कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीको बाँध फुटेर घाइते भएकाको हेलिकप्टरबाट उद्धार, दुई जना अझै बेपत्ता

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची खानेपानी आयोजनाको राजधानी जोड्ने साढे २६ किलोमिटरको मुख्य सुरुङमार्गको गेट नम्बर १७ को ड्याम फुटेर आएको बाढीले घाइते दुईको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

मेलम्चीको बाँध फुटेर घाइते भएकाको हेलिकप्टरबाट उद्धार, दुई जना अझै बेपत्ता

हेलम्बु गाउँपालिकाको वडा १ अम्बाथानस्थित मुहानको मुख्य गेटबाट फुटेर आएको बाढीले घाइते भएका साइट इन्जिनियर शेखर खनालसहित सब हेल्पर पेम्बा लामालाई थप उपचारको लागि काठमाडौं लगिएको हो । दुवैलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल लगिने स्वास्थ्यकर्मीले बताएका छन् ।

मंगलबार दिउँसो १२ बजेर ३० मिनेटमा (गेट नम्बर १७ ) मुख्य अडिटको भित्री भाग एकैपटक फुटेर ड्याम गरेको ठूलो आवाजसँगै सुरुङबाट बाढी नै आएको थियो । प्रत्यक्षदर्शीका अनुसार बाढीको लहरले अडिटभित्रको रातो र्स्कापियोसँगै दुई जना एकैसाथ बगाएको प्रस्ट देखिएको थियो । ती भने अझै भेटिएका छैनन् । बेपत्ता हुने आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षीर्य राधाकृष्ण थापामगर र २५ वर्षीय इन्जिनियर सतिश गोइत रहेको प्रहरीले जनाएको छ ।

बाढीको धक्का बहावले घाइते भएका इन्जिनियर खनालसहित हेल्पर लामालाई मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रमा लगेर प्रारम्भीक उपचार गरिएको थियो । ‘टाउको, घुँडा र हातमा गहिरो चोट लागेको छ, थप उपचारको लागि काठमाडौंको अस्पताल रिफर गरिएको हो,’ जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी उपरीक्षक प्रज्ज्वल मर्हजनले भने । ड्याम फुटेर आएको बाढीले बगाएर बेपत्ता बनाएकोमध्ये एकजनालाई बग्दाबग्दै स्थानीयले देखेको बताएपछि सुरक्षाकर्मीको टिम तीव्र खोजीमा लागेका छन् ।

यसअघि सुरुङबाट काठमाडौंको सुन्दरीजल जोड्ने सुरुङमार्गको ‘जिरो चेनेज’ देखि ८ सय मिटरसम्म पानी पठाएर परीक्षण सफल गरिएको थियो । त्यहाँको मुख्य सुरुङको ८ सय मिटरपरको गेट वा गेट नम्बर १७ ले पानी थिग्राउने काम गर्छ । त्यसपछि मात्रै पानी शुद्धिकरण गरेर सुन्दरीजलको अडिमा निकालिनेछ ।

प्रकाशित : असार ३०, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?