प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव : ‘क्षेत्र हेरेर लकडाउन, संक्रमण बढे सिल’- समाचार - कान्तिपुर समाचार

प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव : ‘क्षेत्र हेरेर लकडाउन, संक्रमण बढे सिल’

लकडाउन पूर्ण रुपमा खोलेको घोषणा गर्दा गलत सन्देश गएकाले खुकुलोमात्र भएको हो भन्नुपर्नेमा जोड
जगदीश्वर पाण्डे, स्वरूप आचार्य

काठमाडौँ — स्वास्थ्य विज्ञहरूले कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि क्षेत्र हेरेर लकडाउन गर्न र संक्रमण बढे सम्बन्धित स्थानमा सिल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री ओली, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका सदस्य र राजनीतिक दलका नेता सम्मिलित बैठकमा मंगलबार विज्ञहरूले अस्पतालमा आईसीयू र भेन्टिलेटर बढाउन पनि जोड दिएका छन् । 

बालुवाटारमा करिब साढे ४ घण्टा चलेको बैठकमा विज्ञहरूबाट २१ दिन तोकेर कर्फ्यु लगाउनेसम्मका सुझाव आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणमा नागरिक उत्तरदायित्व बढाउने सुझाव आएको पनि बताए । ‘प्रधानमन्त्रीज्यूले आवश्यक र जायज सुझाव कार्यान्वयन गरी सरकार अगाडि बढ्ने र सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने उल्लेख गर्नुभयो,’ थापाले भने ।

बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सीसीएमसी निर्देशक समितिमा रहेका मन्त्रीहरूसँगै डा. शरद वन्त, डा. महेश मास्के, डा. भगवान् कोइराला, डा. दिव्यासिंह शाह, डा. सुवास आचार्य, डा. अर्जुन कार्की, स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलगायतको उपस्थिति थियो ।

जनस्वास्थ्यविद् समीरमणि दीक्षितले लकडाउनको ढाँचा परिवर्तन गर्नुपर्छ भन्ने सुझाव आफूहरूले दिएको जानकारी दिए । ‘जहाँ–जहाँ संक्रमण छ, त्यहाँ लकडाउन कडा बनाउनुपर्छ । मान्छेलाई यो लकडाउन पूर्ण रूपमा खुलेको होइन, खुकुलो मात्र भएको हो भन्ने सन्देश दिनुपर्‍यो, राज्यले पनि खुला नभनीकन खुकुलो भन्ने शब्द चलाउनुपर्छ भनेर सुझाव दियौं,’ उनले भने, ‘जुन वडामा संक्रमण छ, त्यहाँ कडा गर्नुहोस्, अरू वडामा वा क्षेत्रमा कडा गर्नुपर्दैन भन्यौं । मास्क अनिवार्य गराउन, भीडभाड नगराउन पनि सुझाव दिएका छौं । परीक्षणलाई अझ बढाउनुपर्छ पनि भनेका छौं ।’

बैठकमा सहभागी एक स्वास्थ्यविज्ञले सरकारले लकडाउन पूर्ण रूपमा खोलेको घोषणा गर्दा गलत सन्देश गएको बताएका थिए । ‘बढी मान्छे जम्मा हुने स्कुल, नाका, विमान अझै खोल्न हुन्न,’ ती विज्ञले भने, ‘लकडाउन गरे पनि क्षेत्रअनुसार जहाँ बढी छ, त्यहीं गर्नुपर्छ । अस्ति त लकडाउन प्रभावकारी भएन । तर जुन क्षेत्रमा लकडाउन गर्ने हो त्यहाँचाहिँ कडा हुनुपर्ने गरी अब काम गर्नुपर्छ ।’

