कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘मुखिया’ ब्रान्ड सांसद-लोगो

‘ल, मुखियाजी यति सानो काम गरिदिनुपर्‍यो भन्दै कोही किताबका ठेली बोकेर आउँछन्, कोही मुहारचित्रका निम्ति धाउँछन्,’ उनी भन्छन्, ‘तर काम सकिएपछि पैसाको त के कुरा, धन्यवाद भन्नेहरू पनि मुस्किलले भेटिन्छन् ।’
देवेन्द्र भट्टराई

काठमाडौँ — जीवनको आधा शताब्दीभन्दा लामो सिर्जनशील समयमा उनले हजारौं कलाकृति, आवरण कला, तेलरंगका रेखा र मुहारचित्रहरू बनाए । कलाकार टेकवीर मुखियालाई ८७ वर्षे जीवनको यो खुड्किलोमा सबैभन्दा अपनत्व र चिनारीले भरिएको सिर्जना लाग्ने गर्छ– देशभरका संघीय सांसदहरूले लगाउने प्रतीक चिह्न अर्थात लोगो ।

‘मुखिया’ ब्रान्ड सांसद-लोगो

‘अस्ति आइतबार मात्रै मलाई सिंहदरबार आउन भनियो, नेपालको राजनीतिक र प्रशासनिक नक्सा फेरिएपछि स्वाभाविक रूपमा सांसदहरूले लगाउने ‘लोगो’ परिमार्जन गर्नुपर्ने भएको रहेछ,’ सरकारले अह्राएको काम दिनरात लगाएर पूरा गरेपछि भैंसेपाटीस्थित आफ्नै निवासमा सुस्ताइरहेका कलाकार मुखियाले भने, ‘एकै दिनमा संशोधन पूरा गर्नु थियो, सोमबार अपराह्न मात्रै नयाँ लोगो डिजाइन बुझाइसकेको छु ।’

उनले बुझाएको ‘लोगो’ कै प्रतीक चिह्न सामुमा राखेर मंगलबार संघीय संसद्को बैठक पनि सञ्चालन भइसकेको छ । संसद्को प्रतीक चिह्न र पोसाक कार्यव्यवस्था समितिको बैठकको सिफारिसमा सभामुख वा अध्यक्षले तोकेबमोजिम हुने भएकाले यो लोगो मंगलबारबाटै कार्यान्वयनमा आइसकेको छ । अब ‘मेटल लोगो’ बन्न केही समय लाग्ने भएकाले त्यसपछि मात्रै संघीय सांसदहरूले प्रयोगमा ल्याउन थाल्नेछन् ।

‘यो हेर्दा सामान्य लाग्ने कुरा हो,’ मुखियाले रंग, रेखा र चित्रको संयोजनमाझ बितेको आफ्नो जीवनका अरू केही चित्रमयी क्षणहरू पनि सुनाउन चाहे– ‘मैले पञ्चायत, प्रजातन्त्र र गणतन्त्रका तीनैवटा कालखण्डमा सांसदले लगाउने लोगो डिजाइन गर्ने अवसर पाएँ । यसरी, राष्ट्रको चिनारीमा लगातार जोडिन पाउनु मेरो सबैभन्दा खुसीको क्षण हो ।’

उसो त मुखियाले यसपटक पनि दुई खालको ‘लोगो’ संसद्मा बुझाएका थिए । एउटामा जौको बालाले घेरिएको प्रतीक चिह्न थियो, अर्कोमा महिला–पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा । ‘मैले आफ्ना विगतका यस्तै मानक डिजाइन र लोगोहरूमा जहिल्यै पनि जौको बालाको प्रयोग गरेको छु,’ मुखिया भन्छन्, ‘यो सृष्टिमा उब्जिएको सबैभन्दा पहिलो अनाज (अन्न) हो, यो अन्नलाई सबै धर्मावलम्बी र भूगोलमा पवित्र रूपमा लिइन्छ । यही अर्थमा जौलाई प्रतीकतात्मक रूपमा राख्ने गरेको थिएँ । यसपटक भने यो लोगो स्वीकृत भएन ।’

