कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

‘रफ–लोगो’ थियो, मलाई थाहै नदिई फाइनल गरिएछ : मुखिया

‘कलाको सम्मान हुँदैन भने पारिश्रमिक फिर्ता लैजानुहोस्’
देवेन्द्र भट्टराई

काठमाडौँ — संघीय सांसदहरुले छातीमा टाँसेर हिड्ने लोगोका परिकल्पनाकार टेकवीर मुखिया अहिले आफैं अचम्ममा परेका छन् । आफूले संसदमा बुझाएको लोगोमाथि जबरजस्ती रंग–माटो थोपरेजस्तो आकृतिमा सोमबार त्यो संघीय लोगो सार्वजनिक भएपछि उनी रातैभर सुत्न सकेनन् ।

‘रफ–लोगो’ थियो, मलाई थाहै नदिई फाइनल गरिएछ : मुखिया

‘मैंले दुइवटा लोगोको खाका बुझाएको थिएँ, छानिएपछि खबर गर्नुहोला, म त्यसलाई फाइनल गरौंला भनेकै थिएँ,’ मंगलबार बिहानै भैंसेपाटी निवासमा भेटिएका ८७ बर्षिय कलाकार मुखिया केही रिसाएको लवजमा भन्दै थिए, ‘यसरी आफूखुशी जे गर्न पनि पाइन्छ ? हिजो टेलिभिजनमा देखेरमात्रै थाहा पाएँ, मैंले बनाएको लोगो कुनै नानीबाबुलाई फेरि बनाउन लगाएर सुन–चाँदीको जलप हालिएको जस्तै रहेछ ।’

नभन्दै मुखियाले परिकल्पना गरेको र बनाएको ‘स्याम्पल लोगो’मा यसरी भद्दापन जोडिएको थिएन । सोमबार संघीय संसदको ‘जलपयुक्त लोगो’ सार्वजनिक भएपछि र सांसदहरु समेतले यो चिन्हमा आक्रोश जनाएपछि राष्ट्रिय सभा अध्यक्षका प्रेस विज्ञ अशोक पौडेलले यसबारेमा ‘बचाउ’ गर्दै फेसबुकमार्फत प्रतिक्रिया दिइसकेका छन् । उनका अनुसार, मुखियाले बनाएको लोगोलाई पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालयमा रहेका कालीगढले हातैले कुँदेर यो पछिल्लो लोगो तयार गरिएको हो ।

‘संसदका कर्मचारीले मेरै घरमा आएर दिनभर ढुकेर पहिलो चरणमा लोगो बनाउन लगाएका थिए, मैले यो लोगोको खाका ‘रफ’ हो है भनेको थिएँ । पछि संसदको एउटा बैठकमा पनि यसबारे छलफल गर्दा मलाई बोलाइएको थियो,’ मुखियाले भने, ‘तर, म कलाकार स्वयमले ‘रफ’ र ‘स्याम्पल कपी’ भनिरहेकै बेला त्यही डिजाइनलाई ‘रिप्लिका’ झैं गरेर जबरजस्ती प्रयोगमा ल्याइएको हिजो मात्रै थाहा पाएँ । त्यो लोगो छानिएपछि म त्यसलाई फाइनल गरौंला भनेकै थिएँ, तर कहींकतैबाट कसैले यसबारे जानकारी दिएन ।’

उनले बुझाएका दुई लोगोमध्ये पारित भएकोमा महिला–पुरुषको हातले घेरिएको नेपालको नयाँ नक्सा र झण्डा उल्लेख छ, पारित हुन नसकेको अर्को लोगोमा जौको बालाले घेरिएको प्रतीक चिन्ह रहेको छ ।

विगतमा पञ्चायतकाल, प्रजातन्त्र र गणतन्त्रका तीनवटा संसदीय लोगो डिजाइन गरेर राष्ट्रको चिनारीमा जोडिँदै आएका प्रखर कलाकार मुखियाले ‘सरकारी पद्धति र कार्यशैलीका कारण यसपटक आफ्नो नाम र पहिचान बिगार्ने काम भएकोमा’ चिन्ता पनि व्यक्त गरे ।

यो लोगो बनाएबापत मुखियालाई सरकारले ५० हजार रुपैयाँ दिएको थियो । कर काटेर ४२ हजार रुपैयाँ हात परेको उनले जानकारी दिए । ‘मेरो कलाको सम्मान हुँदैन र यसरी जथाभावी उपयोग गरिन्छ भने यसबापत मलाई दिइएको पारिश्रमिक म आजै फिर्ता गर्न तयार छु,’ मुखियाले भने, ‘सृजनामा रंग, कला, डिजाइनको अर्थ र महत्व के हुन्छ भनेर सुरुमा सरकारी कर्मचारीलाई बुझाउनु पनि जरुरी देखियो, यसरी जथाभावी गर्न पाइन्न ।’

यो पनि पढ्नुहोस् :

‘मुखिया’ ब्रान्ड सांसद-लोगो

प्रकाशित : भाद्र २, २०७७ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?