संक्रमितहरू घरमै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितहरू घरमै

कोरोनाको जोखिमयुक्त पक्ष भनेकै बिरामीको स्वास्थ्य अचानक गम्भीर हुनु हो । घरको आइसोलेसनमा बस्दा सावधानी अपनाउँदा अपनाउँदै पनि परिवारका अरुलाई सर्ने जोखिम हुन्छ । – डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ
मकर श्रेष्ठ, स्वरूप आचार्य

काठमाडौँ — धादिङका एक पुरुषलाई असार २७ मा कोरोना संक्रमण देखियो । कोरियाबाट फागुन १९ मा फर्किएका उनी कहिले धादिङ बस्थे, कहिले काठमाडौं । सरकारले पैसा तिरेर कोरोना परीक्षण गर्ने व्यवस्था ल्याएपछि उनी अस्पताल गएका थिए । परीक्षणमा पोजिटिभ देखियो ।

‘कुनै लक्षण थिएन तर रिपोर्ट पोजिटिभ आयो,’ उनले भने, ‘मलाई टेकु अस्पतालमा भर्ना गर्न एम्बुलेन्स पठाउँछु भनेका थिए । मैले घरमै बस्ने प्रस्ताव गरें । सुरक्षित विधि अपनाउँछु भनेपछि मेरो प्रस्ताव स्वीकार भयो ।’

उनी अहिले स्थानीय तहको सहमति र चिकित्सकको निगरानीमा मनमैजुस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । ‘अस्पताल गएर पनि उपचार हुने होइन । त्यहाँ पनि आराम गर्ने हो । त्यसैले घरमा बसेको छु,’ उनले भने । उनी घरकै आइसोलेसनमा बसेको जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं महानगरपालिकालाई पनि दिएको छ । त्यही दिन कोरोना देखिएका पर्वत स्थायी घर भएका मनमैजुकै अर्का एक जना पनि घरमै आइसोलेसनमा बसेका छन् ।

चाबहिलका एक रेस्टुरेन्ट सञ्चालकलाई पनि बुधबार कोरोना पुष्टि भयो । लकडाउनमा कतै नगएको उनको दाबी छ । त्यसैले ईडीसीडीले ‘ट्राभल हिस्ट्री’ नभएको संक्रमितमा उनको नाम राखेको छ । रसुवा स्थायी ठेगाना भएका उनी अहिले चन्द्रागिरिमा होम आइसोलेसनमा बसेका छन् । ‘छुट्टै कोठामा बसेको छु । परिवारको सदस्यसँग पनि टाढै छु,’ उनले भने, ‘अरूलाई नसरोस् भन्नेमा सचेत छु ।’ सरकारी कर्मचारीले अस्पतालमा भर्ना हुन एम्बुलेन्स पठाउने प्रस्ताव गरे पनि आफूले घरमै बस्ने जानकारी गराएको उनले बताए । घरकै आइसोलेसनमा बस्नेको संख्या काठमाडौंमा बढ्दो छ ।

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार असार २५ गते अघिसम्म घरमा आइसोलेसनमा बस्ने चिकित्सक र स्वास्थ्यकर्मी मात्रै हुन्थे । ‘अहिले भने सर्वसाधारणले सुरक्षित तरिकाले घरमै बस्छु भन्दा अनुमति दिने गरेका छौं,’ उनले भने ।

उनका अनुसार २५ गते संक्रमण पुष्टि भएका १ जना, २६ गतेका ३ जना, २७ का २ जना, २८ का १ जना र २९ का १ जना पनि घरकै आइसोलेसनमा छन् । यस्तै, काठमाडौं उपत्यकामा बुधबार ९ जना संक्रमित देखिएकामा ५ जना घरमै आइसोलेसनमा बसेका छन् । धुम्बाराहीका २ जना, १९ दिनअघि कतारबाट आएका काठमाडौं आलापोटका १ जना, ५ दिनअघि भारतबाट आएका ग्वार्कोका १ जना र चाबहिलमा रेस्टुरेन्ट सञ्चालन गर्ने चन्द्रागिरि बस्ने १ जना घरमै आइसोलेसनमा बसेका हुन् । टीकाथलीकी आठमहिने गर्भवती पनि घरमै आइसोलेसनमा छिन् । त्यस्तै हरिसिद्धि क्यान्सर अस्पतालमा उपचाररत बिरामीको सम्पर्कमा जाँदा बानेश्वरका एक पुरुषलाई सोमबार कोरोना देखिएको थियो । उनकै प्रस्तावमा ईडीसीडीले उनलाई पनि घरमै आइसोलेसन बस्न अनुमति दिएको छ ।

घरमा कति सुरक्षित ?

ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले अस्पताल र छुट्टै क्वारेन्टाइनमा जस्तो घरमा सुरक्षित हुने सम्भावना कम हुने बताए । ‘अस्पताल र होल्डिङ सेन्टरमा बसेजस्तो सुरक्षित त अलि हुँदैन,’ उनले भने, ‘मलाई केही लक्षण पनि छैन भनेर संक्रमित घरबाट निस्क्यो भने अवस्था झन् भयावह हुन सक्छ । नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा राख्नुपर्ने हुन्छ ।’ किरियापुत्री जस्तो कसैलाई नछोई टाढै बस्ने हो भने अस्पतालभन्दा घर ठीकै हुने उनको तर्क थियो ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार लक्षणविहीन संक्रमित घरको आइसोलेसनमा बस्नु सर्वथा बेठीक होइन । तर यसरी घरको आइसोलेसनमा बस्दा केही महत्त्वपूर्ण विषयमा ध्यान नपुर्‍याए समस्या आउन सक्छ । ‘घरमा बस्ने संक्रमितको नियमित निगरानी गर्ने व्यवस्था कस्तो छ, त्यो निकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘संक्रमितको श्वासप्रश्वासको दर तथा रगतमा अक्सिजनको मात्रा कति छ भनेर याद गरिरहनुपर्छ । त्यसमा तलमाथि भए अक्सिजन चाहिन सक्छ । यस्तोमा अस्पताल लान ढिला गर्नु हुँदैन ।’

डा. सुवेदीका अनुसार आईसीयू सेवा उपलब्ध अस्पताल नजिक छ भने घरमा बस्नु ठीकै हो । घरबाट अस्पताल टाढा छ भनेचाहिँ आइसोलेसन सेन्टर वा अस्पतालकै निगरानीमा बस्नु कम जोखिमयुक्त हुन्छ । ‘कोरोनाको जोखिमयुक्त पक्ष भनेकै बिरामीको स्वास्थ्य अचानक गम्भीर हुनु हो । त्यसैले घरमा बस्दा पनि निगरानीमा बस्नु जरुरी हुन्छ,’ उनले भने ।

अस्पतालको आइसोलेसनमा रहँदा खाना र बस्न अप्ठ्यारो हुने भन्दै केही दिनयता सर्वसाधारण घरकै आइसोलेसनमा बस्न चाहने गरेको डा. पाण्डेको दाबी छ । ‘उनीहरूले हामीलाई कुनै लक्षण छैन, घरमै बस्छु भन्छन्,’ उनले भने, ‘सरकारले पनि घरको आइसोलेसनमा बस्नका लागि मापदण्ड बनाएको छ । त्यो मापदण्डअनुसार बस्न नमिल्ने भने होइन ।’

डा. सुवेदीका अनुसार भने घरको आइसोलेसनमा बस्दा सावधानी अपनाउँदा अपनाउँदै पनि परिवारका अन्य सदस्यलाई सर्ने जोखिम हुन्छ । त्यसैले सरकारले तोकेको सेन्टरमा बस्नु नै ठीक हुन्छ । ‘सबैले सुरक्षाको विधि अपनाउँदैमा शतप्रतिशत सुरक्षित भइन्छ भन्ने ग्यारेन्टी छैन,’ उनले भने, ‘अमेरिका जस्तो ठाउँमा पनि घरको आइसोलेसनले असुरक्षा बढाएको हो कि भन्ने गुनासो सुनिन थालेको छ । रोकथामका सबै उपाय अपनाइएका सहरहरूमा पनि संक्रमणको दर बढ्नुको कारक यही हो कि भन्ने छ ।’

