कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार सुरक्षा निकायका ३८२ संक्रमित

रासस

काठमाडौँ — चार सुरक्षा निकायका कुल ३८२ जनामा संक्रमण पुष्टि भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी बुधबारसम्म ३८२ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

चार सुरक्षा निकायका ३८२ संक्रमित

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले पछिल्लो चरणमा प्रहरीमा कोभिड–१९ संक्रमण बढेको बताए । उनका अनुसार प्रहरीमा अहिलेसम्म २०६ जनामा संकमण भइसकेको छ । अहिलेसम्म ९९ जना निको भएर घर फर्किए पनि १०७ उपचाररत छन् । 'पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वाटरमै संक्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौं', शाहीले भने । कोभिड–१९ को नियत्रणका लागि नेपालभर ४४ हजार बढी प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पहिले कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा थिए । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढ्दा र व्यवसाय सञ्चालन हुँदा पनि अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय नै हो । त्यसकारण सुरक्षाकर्मी थप जोखिम हुने स्वास्थ्य विज्ञको भनाइ छ ।

संक्रमणको जोखिम हुन्छ भन्ने आँकलन गरेरै प्रहरीले उच्च मनोबलका साथ काममा खटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् ।

सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका ९२ जनामा कोभिड–१९ संक्रमण भएको छ । उनीहरुमध्ये अझै २८ जना उपचाररत रहेका छन् । सीमा क्षेत्रमा प्रत्यक्षरुपमा मानिससँग सम्पर्कमा पुग्नुपर्ने भएकाले पनि संक्रमण देखिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल बताउँछन् ।

नेपाली सेनामा पनि संक्रमण बढिरहेको छ । नेपाली सेनामा पहिलोपटक गत जेठ ३ गते संक्रमण देखिएको थियो । त्यसयता अहिलेसम्म कुल ७९ जनामा संक्रमण भइसकको छ । अहिलेसम्म ७२ जना उपचारपछि निको भएको र ७ जनाको उपचार जारी रहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेल बताउँछन् । उनका अनुसार जनमानसमा सम्पर्कमा जानुपर्ने भएकाले पनि सुरक्षाकर्मीमा जोखिम कायमै छ तर पनि सेनाले कन्ट्रयाक ट्रेसिङ युनिटमार्फत नियन्त्रणको काम जारी राखेको छ । मुख्यगरी नेपाली सेनालाई भारतबाट आउने र तेस्रो मुलुकबाट आउने नेपालीलाई सुरक्षितरुपमा होल्डिङ सेन्टरमा ल्यएर सम्बन्धित क्षेत्रमा पठाउने जिम्मेवारी छ ।

सुरक्षाको अग्रभागमा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेनाले काम गरिरहेको छ । हालसम्म नेपालमा १९ हजारमा कोभिड–१९ देखिएकामा झण्डै १४ हजार निको भएर घर फर्किसकेका छन् । ५ हजार उपचारमा छन् । कोरोनाका कारण ४९ जनाको निधन भएको छ ।

यो पनि

प्रकाशित : श्रावण १४, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?