चिकित्सकहरूले कोरोना संक्रमण आएको ५ महिना हुँदासमेत सरकारले पर्याप्त भौतिक पूर्वाधार व्यवस्था गर्न नसकेको, एउटै वा छुट्टा–छुट्टै अस्पतालहरू कोरोना उपचारका लागि पूर्ण रूपमा तयारी अवस्थामा नरहेको, सबै स्वास्थ्य कर्मीलाई जोखिम भत्ता उपलब्ध नभएको, कोरोना लागेको बिरामी अस्पताल ल्याएर उपचार गर्नुपर्दा सरकारी संयन्त्रहरूबीच सहकार्य नभएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक महेन्द्रप्रसाद गुरागाईंले कोभिड–१९ संक्रमण बढिरहे पनि लकडाउन लगाउने वा नलगाउने भन्नेबारे कुनै निर्णय नगरेको बताए । उनले संक्रमणको अवस्थालाई सीसीएमसी सचिवालय र सरकारले गम्भीर रूपमा हेरिरहेको उल्लेख गर्दै आवश्यकताअनुसार सरकारले कदम चाल्ने बताए ।

मेरै पार्टीबाट पनि जनताप्रति बेवास्ता : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरसको जोखिम भएर सरकारले नै २५ जनाभन्दा बढी जम्मा नहुनू भनिरहेका बेला आफ्नै पार्टी (नेकपा) का नेताहरूले केन्द्रीय कमिटीको बैठक तुरुन्त चाहियो भनेर जनताप्रति बेवास्ता गरेको टिप्पणी गरेका छन् । ‘केही मानिस र केही संस्थाहरूमा अत्यन्त गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्नुपर्दा अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा छ । २५ जनाभन्दा बढी हामीले जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४ सय ५० सदस्यीय केन्द्रीय कमिटीको बैठक तरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो ? कसरी बस्ने हो ?’ विज्ञहरूसँगको बैठकमा उनले भने, ‘अहिले बस्नुपर्‍यो, भोलि बस्नुपर्‍यो, त्यसबाहेक केही छैन भन्ने छ । यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरबाही, बेवास्ता गर्ने र आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्ति व्यापक रूपमा देखिन्छ ।’

ओलीले देश संकटमा भएका बेला सरकारको विरोध गर्ने माध्यमबाट जे गरे विरोध हुने बताए । सञ्चारमाध्यमलाई इंगित गर्दै उनले भने, ‘उता पल्टाए पनि विरोध गर्ने, क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन भन्ने, लकडाउन गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ?’ ओलीले आफूले सुरुदेखि जनताको जीवनभन्दा ठूलो कुरा केही छैन भन्दै आएको उल्लेख गर्दै भने, ‘पहिलो कुरा जनताको जीवन रक्षाको प्रश्न हो । त्यस प्रश्नमा केन्द्रित भएर अघि बढ्न जरुरी छ । र, त्यसका निम्ति सिंगै देश एकजुट हुन जरुरी छ ।’

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको लडाइँमा हरेक व्यक्ति एउटा सिपाही रहेको धारणा राखे । उनले स्थल र हवाई मार्ग हुँदै विदेशबाट मान्छे आउन दिइरहे स्थिति भयावह हुने बताए । ओलीले सडकमा गएर काम गर्नुपर्दा प्रहरीलाई संक्रमण भएको बताए । ‘संक्रमित मान्छेसँग उनीहरूले डिल गर्नुपरेको छ । अनेक काममा उनीहरू छन्,’ उनले भने । सरकारले बाढीपहिरो गएको ठाउँमा तत्काल उद्धार टोली पठाएको बताए । ‘तर बौद्धिकजगत्को टिप्पणीहरू सुन्छु– कहाँ छ सरकार ?’ उनले भने ।

देउवाको ७ बुँदे सुझाव

कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ संक्रमणका बेला स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न माग गरेका छन् । ७ बुँदे सुझाव र माग पेस गर्दै उनले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा, स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारमाथि छानबिन र कारबाही गर्नुपर्ने आवाज उठाए ।