घरको आइसोलेसनका मापदण्ड

घरको आइसोलेसनमा बस्नेहरू पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्छ र संक्रमणमुक्त नभएसम्म बाहिर निस्कनु हुँदैन । उनीहरूलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री परिवारका अन्य सदस्यले व्यवस्था गरिदिनुपर्छ । उनीहरूले प्रयोग गरेका भाडा राम्रोसँग सफा गरेर सुकेपछि मात्रै पुनः प्रयोग गर्नुपर्छ भने स्नान घर तथा शौचालयको पनि छुट्टै व्यवस्था हुनुपर्छ । एउटै शौचालय छ भने संक्रमितले प्रयोग गरेपछि डिस्इन्फेक्टेन्टले सफा गरेपछि मात्रै अरूले प्रयोग गर्नुपर्छ ।

संक्रमितले दाँत माझ्न प्रयोग गर्ने ब्रसलगायतका व्यक्तिगत सामग्री छुट्टै राख्ने व्यवस्था गर्नुपर्छ । संक्रमितहरूको नियमित सम्पर्कमा आउने ढोका, ढोकाका ह्यान्डल, टेबललगायतका सामग्री पनि डिस्इन्फेक्टेन्ट प्रयोग गरेर समय–समयमा सफा गरिरहनुपर्छ । घरका सबै सदस्यले समय–समयमा नियमित हात धुनुपर्छ भने संक्रमितले आफ्नो कोठामा रहँदा पनि मास्क प्रयोग गर्नुपर्छ ।

संक्रमितलाई घरमा रहेका ६० वर्षमाथिमा व्यक्ति, दीर्घरोगी र बालबालिकाबाट टाढा राख्नुपर्छ । परिवारले संक्रमितको स्वास्थ्य अवस्थाबारे कम्तीमा दिनको दुईपटक सम्बन्धित स्वास्थ्यकर्मी र संस्थालाई जानकारी गराउनुपर्छ । संक्रमितलाई श्वासप्रश्वासमा कठिनाइ भए, छाती दुखे वा भारी भए, ओठ तथा अनुहार नीलो देखिए, होस हराए तुरुन्तै स्वास्थ्यकर्मीलाई जानकारी गराएर अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ ।

प्रकाशित : श्रावण २, २०७७ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका ७१ ठाउँमा कोरोना संक्रमण

बुधबारसम्म उपत्यकामा २ सय ९० जनामा संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौंका १ सय ९१, ललितपुरका ५६ र भक्तपुरका ४३ जना छन् । मुलुकभर संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
मकर श्रेष्ठ, स्वरूप आचार्य

काठमाडौँ — भक्तपुर क्यान्सर अस्पतालमा चाँगुनारायण नगरपालिकाको बागेश्वरीका एक पुरुषको साताअघि मृत्यु भयो । पीसीआर परीक्षण गर्दा मृतकको रिपोर्ट नेगेटिभ आयो । अस्पतालका चार जना कर्मचारी र मृतकका श्रीमतीको पीसीआर रिपोर्ट भने पोजिटिभ आयो । संक्रमित कर्मचारीहरू दुवाकोटस्थित केएमसी अस्पतालको आइसोलेसनमा छन् ।

मृतककी श्रीमती भने घरमै आइसोलेसनमा बसेर श्रीमान्‌को काजकिरिया गरिरहेकी छन् । ‘अस्पताल भर्ना भएको १२ औं दिनमा श्रीमान्‌को मृत्यु भयो, हामी अस्पतालबाहेक कहीं गएका थिएनौं, उहाँको रिपोर्ट नेगेटिभ आए पनि उहाँकै स्याहार गर्ने मलाई भने कोरोना देखियो,’ उनले भनिन् ।

त्यस्तै, मंगलबार काठमाडौंको ह्याम्स अस्पतालका एक चिकित्सक संक्रमित भएको रिपोर्ट आयो । उनी न विदेशबाट आएका हुन् न त विदेशबाट आएकासँग घुलमिल भएका थिए । ‘म अस्पतालबाट घर, घरबाट अस्पतालबाहेक कहीं गएकै थिइनँ,’ ती चिकित्सकले भने, ‘पीसीआर गर्दा पोजिटिभ देखियो ।’

ललितपुर चापागाउँका एक पुरुषमा कोरोनाको कुनै लक्षण छैन । आफूलाई कहाँबाट संक्रमण सर्‍यो भन्ने उनले अड्कलसमेत काट्न सकिरहेका छैनन् । ‘मलाई कोरोनाको लक्षण छैन तर रिपोर्टचाहिँ पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा छु,’ उनले भने ।

