन्मुख छ ।

चिडियाखानामा १ सय १२ प्रजातिका जीव गरी र एक हजार ५० जीव तथा चराचुरुगी छन् ।

तस्बिरहरु सौजन्य : पर्वतजंग थापा/सदर चिडियाखाना प्रकाशित : जेष्ठ ८, २०७७ १८:११

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पृथ्वी नजिक आउन लागेको छुद्र ग्रह कति हानिकारक ?

ग्रह बन्‍न नसकेका आकाशीय पिण्डहरुलाई छुद्र ग्रहको रुपमा लिने गरिन्छ। '१९९८–ओआर–२' नामक यो ग्रह अन्य छुद्र ग्रहको तुलनामा ठूलो हो।
गोविन्द पोखरेल

काठमाडौँ — मंगलबार रातिबाट पृथ्वी नजिकै आउने भनिएको छुद्र ग्रह (एस्टोरोइड) देखि आत्तिइहाल्नुपर्ने अवस्था नरहेको नासाले जनाएको छ। नासाका प्लानेटरी डिफेन्स अफिसर लिन्डी जोनशनले नासा टीभीको लाइभ कार्यक्रममा सोधिएको प्रश्नमा अप्रिल २९ मा पृथ्वीको नजिक आउने उक्त छुद्र ग्रहबाट कुनै खतरा नरहेको बताएका हुन्।

'१९९८–ओआर–२' नाम गरेको उक्त छुद्र ग्रहलाई नासाले २० वर्षदेखि ट्र्याक गर्दै आइरहेको नासाका जेट प्रपलसन ल्याबोरोटरीस्थित सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज (सिनियोस) का निर्देशक पल्स चोडसले उल्लेख गरेका छन्।

नासाका अनुसार यो छुद्र ग्रहको चौडाइ २ देखि ३ किलोमिटर र १ देखि २ माइल लम्बाइ रहेको छ। पृथ्वी नजिक आउने आकाशीय पिण्डहरुमध्ये केही ठूलो भएकाले यसलाई नासाले ट्र्याक गरेको जनाइएको छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले सोमबार एक विज्ञप्ति जारी गर्दै यो छुद्र ग्रहबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ। नासोको अनुसार छुद्र ग्रह पृथ्वीभन्दा ६२ लाख ८२ हजार किलोमिटर टाढा रहनेछ। यो दुरी चन्द्रमा र पृथ्वीबीचको दुरीभन्दा १६ गुणाले टाढा हो। पृथ्वी र चन्द्रामा बीचको दुरी ३ लाख ८४ हजार किलोमिटर छ।

प्राध्यापक एवं कस्मोलोजिस्ट उदयराज खनालले यो ग्रह धेरै टाढा भएकाले पृथ्वीमा आउने कुनै सम्भावना नरहेको बताए। पृथ्वीमा अन्यत्रबाट धुलो, कण तथा आकाशीय पिण्ड खस्ने गरेको उनको भनाइ छ।

अन्तरिक्ष विज्ञानमा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिक विज्ञान विभागका प्रमुख विनील अर्यालका अनुसार यो छुद्र ग्रह अन्य छुद्र ग्रहको तुलानामा ठूलो हो। 'ठूलो भए पनि पृथ्वी र चन्द्रामाबीचको दूरीभन्दा धेरै गुणा टाढा हुने भएकाले खतरा छैन,' उनले भने।

के हो छुद्र ग्रह ?

प्राध्यापक अर्यालका अनुसार ग्रह बन्न नसकेका आकाशीय पिण्डहरुलाई छुद्र ग्रहको रुपमा लिने गरिन्छ। सौर्य मण्डलमा धेरै आकाशीय पिण्ड रहेको र तिनले पनि सूर्यलाई परिक्रमा गर्ने गरेको अर्यालले बताए। छुद्र ग्रहलाई आकारको आधारमा विभिन्न भागमा विभाजन गरिएको छ। अन्तरिक्षमा ५ सय किलोमिटरभन्दा ठूलो आकार भएका छुद्र ग्रह ३ वटा रेकर्ड गरिएको छ।