सभापति देउवाले आरडीटी परीक्षण स्थायी रूपले अन्त्य गर्न, हरेक प्रदेशमा एक लाखको पीसीआर परीक्षण गर्ने गरी बन्दोबस्त मिलाउन, स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध गर्न, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटर व्यवस्था गर्न, मापदण्डअनुरूप क्वारेन्टाइनहरूको यथाशीघ्र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षणपश्चात् घर पुर्‍याउने व्यवस्था गर्न, नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा कडाइ गर्न, मास्क अनिवार्य गराउँदै चेतनामूलक अभियानमा आमसञ्चारमाध्यमको व्यापक प्रयोग गर्न उनले सरकारलाई सुझाव दिएका छन् ।

देउवाले परिस्थिति अनुरूपका रणनीति निर्माण गर्न विज्ञहरूसँग परामर्श गर्न पनि सुझाएका छन् । उनले विभिन्न दल, संघसंस्था र आमसञ्चारमाध्यमका सुझावलाई पनि ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् । उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर ‘भिन्न क्षेत्र भिन्न रणनीति’ निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् । जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाको भावना तत्काल सम्बोधन गर्न पनि उनले माग गरेका छन् । बैठकपछि सञ्चारकर्मीसँग देउवाले ‘लकडाउन लगाउने वा नलगाउने भन्ने विषयमा राजनीतिज्ञभन्दा स्वास्थ्य विज्ञहरूसँग छलफल गर्नुपर्ने’ बताए ।

परीक्षण बढाउनुहोस् : ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर सरकारले परीक्षण बढाउनुपर्ने बताए । कोरोना भाइरसको संक्रमण बढ्दै गएको उल्लेख गर्दै उनले अस्पतालको क्षमता बढाउन पनि सुझाव दिएका छन् । उनले आइसोलेसन र क्वारेन्टाइनहरूलाई व्यवस्थित बनाउन पनि जोड दिए ।

प्रकाशित : श्रावण २१, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

सलहले खोस्यो गाँस

भेरीगंगा–१३ मा ५६३ घरको ३५०० सय रोपनीमा लगाइएको मकैबालीमा पूर्ण क्षति
किसान भन्छन्, ‘मकैबारीमा जाँदा उराठ लाग्छ, चिन्ताले सताउँछ ।’
कलेन्द्र सेजुवाल

(रामघाट, सुर्खेत) — भेरीगंगा नगरपालिका–१३, रामघाटकी मनकली सुनारले दुई रोपनी जग्गामा मकै लगाएकी थिइन् । राम्ररी फलेको भए उनको ६ जनाको परिवारलाई जेनतेन दुई महिना खान पुग्थ्यो । तर साउन पहिलो साता आएको सलहले त्यही गाँस पनि खोसिदियो ।

‘घोगा लाग्ने बेला सलह आएर बारीभरि छपक्कै बसे, भर्खर टुसाएका कोसा पनि खाइदिए,’ उनले भनिन्, ‘मकैका बोटजति काटेर घाँस बनायौं, अब के खाएर बाँच्ने हो थाहा छैन ।’

साउन ३ र ४ गते आएको सलहको ठूलो हूलले मनकली जस्तै भेरीगंगा–१३ का रामघाट, सीतापुर, करेली, बेलचौर र रामपुर गाउँका थुप्रै किसानको गाँस खोसेको छ । ५ सय ६३ घरको करिब ३ हजार ५ सय रोपनीमा लगाइएको मकैबाली पूर्णरूपमा क्षति गरेको वडा कार्यालयको भनाइ छ । टोल विकास संस्थाबाट १ हजार ९ सय ८२ क्विन्टल मकै क्षति भएको विवरण प्राप्त भएको वडाध्यक्ष टीकाराम सुवेदीले बताए । ‘यहाँका मान्छेको बाँच्ने आधार भनेकै मकै हो, त्यही पनि खाइदिएपछि ठूलो चिन्ता थपिएको छ,’ उनले भने, ‘हामीले संकलन गरेको विवरण नगरपालिका र प्रदेश सरकारलाई दिने सोच त बनाएका छौं । तर राहत पाइने/नपाइने थाहा छैन ।’