भक्तपुर, बालकोटका आमा–छोरामै संक्रमण देखिएपछि पाटन अस्पतालमा उपचाररत छन् । छोरालाई कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । आईसीयूमा केही दिन उपचार गरेर छोरालाई जनरल वार्डमा सारिएको छ । आमाको रिपोर्ट पनि मंगलबार पोजिटिभ आएको हो । ‘छोरा केही दिनअघि एकान्तकुनास्थित यातायात कार्यालयमा कर तिर्न गएको थियो, केही दिनपछि ज्वरो र खोकी देखियो,’ ती महिलाले भनिन्, ‘सुरुमा सिभिल अस्पताल लग्यौं । ज्वरो कम भएपछि त्यही दिन घर फर्कियौं । भोलिपल्ट पाटन अस्पताल गएर पीसीआर परीक्षण गर्दा पोजिटिभ देखियो ।’

ट्राभल हिस्ट्री नभएका उनीहरूजस्तै सामाखुसीका एक पुरुषले गाउँ फर्कन ५ हजार ५ सय रुपैयाँ तिरेर पाटन अस्पतालमा पीसीआर गराएका थिए । उनमा कोरोनाको केही लक्षण थिएन तर मंगलबार टेकुस्थित इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कर्मचारीले कोरोना देखिएको भन्दै अस्पताल जान तयारी अवस्थामा बस्न भन्दै फोन गरेपछि झस्किए । ‘त्यसपछि घर बस्न सक्ने अवस्था भएन, सबै आत्तिए,’ उनले भने । २२ दिनअघि पाटनमा उनकी श्रीमती सुत्केरी भएकी थिइन् ।

उनीसँगै दुवाकोटको केएमसी अस्पतालको आइसोलेसनमा बस्न एम्बुलेन्समा नैकापबाट आएकी एक युवती पनि थिइन् । उनी त नैकापबाट बाफलसम्म आएको बाहेक कहीं नगएको दाबी गर्छिन् । ‘थाइराइड चेकअप गर्न अल्का अस्पताल जाँदा पीसीआर गर्न पाटन अस्पताल पठाएको थियो, रिपोर्ट पोजिटिभ आएछ,’ उनले भनिन् ।

माथि उल्लेख गरिएका पात्रहरूको लकडाउनयता आफ्नो क्षेत्रभन्दा बाहिर कतै गएको इतिहास छैन तर उनीहरू संक्रमित भएका छन् । सोमबार र मंगलबार संक्रमण पुष्टि भएका उनीहरू आइसोलेसनमा छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु (ईडीसीडी) ले उनीहरूलाई ट्राभल हिस्ट्री नभएका संक्रमितको सूचीमा राखेको छ ।

काठमाडौं उपत्यकामा सोमबार ५४ जना, मंगलबार २८ जना र बुधबार २३ जनालाई कोरोना पोजिटिभ देखिएको छ । ‘यीमध्ये केही ट्राभल हिस्ट्री नभएका छन्,’ महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले भने, ‘केही विदेशबाट आएर क्वारेन्टाइनमा बसेका पनि छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा २ सय ९० जना संक्रमित छन् । तिनमा काठमाडौंका १ सय ९१, ललितपुर ५६ र भक्तपुरका ४३ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंका ३५, भक्तपुरका ८ र ललितपुरका २ जना डिस्चार्ज भएका छन् ।

पछिल्ला तीन दिन भेटिएका १ सय ५ जना संक्रमितको ठेगाना विश्लेषण गर्ने हो भने टोलटोलमा कोरोना संक्रमण फैलिएको देखिन्छ । ईडीसीडीका अनुसार आइतबारसम्म उपत्यकाका १२ ठाउँका स्थानीयमा ट्राभल हिस्ट्री नै नभएको पाइएको छ । ‘पछिल्लो तीन दिनमा यो संख्या ह्वात्तै बढेको छ,’ कन्ट्याक्ट ट्रेसिङमा खटिएका एक कर्मचारीले भने, ‘विदेशबाट आएका भन्दा कतै नगएका व्यक्तिमा संक्रमण बढेको छ ।’

