कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-भारत संवादमा मुख्य विषय प्रवेश हुनै बाँकी

‘अहिलेका मूल मुद्दा र तिनको चुरोमा प्रवेश नगरी सबै समस्या हल भइहाल्ने भनेर अति उत्साह जनाइराख्नुको पनि अर्थ रहन्न’
देवेन्द्र भट्टराई

काठमाडौँ — भारतको गणतन्त्र दिवसका अवसरमा गत शनिबार नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको शिष्टाचार फोनवार्ता र द्विदेशीय संयुक्त निगरानी संयन्त्रको सोमबार सम्पन्न ‘भर्चुअल’ बैठककै भरमा दुई देशबीच थाती रहेका महत्त्वपूर्ण मुद्दा तथा विशेषतः सीमा समस्यामा संवादको संकेत देखिएको भन्न नमिल्ने कूटनीतिक मामलाका जानकारले बताएका छन् ।

नेपाल-भारत संवादमा मुख्य विषय प्रवेश हुनै बाँकी

भारतको गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिएको शुभकामना सन्देशपछि दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले निकै उत्साहित स्वरमा ‘दुई देशबीच निकटतम र मित्रवत् सम्बन्ध रहेको’ भन्दै दुई देशबीचका साना वा ठूला समस्या यसैगरी संवादबाटै हल हुने विश्वास जनाएका थिए । ‘संवादहीनता जारी रहेको अवस्थाभन्दा यसरी संवादको थालनी हुनु महत्त्वपूर्ण पक्ष हो,’ भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भने, ‘तर, अहिलेका मूल मुद्दा र यसको चुरोमा विषय प्रवेश नभई सबै समस्या हल भइहाल्ने भनेर अति उत्साह जनाइराख्नुको पनि अर्थ रहन्न ।’

परराष्ट्र सचिव शंकर बैरागी र भारतीय राजदूत विनयमोहन क्वात्रा तहको सोमबार सम्पन्न भर्चुअल संवादलाई ‘नियमित प्रक्रियाको वार्ता’ भन्दै कूटनीतिज्ञ भेखबहादुर थापाले यसलाई ‘निरन्तर चल्ने गतिविधि’ का रूपमा लिन उपयुक्त हुने बताए । ‘योभन्दा पनि महत्त्वपूर्ण दुई देशका प्रधानमन्त्री तहमा भएको कुराकानीलाई मान्न सकिन्छ,’ उनले भने, ‘आपसी तहमा रहेका समस्याको समाधान वार्ताका माध्यमबाट गरिने भनेर दुई देशका प्रधानमन्त्रीले भन्नु भनेकै एउटा संकेत हो । तर यो संकेतलाई भारतीय प्रशासनयन्त्र, सेना, सुरक्षाले कत्तिको ग्रहण गर्न सकेका छन्, हेर्न बाँकी छ ।’ तर झन्डै चार महिनायता नेपाल र भारतबीच संवादहीन स्थिति रहेकामा नेपालकै अग्रसरतामा र गणतन्त्र दिवसको विशेष अवसरमा संवादको सुरुवात हुनुलाई थापाले सकारात्मक रूपमा लिएका छन् ।

पूर्व राजदूत उपाध्याय भने संयन्त्रकै बैठक भए पनि यसलाई ‘अवसर ठानेर’ आफ्नो सरोकार र मुद्दालाई विषय प्रवेश गराइहाल्नु बुद्धिमत्ता हुने धारणा राख्छन् । ‘हाम्रो समस्या भनेकै उठाउनुपर्ने मामलामा निरन्तरता रहन्न, प्राथमिकता पनि देखिन्न,’ उनले भने, ‘यो समस्या आजको मात्रै होइन, विगतदेखिकै हो ।’ सीमा विवादको अड्किएको प्रमुख विषयबाहेक द्विदेशीय रूपमा आयात–निर्यात वा विकास संरचनाजस्ता विषयहरू अहिलेको कठिन समयमा पनि निरन्तर भइरहेको उदाहरण दिँदै उपाध्यायले ‘संवादहीनता’ को अहिलेको मुद्दा सीमा समस्या र यसमा आ–आफ्नो अडान भएकाले यही विषयमा केन्द्रित रहेर विषय प्रवेश हुनुपर्ने सुझाव दिए ।

कोरोना कहरका कारण सोमबारको भर्चुअल बैठक औपचारिकताका लागि र संवाद खुलाउनकै लागि मात्रै बसेको जस्तो लागेको बैठकमा सहभागी परराष्ट्रकै एक अधिकारीले बताए । ‘यसपटक पनि औपचारिकताकै लागि जनकपुर–अयोध्या रामायण सर्किट छलफल एजेन्डामा राखिएको थियो, जबकि राम जन्मभूमि र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद भनाइ दोहोर्‍याइरहेको विषयमा दुवै पक्षका वार्ताकार जानकार थिए,’ उनले भने । प्रधानमन्त्री ओलीको भनाइले द्विदेशीय धार्मिक–सांस्कृतिक सम्बन्धमा असहज स्थिति उब्जिएपछि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइ बचाउ गर्दै ‘रामको जन्मभूमिबारे थप अध्ययन–अनुसन्धान गर्न सकिने’ स्पष्टीकरण जारी गरेको थियो ।

आपसी सरोकारका र अल्झिएका विषय उठाउन सकिने निगरानी संयन्त्रको बैठक भनिए पनि परराष्ट्र मन्त्रालयका अधिकारीले सीमा मामिला, ईपीजी प्रतिवेदन, भूकम्पपछिको पुनर्निर्माणमा भारतले दिने भनेको अनुदानको अड्चन आदिबारे लिखित वा मौखिक सामान्य सरोकार पनि राख्न सकेका थिएनन् । ‘संवादहीन थियो, संवाद सुरु भयो भनेर खुसी हुने अवस्था छ,’ परराष्ट्रका ती अधिकारीले भने, ‘उपलब्धि भनेकै भारतीय राजदूत र परराष्ट्र सचिव तहमा भर्चुअल तहमा संवाद भयो भन्ने हो ।’

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?