भेरीगंगा–१३ मा सिँचाइ सुविधा छैन । मकै यहाँको प्रमुख अन्नबाली हो । त्यही बाली पनि सलहले नष्ट गर्दा स्थानीय चिन्तित छन् । सीतापुरका दुर्गबहादुर डाँगीले आफ्नो ५ रोपनीमा लगाएको मकैमा एउटै घोगा पनि सद्दे नरहेको बताए । उनका अनुसार सलहले मकैको धानेबाल र चमरा खाइदिएपछि घोगामा दाना भरिएका छैनन् । मुस्किलले लागेका दाना पनि चाउरिएका छन् । ‘हेर्दाहेर्दै सलह आएर मकैबारीमा ढपक्कै भए, थाल जति ठटाए पनि गएनन्,’ उनले भने, ‘दुई दिनसम्म बारीमा बसेका सलहलाई टुलुटुलु हेरिरह्यौं, अहिले आएर मकैको यस्तो बिजोग देख्नुपर्‍यो ।’

सोही गाउँकी धनसरा भण्डारीले मकैबारीमा पस्दा उराठ लाग्ने गरेको बताइन् । उनका अनुसार पोहोर साल यतिबेला मकैका बोटमा ठुल्ठूला घोगा लाग्थे, गाउँलेहरू घोगा भाँचेर पोलेर खान्थे । अहिले पोल्नलाई पनि घोगा नरहेका उनले दुःखेसो पोखिन् । ‘बारीभित्र पस्यो भने मकैका बोट देखेर चिन्ता लाग्छ, पहिलोपटक बेसाहा गर्नुपर्ने भयो भन्ने कुराले मन कुँडिन्छ,’ उनले भनिन्, ‘मेरो बारीका मकैमा त पात पनि बाँकी रहेनन्, कम्तीमा पात भए गाईभैंसीलाई घाँस दिन त हुन्थ्यो ।’

कर्णाली प्रदेश सरकारको प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन पहिलो साता कर्णालीमा भित्रिएको सलहको ठूलो समूहले सबैभन्दा बढी क्षति भेरीगंगा–१३ को रामघाट क्षेत्रमा पुर्‍याएको छ । धेरै बोटमा घोगा नलागेका र लागेका घोगा पनि चाउरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले जानकारी दिए । ‘मुस्किलले लागेको घोगामा पनि गेडा थोते छन्, मकैको वृद्धि–विकास हुने बेला सहलले पात र धानचमरा खाँदा यति ठूलो क्षति भएको हो,’ उनले भने, ‘क्षतिको असर अहिले आएर घोगामा देखिएको छ ।’ रामघाटका साथै मटेला, दशरथपुर, लेकबेंसीमा पनि सलहले ठूलो क्षति पुर्‍याएको उनले बताए ।

वडा कार्यालयका अनुसार यहाँको कुल खेतीयोग्य जमिनमध्ये करिब २० हजार ५ सय रोपनीमा मकै र २ सय ७० रोपनीमा धान लगाइएको छ । केही जग्गामा कोदो पनि लगाइएको छ । सलहले धानमा खासै क्षति नगरे पनि कोदोलाई मकैजत्तिकै क्षति पुर्‍याएको छ । बेलचौरकी उमा मल्लले आफ्नो १२ रोपनीमा लगाएको मकै र रहरले लगाएको कोदो खाएको बताइन् । ‘पहिले त घरलाई खान पुगेर बेच्ने पनि गर्थ्यौं,’ उनले भनिन्, ‘अहिले बेसाहा गर्नुपर्ने भयो, यस्तो दुःख त कहिले पनि हुन्थेन ।’