पछिल्ला तीन दिन संक्रमित देखिएका र ईडीसीडीले ट्राभल हिस्ट्री नभएको भनेर पहिचान गरेका १२ ठाउँको विश्लेषण गर्दा उपत्यकाका ७१ ठाउँका स्थानीयलाई कोरोना पोजिटिभ देखिएको छ । ईडीसीडीका अनुसार काठमाडौंमा ४०, ललितपुरमा २३ र भक्तपुरमा ८ ठाउँमा कोरोना संक्रमण देखिएको हो । विदेशबाट फर्केर होटलको क्वारेन्टाइनमा बसेकाको तथ्यांक यसमा समावेश गरिएको छैन ।

पछिल्लो तीन दिनमा काठमाडौंको कपुराधारा, कपन, चन्द्रागिरि, मैतीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमूल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, बसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु र कुलेश्वरमा संक्रमित भेटिएका छन् ।

त्यस्तै ललितपुरको महालक्ष्मी, लुभु, लगनखेल, महालक्ष्मी स्थान, बुङ्मती, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाउँ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जाउलाखेल, गोटीखेल, कुपन्डोल, ग्वार्को र ठेचोमा संक्रमण पुष्टि भएको छ । भक्तपुरका सल्लाघारी, दुवाकोट, बागेश्वरी, दूधपाटी, बालकोट, गठ्ठाघर, बोडे र भोलाछेंमा संक्रमित भेटिएका छन् । एउटै ठाउँमा एकभन्दा बढी संक्रमित पनि छन् ।

ईडीसीडीले तीनकुने, कपन, भोलाछें, खुसिबु, कागेश्वरी, नख्खु, मैतीदेवी, बोडे, कोटेश्वर, प्युटार, टोखा र शंखमूलमा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिएको भन्दै नमुना परीक्षणलाई व्यापक बनाएको छ । ‘सबैको चासो उपत्यकामा कुन ठाउँमा देखियो भन्ने छ, पछिल्लो समय संक्रमण देखिएको टोल–टोलमा नमुना संकलन गरेर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ डा. पाण्डेले भने ।

ईडीसीडीले ललितपुर महानगरको २५ वडामा १११, कोटेश्वरमा ११३, टोखामा ८० जना, बोडेमा ३३ जना, सहिद गंगालालमा ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो । पाण्डेका अनुसार सबैको नतिजा नेगेटिभ आएको छ । ‘यो तथ्य हेर्ने हो भने कोरोना संक्रमण समुदायमा प्रवेश गरेको देखिँदैन,’ उनले भने ।

ईडीसीडीले शंखमूलका १४७, कपनका १४०, मैतीदेवीका २ सय, विमानस्थलका १६९ कर्मचारीको स्वाब संकलन गरेको छ । यसको रिपोर्ट भने आउन बाँकी छ । बिहीबार भक्तपुरको भोलाछें र कागेश्वरी मनोहरामा परीक्षण गर्ने योजना रहेको ईडीसीडीले जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा दिनमा २० जनाभन्दा बढी संक्रमित हुँदा पनि सर्वसाधारणले सावधानी नअपनाएकामा चिकित्सकहरू चिन्तित छन् । ‘ट्राभल हिस्ट्री नभएका मानिसलाई संक्रमण देखिएपछि समुदायमा विस्तार भएको त होइन भनेर अनुमान गर्न सकिन्छ,’ टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले भने, ‘पहिला स्वास्थ्यभन्दा पैसा ठूलो होइन भनेर घरमै बसे । अब पैसाभन्दा ठूलो स्वास्थ्य होइन भनेर हेलचेक्य्राइँ गरेर निस्कन थालेका छन् । स्वास्थ्य र पैसा दुवै ठूलो हो भनेर बुझ्नु जरुरी छ । संक्रमण कसरी फैलिन्छ ? भन्ने बच्चादेखि बूढाबूढीलाई थाहा छ । सबै सचेत हौं ।’

काठमाडौं बाहिरबाट आउनेलाई घरबेटीले परीक्षण गर्न पठाउँदा, शल्यक्रिया गर्ने बिरामी, अदालत लैजानुपर्ने कैदी बन्दीको पीसीआर परीक्षण गर्दा कोरोना बढेको उनले बताए ।

प्रकाशित : असार २५, २०७७ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×