दार्जिलिङको धजेकमानमा जन्मे–हुर्केका मुखिया साथीभाइको संगत र ‘फिरन्ता’ स्वभावकै कारण २०२२ सालमा कोलकाता हुँदै काठमाडौं उत्रिएका थिए । ‘जोरगणेश प्रेसमा किताबमा चित्र कोर्ने, काठे ब्लकमा कभर नक्सा उतार्ने काम गर्थेँ,’ आफ्नो जीवन संघर्षका ती दिनहरू सम्झिरहेका थिए– ‘२०२५ सालपछि भने झन्डै ३० वर्षजति साझा प्रकाशनसँग सम्बद्ध रहेँ ।’ हुन पनि साझा प्रकाशनले निकालेका ‘बसाइ’, ‘मुनामदन’, ‘गौरी’, ‘शिरीषको फूल’ लगायतका सयौं पुस्तकको आवरण सम्झनासाथै पाठकवर्गलाई ‘मु. ब्रान्ड’को स्मरण भइहाल्छ । सुरुमा ‘मु.’ मात्रै संकेतमा चित्र कोर्दा कतिपयले यो नाममा अनर्थ लगाएपछि उनी पछि भने ‘मुखिया’ मा रूपान्तरित भएका थिए ।

‘काठमाडौं छिर्नासाथै लेखक रामनाथ पाँडेको साथसंगत निकै थियो । पछि बालकृष्ण सम, लैनसिंह वाङ्देलजस्ता अग्रज स्रष्टाका कारण कला जगत्मा अलग्गै प्रभाव र निखार समातेर अघि बढ्न थालेको हुँ,’ मुखिया सम्झन्छन् । यसरी ‘मुखिया ब्रान्ड’ स्थापित भइसकेपछि पनि एउटा कला र कलाकारका निम्ति आर्थिक उपार्जन र कलाअनुसारको मूल्य पाउनै नसकिएको उनको अनुभव छ । मंगलबारबाट उपयोगमा आएको संघीय सांसदको लोगोअघि अर्को लोगो २०६२/६३ को आन्दोलनपछि बनेको थियो । त्यसका लागि दिने भनिएको ५० हजार रुपैयाँको पारिश्रमिक पनि उनले झन्डै ५ वर्षपछि मात्रै पाएका थिए, त्यो पनि मिडियाले यसबारेको सरोकार उठाइदिएपछि ।

‘ल, मुखियाजी यति सानो काम गरिदिनुपर्‍यो भन्दै कोही किताबका ठेली बोकेर आउँछन्, कोही मुहारचित्रका निम्ति धाउँछन्,’ मुखिया भन्छन्, ‘तर काम सकिएपछि पैसाको त के कुरा, धन्यवाद भन्नेहरू पनि मुस्किलले भेटिन्छन् । अरू त के कुरा गर्ने, एक दशकअघि मलाई हाम्रो सरकारले दिएकै राष्ट्रिय प्रतिभा पुरस्कारमा १ लाख रुपैयाँ रकम छ भनिएको थियो, मलाई भने १५ हजार रुपैयाँ मात्रै दिइयो । बुझिहेर्दा सरकार आफैं बेखर्ची छ भनियो ।’

अब भने अरू कसैका आग्रह वा अनुरोधका पुस्तक आवरण, मुहारचित्र बनाउनतिर नलागी एक वर्षको समय खर्चेर विशुद्ध तेलरंगका कलाकृति सिर्जना गर्नमा मुखिया लाग्ने भएका छन् । ‘एक दर्जनभन्दा बढी कलाकृति पुगेपछि त्यसको प्रदर्शनी गर्नेछु, सायद मेरो जीवनको अन्तिम प्रदर्शनी त्यही पनि हुन सक्छ,’ आफ्नो इच्छाको कुरा खोतल्दै मुखियाले सुनाए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?