कर्णालीमा सलह प्रवेश गर्ने बित्तिकै निर्देशक रोकाया कृषि प्राविधिकसहित रामघाट गएर किसानलाई सलह भगाउने उपाय सिकाएका थिए । त्यसको केही दिनपछि प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी पनि रामघाट पुगेकी थिइन् । मन्त्री र कर्मचारीले आफ्ना पीडा सुने पनि राहतबारे ठोस जवाफ नपाएको किसान बताउँछन् । ‘हामीलाई राहत नगरपालिकाले दिन्छ कि सरकारले दिन्छ थाहा छैन, जताबाट भए पनि व्यवस्था गरिदिए हुन्थ्यो,’ दुर्गबहादुरले भने, ‘कोरोनाले काम गर्न नदिएर रोजीरोटी खोसेको बेला सलहले मकै सखाप पारेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ ।’ कृषिमन्त्री केसीले ‘राहतको व्यवस्था गरौंला’ भनेर आश्वासन दिए पनि अहिलेसम्म सरकारले चासो नदिएको उनले गुनासो गरे ।

जग्गा कम भएका विपन्न किसानलाई यसको मार अझ बढी परेको छ । उनीहरूका लागि कोरोनाभन्दा सलह काल बनेर आएको छ । परिवारका ६ जना सदस्यका अभिभावक बेलचौरका गोपीलाल सुनार बर्सेनि कामको लागि भारत जान्छन् । यसपटक कोरोना कहरले भारत जाने बाटो बन्द गर्‍यो । घरमा लगाइएको मकै पनि सलहले खाइदियो । उनले १ रोपनी ऐलानी र १ रोपनी नम्बरी जग्गामा मकै लगाएका थिए । ‘गरिबलाई दुःखमाथि दुःख हुँदो रहेछ, यस्तो बेला पनि के–कस्तो छ भनेर सोधखोज गर्न कोही आउँदैनन्,’ उनले भने, ‘दुःख परेको बेला सहयोग नगर्ने सरकार हाम्रा लागि कहिले काम लाग्ला ?’ वडा नम्बर १३ को पूरै क्षेत्र र वडा नम्बर ११ को गोठेरीमा सलहले क्षति पुर्‍याएको भेरीगंगा नगरपालिकाका नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले जानकारी दिए । वडाबाट क्षतिको विवरण आएपछि राहतबारे निर्णय गर्ने उनको भनाइ छ ।

प्रदेश र संघीय सरकारलाई समेत आवश्यक राहत सहयोग गर्न उनले आग्रह गरे । कसरी भयो क्षति ? प्रदेश कृषि विकास निर्देशक रोकायाका अनुसार सलहले मकैको पात, धानेबाल (भाले फूल) र चमरा (पोथी फूल) मा क्षति पुर्‍याएको छ । सलहले पात खाइदिँदा प्रकाश संश्लेषण प्रक्रियामा असर पुगी मकैको वृद्धि–विकासमा असर परेको उनको भनाइ छ । ‘यसले गर्दा मकैको बोट सुक्ने, लागेका घोगा पनि विकास नहुने भएको छ,’ उनले भने, ‘बिरुवाको पातै नभएपछि खाना बन्ने प्रक्रिया अवरुद्ध हुन्छ, सलहको प्रकोपबाट सबैभन्दा बढी क्षति यही तरिकाबाट भएको छ ।’ सलहले मकैको धानेबाल र चमरा खाइदिँदा परागसेचन प्रक्रियामा असर परेको छ । धानेबालमा रहेको पराग झरेर चमरामा पुगेपछि बल्ल घोगा बन्छ । सलहले यी दुवै खाइदिएपछि घोगा बन्ने प्रक्रिया रोकिएको उनले जानकारी दिए । ‘अधिकांश मकैका डाँठ (बिरुवा) मा घोगा छैनन्,’ उनले भने, ‘लागेको घोगा पनि सुकेका छन् ।’ परिपक्व भइनसकेको सलहका कारण पनि धेरै क्षति हुन पुगेको उनको भनाइ छ । परिपक्व हुनुभन्दा अगाडिको ‘स्टेज’ को सलहलाई प्रोटिन (खाना) को मात्रा धेरै चाहिने भएकाले किसानले जति धपाउँदा पनि बालीबाट नउठेको रोकायाले बताए ।


प्रकाशित : श्रावण २१, २०७७ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×