यस्तै सय किलोमिटर भएका करिब २ सय वटा, ५ किलोमिटरसम्मका ९० हजार, ३ किलोमिटरसम्मका २ लाखभन्दा बढी छुद्र ग्रह सौर्य मण्डलमा घुमिरहेको उनले बताए। 'मंगल ग्रहदेखि र बृहस्पतिसम्मको खाली भागमा सूर्यलाई परिक्रमा गर्ने धुलो, कण, छुद्र ग्रह, ढुंगा लगायतका वस्तु धेरै छन्,' प्राध्यापक उदयराज खनाल भन्छन्, 'ती वस्तुलाई अन्य ठूला आकाशीय पिण्ड (ग्रह, सूर्य) ले पनि आफूतिर तान्ने गरेकाले गुरुत्वाकर्षणका कारण घुमिरहेका छन्।' त्यस्ता आकाशीय पिण्ड नै पृथ्वीमा नियमित रुपमा खस्ने गरेको अर्यालले बताए।

पृथ्वीमा खसे कति हानिकारक?

पृथ्वीमा दैनिक रुपमा आकाशीय पिण्डहरु खस्ने गरेको वैज्ञानिकहरु बताउँछन्। १ दशमलव ४ किलोमिटरसम्म छुद्र ग्रह/आकाशीय पिण्ड पृथ्वीको सतहमा खसे धेरै नै क्षति हुन्छ। यस्ता पिण्डबाट उत्पन्न हुने ऊर्जाले समग्र पृथ्वी र यहाँ भएका जैविक प्रणालीलाई प्रभाव पर्ने प्राध्यापक अर्यालले बताए। अहिलेसम्म ठूला छुद्र ग्रह पृथ्वीमा ५ लाख वर्षको अन्तरालमा खस्ने गरेको अध्ययनले देखाएको उनले जानकारी दिए।

१९९८-ओआर-२ छुद्र ग्रह । तस्बिरः नासा

अर्यालका अनुसार सानो आकारका 'एस्टोरोइड'हरु पृथ्वीतिर आइरहेका हुन्छन्। पृथ्वीमा आइरहने स-साना चौडाइ मिटरका त्यस्ता आकाशीय वस्तु वायुमण्डलको माथिल्लो सतहमा बिलाएर जान्छन्। यदाकदा केही आकाशीय टुक्रा भने खस्ने गरेका छन्। यस्ता पिण्ड र कणहरुले पृथ्वीको तौल बढिरहेको उनले सुनाए।

स-साना पिण्ड वायुमण्डलसँगको घर्षणबाट उत्पन्न हुने तापका कारण त्यतिकै बिलेर बिलाउने गरेको उनले बताए। यस्ता बिलाएर जाने पिण्डलाई तारा खसेको भन्ने गरिन्छ। 'प्राय: आकाशीय पिण्डहरु धातु वा अन्य कुनै गह्रौं वस्तुबाट बनेको भनिन्छ,' प्राध्यापक अर्यालले भने, 'तर स-साना एस्टोरोइडमा केके वस्तु हुन्छ भन्ने कुरा अझै पनि थाहा हुन सकेको छैन।'

एक सय किलोमिटरभन्दा बढी व्‍यास भएका एस्टोरोइडको भित्री भाग फलामभन्दा कडा वस्तु, बीच भागमा आइस (विभिन्न ग्यासको आइस), सतहमा कार्बन हुने गरेको छ। ठूला छुद्र ग्रहको सतहमा एमिनो एसिड पनि भेटिने गरेको अर्याल बताउँछन्।

'१९९८–ओआर–२' छुद्र ग्रहलाई देख्न सकिन्छ ?

यो छुद्र ग्रहलाई नासाले नियर अर्थ अब्जेक्ट भनेको छ। पृथ्वीदेखि ३० मिलियन माइल नजिक देखिने आकाशीय पिण्डहरुलाई नियर अर्थ अब्जेक्ट भनिन्छ। दूरीका हिसाबले धेरै टाढा भएकाले यसलाई आँखाले देख्न नसकिने वैज्ञानिकहरुले बताएका छन्।

नेपाली समय अनुसार मंगलबार राति ११ बजेदेखि यसलाई देख्‍न सकिने प्राध्यापक अर्यालले बताए। यसका लागि विभिन्न मुलुकहरुले भर्चुअल अब्जर्भेसन गर्ने गरेका छन्। तर, यो छुद्र ग्रह हेर्नका लागि टेलिस्कोप आवश्यक पर्छ।

प्रकाशित : वैशाख १६, २०७७ १९:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×