नेपाल-भारत संयुक्त निगरानी संयन्त्र बैठक : ‘भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक’

जगदीश्वर पाण्डे

काठमाडौँ — सोमबार बसेको ‘नेपाल–भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) को बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । भर्चुअल माध्यमबाट भएको बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका थिए ।

नेपाल-भारत संयुक्त निगरानी संयन्त्र बैठक : ‘भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक’

उनको साथमा परराष्ट्र मन्त्रालयमा अन्य मन्त्रालयका सम्बन्धित पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । यस्तै, भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए । साथमा भारतीय दूतावासका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

बैठकमा अहिलेसम्म आयोजनाहरुको प्रगतिलाई सन्तोषजनक मान्दै आवश्यकताअनुसार थप सहकार्य गरेर परियोजनाहरुलाई टुंग्याउने भन्ने छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौड्यालले कान्तिपुरलाई जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा तराईका सडक, सीमापार रेल, अरुण–३ हाइड्रोपावर परियोजना, पेट्रोलियन पाइप लाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुननिर्माण, सिंचाइ, प्रसारण लाइन, नेपाल पुलिस एकेडेमीको निर्माण, एकीकृत जाँच चौकी, रामायण सर्किट, महाकाली नदीमा पुल, कृषि, सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा छलफल भएको छ । दुवै पक्षले कार्यान्वयन गर्दा आइपर्ने आवश्यक सहयोगलाई समयमै हल गर्ने सम्बन्धमा सहमति जनाएका थिए ।

बैठकपछि विज्ञप्ति निकाल्दै भारतीय दूतावासले सन् २०१६ मा भारतीय परियोजनाहरुको प्रगतिको संयुक्त निगरानीको लागि बनेको उक्त संयन्त्रको बैठकमा आफ्नो तर्फबाट राजदूत क्वात्रासहित कार्यान्वयनमा नेपालका विभिन्न मन्त्रालयका पदाधिकारीहरु तथा संलग्न ठेकेदार र परामर्शदाताको पनि उपस्थिति रहेको जनाएको छ ।

दूतावासले पछिल्लो एक वर्षमा भारत सरकारले नुवाकोट र गोरखामा भूकम्प प्रभावितहरुलाई ४६ हजार ३०१ घर निर्माणमा सहयोग गरेको जनाएको छ । भारत सरकारले नेपालका भूकम्प प्रभावितहरुलाई ५० हजार घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेको थियो । दूतावासले मोतिहारी–अमलेखगञ्ज सीमापार पेट्रोलियम पाइपलाइनको सञ्चालन, विराटनगरमा एकीकृत जाँच चौकी तथा कोभिड–१९ सम्बन्धी विषयमा पनि नेपाललाई सहयोग गरेको जनाएको छ । ‘कोभिड–१९ को समयमा पनि नेपाललाई आवश्यक समयमा स्वास्थ्य सामग्री र औषधि सामग्री भारतले सहयोग गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैठकमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरुको अनुगमन र समीक्षा गर्ने, केही अप्ठेरो अवस्था छ भने त्यसको गाँठा फुकाउने सहमति भएको छ ।

नेपालमा भारतीय सहयोगमा एकीकृत जाँच चौकी, ऊर्जा, पुल, सिंचाइ, रेल, सडक, कृषि तथा भूकम्पपछिको पुनर्निर्माणलगायत क्षेत्रमा काम भइरहेका छन् । ती क्षेत्रमा भइरहेको कामको प्रगति, बाधा अड्चन र समाधानका लागि आवश्यक पर्ने विषयमा संयन्त्रको बैठकमा कुरा भएको छ ।

भारतले नेपालमा लगानी गरेको परियोजनाहरुको कामको नतिजा राम्रो नभएपछि दुई सरकारबीच उक्त संयन्त्र बनाउने निर्णय भएको थियो ।

यसअघि २०७६ असार २३ मा बसेको सातौं संयन्त्रको बैठकले परियोजनाहरुको सहज कार्यान्वयनमा जोड दिएको थियो । संयन्त्रको पहिलो, दोस्रो र तेस्रो बैठक २०७३ मा क्रमश मंसिर १४, माघ १७ र चैत ३० मा बसेको थियो । चौथो र पाचौं बैठक २०७४ साल असार २२ र कात्तिक २१ मा बसेको थियो । छैटौं बैठक २०७५ साउन २ मा बसेको थियो ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समेटेर नयाँ नक्सा प्रकाशित गरेसँगै नेपाली भूमि हुँदै सडक निर्माण गरेसँगै संयुक्त निगरानी संयन्त्रको बैठक रोकिएको थियो । त्यसलगत्तै नेपालले पनि आफ्नो प्रमाणको आधारमा नयाँ नक्सा जारी गरेको थियो । लगत्तै दुई मुलुकबीचको संवादको श्रृंखला तोडिएको थियो ।

नेपाल–भारत संवादहीनतालाई शनिबार भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत कुराकानी गरेका थिए ।

प्रकाशित : भाद्र १, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?